site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी केन्द्रप्रति कांग्रेस : सिटका लागि बार्गेनिङको ‘मेलोमात्रै’ !
फाइल तस्बिर

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले आसन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनको सहयोग लिने निर्णय गर्‍यो । असार २७ देखि साउन २ गतेसम्म चलेको पार्टी केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो ।

निर्णयको ११ नम्बर बुँदामा सो सम्बन्धमा लेखिएको छ ।

“वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसलाई आसन्न प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा बहुमत तर्फ लक्षित गराउँदै संविधानको रक्षा र लोकतन्त्रको थप सुदृढीकरण गर्दै जनताको समुन्नतिको सपनालाई स्थिर सरकार मार्फत सम्बोधन गर्नका लागि केन्द्रीय कार्यसमितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दछ,” कांग्रेसले आफ्नो निर्णयमा लेखेको छ । 

स्थानीय तह निर्वाचनमा कांग्रेस गठबन्धनको सहारामा पहिलो दल बनेको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना प्रत्येक भाषण र केन्द्रीय समिति बैठकमा बोलेका छन् । 

पार्टीमा शेखर निकट मानिने नेताहरूबाहेक अन्य नेताहरु गठबन्धनको विपक्षमा चुइक्क बोलेका छैनन् । देउवाले अहिलेको गठबन्धनलाई आउँदो निर्वाचानपर्यन्त लैजान खोजेको बुझाइ उनी निकट नेताहरुमा छ । 

वामपन्थी घटकको ‘समाजवादी केन्द्रको’ नारा 

केन्द्रीय समिति कांग्रेसको सर्वोच्च निकाय हो । पार्टीले चाल्ने हरेक रणनीतिक कदम र सम्पादन गर्ने कार्यहरू, अख्तियार गर्ने नीति तथा सम्पादन गर्नुपर्ने कार्यहरूको विषयमा छलफल गर्ने र निर्णय लिने स्थल केन्द्रीय समिति बैठक हो । केन्द्रीय समिति बैठकले निर्णय गरेर संवैधानीक बाध्यता अनुसार मंसिरमा हुनुपर्ने निर्वाचनमा गठबन्धन गर्ने अधिकार शिर्ष नेतृत्व र विशेषगरेर सभापति देउवालाई दिइसकेको छ ।

“हामीले केन्द्रीय समिति बैठकबाटै गठबन्धन गरेर प्रदेश र संघको चुनाव लड्ने निर्णय गरिसकेका छौँ । यसको अर्थ अब कांग्रेस एक्लै चुनाव लड्दंैन,” कोइराला समूहमा रहेका नेता अर्जुननरसिंह केसी भन्छन्,“तर, औचित्यपूर्ण ढंगबाट गठबन्धन हुनुपर्छ । गठबन्धनमा इमान्दारिता र विश्वसनीयता पनि चाहिन्छ ।”

पार्टीको माथिल्लो निकायबाटै गठबन्धन गर्ने निर्णय भइसके पनि गठबन्धनमा आवद्ध हुने अन्य दलहरू भने वाम एकता, नभए मोर्चाबन्दी र त्यो पनि सम्भव नभए समाजवादी एकता केन्द्र बनाएर चुनाव लड्नुपर्नेमा छन् । 

विशेष गरेर माओवादी केन्द्र र नेकपा(एकिकृत समाजवादी) बीच एकीकरण भएर चुनावमा होमिनुपर्नेमा नेताहरू पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको प्रस्तावनै नेकपा(एस) का अध्यक्ष माधवकुमार नेपाललाई राखिसकेका छन् । तर, माधव नेपालको पार्टीभित्र भने पार्टी एकता भन्दा पनि मोर्चावन्दी गरेर चुनावमा जानुपर्ने मत बलियो छ । 

एकातिर कांग्रेस गठबन्धनको पक्षमा उभिने अर्कोतिर गठबन्धनका अर्का घटक कम्युनिष्ट दलहरू भने वाम एकताको पक्षमा उभिदा गठबन्धनको कसरी हुन्छ, यसको भविष्य छ ? प्रश्न तेर्सिएको छ । 

केन्द्रीय सदस्य केसी वैचारिक मूल्यमान्यता र सामिप्यता भएका दलहरु एक हुने कुरालाई स्वागत गर्न सकिए पनि त्यसले गठबन्धनमा कति असर पार्छ त्यसको पनि विश्लेषण गर्नुपर्नेमा जोड दिन्छन् । 

“विचार, मूल्य मान्यता, सिद्धान्त तथा राजनीतिक दर्शन मिल्ने दलहरू एकीकृत हुनुलाई म सकारात्मक रूपमा लिन्छु । तर, उहाँहरू एकता हुन्छ भन्ने पहिलो कुरानै शंकास्पद छ । यदि भइहाल्यो भने पनि कति टिक्छ त्यो प्रतीक्षाको विषय हो,” उनी भन्छन् ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले गठबन्धनमा धोका दिएको र आफूमात्र ठूलो पार्टी बन्न कसरत गरेको आरोप आ–आफ्नो पार्टी बैठकमा अध्यक्षद्वय माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले बोल्दै आएका छन् । 

माधव नेपालले सार्वजनिक मञ्चमा समेत गठबन्धनबाट धोका भएको आरोप लगाउँदै आएका छन् । त्यसकारण कम्युनिष्ट दलहरू वाम एकताको पक्षमा उभिनुपरेको नेताहरूको तर्क छ । 

पार्टी एक हुनुपर्छ र सम्भव भए पुरानो नेकपा ब्युँताउनुपर्छ भन्दै माओवादी केन्द्रका नेताहरू ओली निवास बालकोट नधाएका भने होइनन् । तर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार पार्टीको एक कार्यक्रममा अब एमालेसँग एकता र सहकार्यको च्याप्टर क्लोज भएको भन्दै कांग्रेससँगको गठबन्धनको विकल्प अहिलेका लागि नभएको प्रष्ट पारेका थिए ।

विशेषगरेर माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, देव गुरुङ लगायत नेताहरू वाम एकता वा मोर्चाबन्दीको पक्षमा खुलेर लागेका छन् । 

यस्तै एमाले तर्फबाट पनि धनश्याम भुषाल, विष्णु पौडेललगायत नेताहरू कम्युनिष्ट पार्टीको ध्रुवीकरण चाहँदैनन् । 
यता, नेकपा(एकीकृत समाजावादी) अध्यक्ष माधव नेपाल पनि एमाले र अध्यक्ष ओलीप्रति पछिल्लो समय नरम देखिन थालेको नेताहरुको टिप्पणी छ ।

यसले पनि वाम एकता हुन्छ कि भन्ने कांग्रेसका नेताहरुको आशंकालाई बलियो बनाएको छ ।

सभापति देउवा निकट केन्द्रीय सदस्य रामहरी खतिवडा नेपाल वाम एकता आन्तरिक समीकरणलाई भन्दा बाह्य शक्तिलाई आवश्यक भएको तर्क गर्छन् । 

२०७४ को निर्वाचनमा शक्ति राष्ट्र चीनले वाम एकता गराउँदा आर्जन गरेको २ तिहाइको शक्ति छिन्नभिन्न भएपछि पुनः त्यही शक्ति आर्जन गर्ने खेलमा अन्तर्राष्ट्रिय शक्ति लागि परेको बुझाइ खतिवडाको छ । 

“एउटा शक्ति राष्ट्रले २०७४ मा कम्युनिष्ट एकता गरिदिँदा दुई तिहाइ बहुमत आयो । त्यो शक्ति फेलियर हुँदा त्यही शक्ति राष्ट्रलाई लाजमर्दो भएको छ । उहाँहरु जसरी पनि कम्युनिष्ट मिलाउने र आफ्नो शक्ति बचाउने ध्येयमा छन्,” बाह्रखरीसँग खतिवडाले भने।

२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि वाम–लोकतान्त्रिक मोर्चावन्दी भएको थियो । 

माओवादी र कांग्रेसले सहयोग आदानप्रदान गरेर चुनाव लडेका थिए ।  तर, परिणामले उत्साह दिन सकेको थिएन । चुनाव सकिएको केही समय पश्चात् सत्तामा रहदै एमालेसँग मिल्न माओवादी पुगेको थियो । 

पहिले वाम एकता पछि पार्टी एकिकरण गर्दा कांग्रेस सात प्रदेश र केन्द्रमा समेत प्रतिपक्षको हैसियतमा खुम्चिनु परेको थियो । अहिलेको राजनीतिक जोड घटाउले पनि कांग्रेसलाई पुनः प्रतिपक्षमा खुम्च्याउने रणनीतिलाई स्वयम् कांग्रेसी नेताहरू अस्वीकार गर्न सक्दैनन् । 

केन्द्रीय सदस्य प्रदीप पौडेल एमाले बाहेक वाम मोर्चावन्दी वा वाम एकता हुन्छ भने पनि त्यसले कांग्रेसले गर्ने भनेको गठबन्धलाई असर नपुर्‍याउने तर्क गर्छन् । 

“मुख्य कम्युनिष्ट घटक एमाले हो । अंकगणीत मिलाउन र सिट बढाउन कि त ओलीको अगाडि गएर झुक्न तयार हुनुप¥यो,” उनी भन्छन्,“एमालेबाहेक गठबन्धन हुन्छ वा पार्टी एक हुन्छ भने त्यसले गठबन्धनलाई अलिकति पनि असर गर्दैन । सबै बिर्सिएर एमालेसँग अंकगणित मिल्छ भन्दै अहिलेका दलहरु गएभने मात्र गठबन्धनमा असर पर्छ।”

बार्गेनिङ पावर बढाउने ध्येय ?

१६५ संसदीय निर्वाचन क्षेत्र र ३०० प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन भित्र रहेका पाँच दलले कति कति पाउने भन्ने विषयमा औपचारिक छलफल गठबन्धनभित्रका दलहरू बीच सुरूवात भएको छैन । नेताहरु भने गठबन्धन गर्ने निर्णयमा पुगिसेका छन् । कांग्रेस नेताहरू एकता देखाएर गठबन्धनमा धेरै सिटको बार्गेनिङ गर्ने दौडमा कम्युनिष्ट घटक लागेको बुझाइ छ । त्यसो त कांग्रेस सभापति शेरबहादुर देउवा वाम एकता हुनै नदिने खेलमा रहेको उनी निकट नेताहरु नै बताउँछन् । 

उनले पार्टीको औपचारिक बैठकहरूमा प्रचण्ड र माधव नेपाललाई चिढ्याउने गतिविधि तथा अभिव्यक्तिहरु नदिन अनुरोध मात्र होइन आदेशनै दिने गरेका छन् । 

गएको केन्द्रीय समिति बैठकमा गृहमन्त्री समेत रहेका देउवा निकट केन्द्रीय सदस्य बालकृष्ण खाँणले कम्युनिष्ट एकता भए कांग्रेस जोखिममा पर्ने रिपोर्ट प्रस्तुत गरेका थिए । त्यसकारण कांग्रेस वाम एकता हुन नदिने अनेक प्रयासमा लाग्ने निश्चितप्रायः छ । केन्द्रीय सदस्यत्रेय केसी, खतिवडा र पौडेल तत्काल एमाले अध्यक्ष ओलीका कारण वाम एकता वा मोर्चावन्दी हुने संभावना देख्दैनन् । 

“स्थानीय तहमा कांग्रेस पहिलो र लोकप्रिय पार्टी देखियो । उहाँहरूलाई जवरजस्ती भोट हाल्नुपर्छ भन्दा पनि मान्छे तयार भएनन् । त्यसकारण उपेन्द्र बाबुराम सम्म मिलेर एउटा फोर्स बन्छ यसमा कुनै अनौठो कुरा भएन,” केन्द्रीय सदस्य खतिवडाले भने,“यो फोर्सले कांग्रेससँग मात्र होइन मिलेसम्म केपी ओलीसँग पनि वार्गेनिङ गर्छ । केपी ओलीले पुनः लात हान्छन् । त्यसपश्चात् यो फोर्स पुनः कांग्रेससँग पावर बार्गेनिङ गर्न आउँछ । उनीहरूले तयार पारेको संगठन हामीसँग सिटको बार्गेनिङ गर्न हो ।”

अर्का केन्द्रीय सदस्य पौडेल पनि माओवादी, नेकपा(एस) लगायत दल एमालेसँग एकिकृत हुने सम्भावना कम देखिएको बताउँछन् । 

उनी पनि अहिले बनाउने भनिएको एकता संगठनलाई  टिकट वार्गेनिङ केन्द्र बनाउने ध्येयमा माधव नेपाल, प्रचण्ड, वामदेव गौतम लगायत नेताहरू लागि परेको जिकिर गर्छन् ।

“कांग्रेससँग टिकट वार्गेनिङ गर्ने , थोरै भए पनि आफूहरु बलियो बनाउने भनेर रणनीति पनि बनाएको हुन सक्छ । तर, हिजो ओलीलाई जे जसरी गाली गर्नुभयो आरोप लगाउनु भयो । आज फेरि अंकगणित मिलेपछि केही अर्थ रहँदैन त ?,” उनले बाह्रखरीसँग भने,“उहाँहरु गठबन्धन गरेर २०७४ मै पार्टी बनाइसक्नुभएको हो । पछि छुटिएर हामी तपाईंहरुलाई समर्थन गर्छौं भन्न आउनुभएको हो । उहाँहरु के आधारमा ओलीसँग मिल्न जानुहुन्छ र !”

कांग्रेसका नेताहरु भने अब गठबन्धन गरेर सिट भाग लगाउँदा भने रणनीतिक परिवर्तन गर्नुपर्ने समय आएकोमा जोड दिन्छन् ।

यसरी आयो समाजवादी केन्द्रको अवधारणा

समाजवादी केन्द्र बनाउनुपर्नेमा जोड दिने व्यक्ति भने वामदेव गौतम हुन् । 

उनले २०७५ सालमा ठूला कम्युनिष्ट दलहरू मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी ब्युँताउनुपर्ने प्रस्ताव लिएर एकता केन्द्र भन्दै हिँडिरहेका छन् । 

यदी पार्टी ब्युँताउन सकिएन भने २०७४ को निर्वाचनमा जस्तै वाम गठबन्धन बनाएर जानुपर्नेमा उनको जोड छ ।

एमाले पनि नमाने अन्तिममा समाजवादी एकता केन्द्र भनेर एमाले बाहेकको कम्युनिष्ट मोर्चावन्दी कस्नुपर्ने वामदेवको जोड छ । 

समाजवादी एकतामा केन्द्रमा भने आफू कम्युनिष्ट नबन्ने घोषणा गरेका बाबुराम भट्टराई पनि सहमत भएका छन् । यो एकता केन्द्र बने आफूपनि अटाउने भन्दै उनी पक्षमा उभिएका छन् । 

यता, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पार्टी एकताको पक्षमा उभिएका छन् । 

उनले माधव नेपालको पार्टीसँग एकता गर्न प्रस्ताव राखेका छन् । तर, माधव नेपालको पार्टीमा भने पार्टी एकताभन्दा पनि वाम मोर्चा बनाएर अघि बढ्नुपर्ने मत बलियो छ । पार्टीका सम्मानित नेता झलनाथ खनाल माओवादीसँग एकताको विरुद्धमा उभिँदै एमालेसँग पुनः एकीकृत हुनुपर्ने पक्षमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १२, २०७९  १६:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro