site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
भुवनलाई देउवाको आशीर्वाद– मिटूदेखि काण्डैकाण्डमा मुछिए पनि रोकिएन नियुक्ति 

काठमाडौं । चलचित्र क्षेत्रको सर्वोच्च संस्था चलचित्र विकास बोर्डको अध्यक्षमा नायक भुवन केसी नियुक्त भएका छन् । १० जनाको दरखास्त परेकामा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले आधिकारिक रूपमा नियुक्तिको निर्णय सार्वजनिक नगर्दै भुवनलाई सोमबार रातिदेखि नै धेरैले बधाई तथा शुभकामना दिइरहेका छन् ।

बोर्डको अध्यक्षका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएको असार ५ गते गरेको दरखास्त आह्वानमा भुवनसँगै अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौड्याल, निर्मलराज ढकाल, मनीष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुशीलकुमार पोखरेल र सुष्मा कार्कीको उमेदवारी परेको थियो । मन्त्रालयले साउन ५ र ६ गते कार्ययोजनाको प्रस्तुतिकरणसहित अन्तर्वार्ता लिएको थियो । त्यसपछि नौ प्रतिस्पर्धीलाई उछिन्दै भुवनले नियुक्ति पाएका हुन् ।

भुवन ४१ वर्षदेखि चलचित्र उद्योगमा सक्रिय छन् । ‘जुनी’बाट नायकमा डेब्यु गरेका उनी त्यसयता निरन्तर चलचित्र उद्योगमा अभिनय, निर्माणमा सक्रिय छन् । उनले ग्ल्यामरको दुनियाँमा आफ्नो करिअर भने गायनबाट सुरु गरेका थिए । उनी नेपाली म्युजिक भिडियोको पहिलो मोडल पनि हुन् । तर, कालान्तरमा उनले आफूलाई नायकका रूपमा स्थापित गरे ।

Dabur Nepal
NIC Asia

निरन्तर प्रयास
भुवन अहिले सरकारी–सार्वजनिक ओहदामा पुगे पनि यसका लागि उनले पहिलेदेखि नै प्रयास गर्दै आएका थिए । केहीअघिसम्म नेकपा (एमाले)मा रहेका भुवन पछिल्लो समय नेपाली कांग्रेसमा आबद्ध थिए । गएको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्या वैशाख २० गते उनी कांग्रेसमा प्रवेश गरेका थिए । भुवनलाई बालुवाटारमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अबिर र माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

कांग्रेसमा प्रवेश गरेपछि उनले पार्टीले दिएको जिम्मेवारी पूरा गर्न आफू तयार रहेको बताएका थिए । अरू पार्टीले चलचित्र तथा कला–साहित्यमा त्यति धेरै काम नगरेका कारण आफू कांग्रेसमा आइपुगेको उनले बताएका थिए । उनले अरू भनेर लक्षित गरेको दल थियो, एमाले । कांग्रेसबाट बोर्ड अध्यक्षका लागि वचन पाएकाले नै उनले एमाले परित्याग गरेको स्रोतको भनाइ छ ।

भुवनलाई बालुवाटारसम्मको यात्राको व्यवस्था मिलाएकी थिइन्, माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले । भुवन अनुराधाका विद्यार्थी पनि हुन् । भुवनले अनुराधालाई गुरुआमा मान्दै आएका छन् । देउवासँगको भेट, संवाद र पार्टी प्रवेशको सम्पूर्ण चाँजोपाजो उनै अनुराधाले मिलाएकी थिइन् । अनुराधा वाग्मती प्रदेशकी तत्कालीन प्रदेश प्रमुख पनि हुन् । स्रोतका अनुसार देउवा अनुराधाको आग्रहलाई हम्मेसी नकार्दैनन् ।

निर्वाचनको पूर्वसन्ध्यामा सार्वजनिक छवि बनाएको व्यक्तिलाई आफ्नो पार्टीमा प्रवेश गराउन पाउनु त कांग्रेसका लागि सकारात्मक नै थियो । तर, बोर्डमा अध्यक्ष नियुक्तिको समयमा भने देउवा स्वयं अप्ठ्यारोमा परेका थिए । देउवालाई त्यति बेला समस्या प¥यो, जति बेला पार्टीको १४औँ महाधिवेशनको मतदान दोस्रो चरणमा पुगेपछि उनलाई समर्थन गरेका प्रकाशमान सिंह बोर्ड अध्यक्षमा आफ्नो उमेदवार लिएर पुगे । प्रकाशमान सम्झना रौनियार उप्रेतीलाई अध्यक्ष बनाइदिन भन्दै बालुवाटार पुगेका थिए ।

सिर्जना सिंहलाई काठमाडौं महानगरपालिकाको मेयरमा जिताउन हप्तौँसम्म सँगै खटेर भोट मागेकी सम्झनाले पनि बोर्डको अध्यक्षमा उमेदवारी दिएकी थिइन् । सम्झना लामो समयदेखि नेपाली कांग्रेसबाट राजनीति गर्छिन् । देउवासित भेट गराउन सम्झनालाई लिएर सिर्जना आफैँ बालुवाटार पुगेकी थिइन् । 

सम्झनाका लागि प्रकाश र सिर्जनाको ‘लबिङ’ झेलेका देउवाले भुवनका लागि अनुराधाको आग्रह सामना गरे । तर, यहीबीचमा बोर्ड अध्यक्षका लागि बालुवाटारले ५० लाख रुपैयाँ मागेको स्रोतको दाबी छ ।

“बालुवाटारले बोर्ड अध्यक्षका उमेदवारसँग ५० लाख रुपैयाँ मागेको छ,” स्रोतले केही समयअगाडि बाह्रखरीसँग भनेको थियो, “जसले बालुवाटारले मागेको पैसा बुझाउन सक्छ, बोर्ड अध्यक्षमा उसैको नियुक्ति निश्चित छ ।”

स्रोतका अनुसार भुवनले ५० लाख रुपैयाँ बुझाउन सर्त राखेका थिए । “भुवन ५० लाख बुझाउन तयार छन् । तर, उनले आफूले बुझाएको उक्त रकम माइती नेपाललाई फिर्ता गर्नुपर्ने सर्त राखेका थिए,” नाम उल्लेख नगर्ने सर्तमा स्रोत भन्छ, “त्यसपछि भने डिल कसरी अगाडि बढ्यो, मलाई पनि थाहा छैन ।”

यता, भुवन भने यो कुरा स्वीकार गर्न तयार छैनन् । “कसरी यस्तो कुरा आउँछ, मलाई थाहा छैन,” भुवनले भने, “मलाई यो कुरा थाहा छैन । यस्तो प्रस्ताव मलाई कसैले गरेन पनि ।”

भुवन तत्कालीन संविधानसभा सदस्यका लागि पनि नेताहरूको घर–घर पुगेका थिए । तत्कालीन एमाले नेता माधवकुमार नेपालको काठमाडौं क्षेत्र नम्बर–२ को घरदैलो अभियानमा भुवन उनीसँगै हिँडेका थिए । अन्तिमसम्म माधव नेपालसँगै हिँडेका भुवनलाई अन्ततः एमालेले समानुपातिकमा पनि नराखेपछि उनी निष्क्रिय भएका थिए ।

वैशाख ३० गते भएको स्थानीय निर्वाचनमा उनलाई उन्नत लोकतन्त्र पार्टीले काठमाडौं महानगरपालिकाको मेयर पदको उमेदवार बनाउने प्रस्ताव गरेको थियो । तर, उनी त्यसबाट पछि हटेका थिए । उनले एमालेबाटै यो अपेक्षा गरेका थिए । तर, यसका लागि उनले एमाले नेताहरूसँग त्यति धेरै लबिङ गरेनन् ।

आवेदन माग गर्दै छल ?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बोर्डको अध्यक्षमा दरखास्त आह्वान गर्दा तोकिएको शैक्षिक योग्यताको मापदण्डमा नै प्रश्नचिह्न उठाउने ठाउँ छ । 

अध्यक्ष पदका लागि आवेदन दिन कुनै विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तीमा १० वर्ष कार्य गरेको अथवा प्रवीणता प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास, संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धनमा निरन्तर रूपमा कम्तीमा २० वर्ष काम गरेको हुनुपर्ने मन्त्रालयले दरखास्त आह्वान गर्दा उल्लेख गरेको थियो ।

सर्वोच्च अदालतले भने त्यसका लागि कम्तीमा स्नातकोत्तर हुनैपर्ने फैसला गरेको छ । ०७८ भदौ २४ गते सर्वोच्चले सार्वजनिक संस्थानहरूको व्यवस्थापनका लागि विज्ञ सदस्य तथा पदाधिकारी नियुक्तिका लागि न्यूनतम योग्यता स्नातक तह उत्र्तीण र सम्बन्धित क्षेत्रमा १० वर्षको कार्यानुभव हुनुपर्ने तथा खुला प्रतिस्पर्धामार्फत नियुक्त गर्नुपर्ने फैसला गरेको थियो । 

सर्वोच्चले ‘न्यूनतम योग्यता स्नातक तह उत्र्तीण र सम्बन्धित क्षेत्रमा १० वर्षको कार्यानुभव हुनुपर्ने’ भनेकाले यदि कसैले मन्त्रालयको विज्ञापन नै बदनियतपूर्ण भन्दै अदालतमा उजुरी गरेको अवस्थामा उनको पद अप्ठ्यारोमा पर्न सक्नेछ । फैसलामा कहीँ कतै प्रवीणता प्रमाणपत्र तह र २० वर्षको अनुभव भए पुग्छ भन्ने उल्लेख छैन ।

विवादित छवि
जति लोकप्रिय छवि बनाएका छन् भुवनले त्यति नै विवादित पनि । नायकका रूपमा उनको अग्लो कद छ । तर, सार्वजनिक जीवनमा उनको विगत त्यति धेरै राम्रो छैन । त्यसैले बोर्ड अध्यक्षमा विवादित भुवनलाई नियुक्त गर्ने सरकारको निर्णय नै गलत थियो भन्नेहरू पनि छन् ।

भुवन ‘मि–टू’ मा पनि मुछिएका अभिनेता हुन् । ‘गुड लुकिङ’ भुवनले आफूलाई रोमान्टिक हिरोका रूपमा जसरी स्थापित गरेका छन्, त्यस्तै विभिन्न अभियोगहरूमा पनि मुछिएका छन् ।

करिब दुई वर्ष अगाडि साम्राज्ञी आरएल शाहले भुवनले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । जापानमा भएको अवार्ड कार्यक्रममा भुवन आफूसँग टाँसिन आएको भन्दै उनले भुवनले बोल्ने निहुँ बनाएर गालामा मुख जोड्न खोजेको बताएकी थिइन् ।

त्यति बेला उनीहरू सामाजिक सञ्जालमा एकार्काविरुद्ध उत्रिए । काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत परेको थियो । साम्राज्ञीले आफूविरुद्ध दुर्व्यवहारको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् । भुवनले भने आफ्नो सार्वजनिक बेइज्जती गरेको भन्दै क्षतिपूर्तिको माग–दाबी गर्दै मुद्दा दायर गरेका थिए ।

सोही बेला साम्राज्ञीलाई थप सहयोग पुगोस् भन्दै क्यानडाबाट सामाजिक सञ्जालको स्क्रिनसटसहित एक महिलाले भुवनविरुद्ध मि–टू अभियान चलाइन् । उनले भुवनले आफूलाई दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

भुवनको नाम सधैँ महिलासँग जोडिएर आयो । केही वर्ष अगाडि उनी एक विवाहित महिलासँग प्रेमसम्बन्धमा थिए । बुटिक सञ्चालन गर्ने ती महिला र भुवन सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । यद्यपि, उनीहरूले आफ्नो प्रेमलाई स्वीकार गरेनन् । तिनै महिलासँग गाडीमा नगरकोट जान लागेका भुवनलाई कोटेश्वरमा महिलाका श्रीमान्ले बाटो कुरेर हेलमेटले कुटेको खबर सार्वजनिक भएको थियो ।

अभिनेत्री सुस्मिता केसीसँगको वैवाहिक सम्बन्ध बिग्रिएपछि भुवन अहिले अभिनेत्री जिया केसीसँग ‘लिभङ टुगेदर’मा छन् । तर, उनीहरूले औपचारिक रूपमा आफ्नो सम्बन्ध खुलाएका छैनन् ।

सुस्मिताअघि भुवनले विजया केसीसँग विवाह गरेका थिए । उनी एक छोरा र एक छोरीका साथ अहिले अमेरिकामा बस्छिन् ।

मि–टू देखि महिलासँगको ‘काण्ड’मा मुछिएका भुवनलाई चलचित्र क्षेत्रको सर्वोच्च संस्था विकास बोर्डमा नियुक्त गरेर सरकारले यस क्षेत्रमाथि नै घात गरेको केही चलचित्रकर्मीहरू बताउँछन् । उनले बोर्ड अध्यक्षमा काम गर्न सक्छन् कि सक्दैनन् भन्नेमा पनि चलचित्रकर्मीको शंका छ ।

“बोर्ड अध्यक्षले मन्त्रालयमा शाखा अधिकृतको टेबल–टेबलमा फाइल बोकेर नमस्तै गर्दै हिँड्नुपर्छ,” बोर्डका एक अधिकृत भन्छन्, “भुवन सरलाई उहाँको स्टारडमले त्यसो गर्न सक्नुहुन्छ कि हुँदैन भन्ने पनि प्रश्न छ ।” चलचित्र क्षेत्रलाई खासै महत्त्व नदिने मन्त्रालयका कर्मचारीलाई बुझाउँदै दिनहुँ उनीहरूको टेबल–टेबलमा हिँड्न निकै मिहिनेती व्यक्तिले मात्र सक्ने ती अधिकृतको भनाइ छ ।

‘काम गर्न आएको हुँ, सक्छु’ 
नायक भुवन केसी भने काम गर्न आफूलाई कुनै समस्या नरहेको जिकिर गर्छन् । काम गर्न सक्छु भनेर नै आफूले बोर्ड अध्यक्षमा दाबी गरेको उनी बताउँछन् । 

“पर्दामा हेर्दा हामी ग्ल्यामर फिल्डको हिरोलाई कति सजिलो होला भन्ने लाग्छ । तर, फिल्डमा त्यस्तो हुँदैन । फिल्डमा गएपछि हाम्रो काम पनि कति अप्ठ्यारो छ भन्ने देखिन्छ,” भुवन भन्छन्, “हामी बिहान ५ बजे उठेर मेकअप गरेर दिउँसो मात्रै होइन, होल नाइट काम गर्छौँ ।”

धेरै चुनौतीपूर्ण अवस्थामा काम गरेको आफूसँग अनुभव रहेको भुवन सुनाउँछन् । “पाकिस्तानको मरुभूमिमा मैले फाइटको सिन गरेको छु । मुस्ताङको हिउँमा टिसर्ट लगाएर छायांकन गरेको छु,” भुवन अगाडि थप्छन्, “यो सबै परिस्थितिले म जुनसुकै काम जस्तोसुकै अवस्थामा गर्छु भन्ने प्रमाणित गर्छ । यसका लागि तयार भएर नै म काम गर्न आएको हुँ ।” 
सरोकारवाला पक्षको सहयोग र साथ भएमा बोर्डमा राम्रोसँग काम गर्न सक्ने उनको विश्वास छ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro