काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढासहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
मुगुको छायाँनाथ रारा नगरपालिकामा सिँचाइ कुलो निर्माणका नाममा २३ लाख १० हजार रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको हो ।
तीनमुखेदेखि लुवाबान्ना कृषि सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली, सह–सचिव सुरेश बुढा, छायाँनाथ रारा नगरपालिका वडा नम्बर १० का तत्कालीन वडाध्यक्ष धर्मदत्त सावत, सब–इन्जिनियर राजेन्द्र शाही, तत्कालीन ना.प्रा.स. मणिचन्द्र बिक, जिल्ला समन्वय समिति मुगका तत्कालीन खरिदार विश्वास उपाध्यायविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।