
काठमाडौं । नेपाली चलचित्र सहरबाट गाउँ पस्न थालेका छन् । लामो समय सहरकेन्द्रित रहने चलचित्र विस्तारै गाउँ पस्न थालेका हुन् ।
लामो समय नेपाली चलचित्र सहरका कथामा केन्द्रित रहेर बने । सहरियाका कथा सिनेमाको मुख्य कथानक बन्यो । सहरका सुखी र सम्पन्न वर्गका कथामा नेपाली मेकरले चलचित्र बनाए । त्यस्ता चलचित्रमा घर, परिवार, हिरो र लोकेसन सहरका हुन्थे । हिरो धनी बाउको छोरो हुन्थ्यो । घरमा नोकरनोकरानी हुन्थे । आलिसान महल हुन्थ्यो । गाउँकी राम्री र सोझी युवतीसँग हिरोको प्रेम बस्थ्यो । यस्तै कथामा ६० को दशकसम्म चलचित्र बने ।
तर, ७० को दशकबाट अवस्था फेरियो । कथा छनोटमा मेकरको रुचि पनि फेरियो । अनि, नेपाली चलचित्र गाउँ पसे । गाउँका कथा भन्न सहरबाट चलचित्रका लेखक, निर्देशक र निर्माता गाउँ पस्न थाले । गाउँका कथा उनीहरूको प्राथमिकतामा परे ।
सर्वसाधारण गाउँले, जसको पहुँच नीति निर्माण तहमा छैन । केन्द्रमा राजनीतिक गर्ने नेतासँग उठबस छैन । दुई छाक भात खान धौधौ छ, उसका कथा अहिले नेपाली सिनेमाले आफ्नो मुख्य कथानक बनाउन थालेका छन्, देखाउन थालेका छन् ।
जुन चलचित्र बक्सअफिसमा कमर्सियलरूपमा सफल हुन्छ, त्यस्तै सिनेमा बन्ने ट्रेन्ड नै बस्ने अभिनेत्री स्वस्तिमा खड्का बताउँछिन् । ‘कबड्डी’ गाउँको सेटअपमा बनेको चलचित्र व्यापारिक र समीक्षात्मकरूपमा सफल भएपछि त्यस्तै चलचित्र बन्ने क्रम बाक्लिएको उनको बुझाइ छ ।
“सायद कुनै नयाँ विषय र परिवेशमा बनेको चलचित्र सफल भएन भने त्यस्तै अरू चलचित्र बन्दैनन्,” स्वस्तिमा भन्छिन्, “तर, कुनै एउटा चलचित्र कमर्सियलरूपमा सफल भयो भने त्यस्तै अरू दशवटा चलचित्र बन्छन् ।”
निर्माता आकर्षित हुनुमा व्यापारिक सफलता नै मुख्य कारण भएको उनी सुनाउँछन् । एकाध मेकरले स्वतन्त्ररूपमा सिनेमा बनाउनु बेग्लै कुरा भएको उनको बताउँछिन् ।
“कबड्डी केही हदसम्म गाउँको सेटअपमा थियो । त्यो सफल भएपछि गाउँका कथामा सिनेमा बन्न थालेको देखिन्छ,” स्वस्तिमा भन्छिन्, “जस्तो सिनेमा चलिरहेको छ, त्यस्तै बनाउनु वा बनाउन खोज्नु सायद मेकरका लागि स्वाभाविक पनि होला ।”
दर्शकले पनि आफू जुन कथामा कनेक्ट हुन्छ, त्यस्तै कथामा बनेका चलचित्र हेर्न रुचाइरहेको उनी बताउँछिन् । आफूले सिनेमा हेर्दा कुन कथाले बढी छुन्छ, महसुस गर्छ, त्यही नै हेर्ने गरेको उनी सुनाउँछिन् ।
“अर्को कुरा मौलिक अर्थात् आफ्नै माटोको कथा, आफ्नै घरगाउँको कथामा दर्शक कनेन्ट हुने होलाजस्तो लाग्छ,” स्वस्तिमा अगाडि थप्छिन्, “मोर अर्गानिक भयो भने सायद त्यसलाई दर्शकले बढी रिलेट गर्नुहुन्छ जस्तो लाग्छ ।”
अधिकांश नेपाली गाउँघरबाटै सहरमा आएर बस्ने र आफ्नो गाउँठाउँको कथा आउँदा त्यसले सजिलै कनेक्ट गर्ने भएकाले पनि दर्शकले गाउँका कथा मन पराइहेको हुन सक्ने उनको भनाइ छ ।
“हामी धेरैजसो सहरमा गाउँबाट आएका छौँ । हामी सहरमै जन्मिए पनि केही पुस्ता अगाडिसम्म गाउँमा थियौँ, त्यहीँबाट आएका हौँ,” स्वस्तिमा भन्छिन्, “त्यसैले कतै न कतै हाम्रो अट्याचमेन्ट गाउँसँग छ । यही कारणले गाउँका कथा खोज्न थालियो होला । नोस्टाल्जियाका लागि पनि चलचित्र हेरिन्छ ।”
आफूले देखेको र नपुगेको भए पनि आफ्नै देशको, माटोको कथा भनेपछि त्यसको प्रभाव स्वाभाविक पनि भएको उनी बताउँछिन् ।
नेपालबाट विदेश गएपछि कहिल्यै नेपाली चलचित्र नहेरेको व्यक्तिले पनि नेपाली सिनेमा हेर्ने गरेको भन्दै उनी गाउँबाट सहर आएपछि गाउँको कथा हेर्न मन लाग्ने उनको भनाइ छ ।
चलचित्रमात्रै नभएर गीतमा पनि यही नै लागु भइरहेको उनको तर्क छ । “गीत पनि अहिले लोकलयमा आधारित गीतहरू चलिरहेका छन् । पूरै लोक नभए पनि फ्युजनमात्रै गरेका भए पनि लोकलयको नजिक रहेका गीत चलिरहेका छन्,” उनी अगाडि थप्छिन्, “चलचित्रको सन्दर्भमा पनि त्यस्तै हो जस्तो लाग्छ । आफ्नो माटोको कथा भन्नबित्तिकै त्यसमा छुट्टै लगाव हुन्छ ।”
कलाकारका हिसाबले पनि जानअन्जानमा मौलिक कथामा अलि बढी झुकाव हुने गरेको उनको अनुभव छ । “यो चाहिँ मौलिक छ, यतिको कथा भयो भने अडियन्सले कनेक्ट गर्नुहुन्छ भन्ने हुने रहेछ,” स्वस्तिमा प्रस्ट पार्छिन्, “स्टोरी छनोट गर्दा यसमा रनेस (मौलिक) छ, नेपाली माटो र जनजीवनको कथा छ, यतिसम्म भने त दर्शकले मन पराउनुहुन्छ होला भन्ने हुँदोरहेछ ।”
त्यसैले पछिल्लो समय सहरभन्दा पनि गाउँका र विकासको क्रममा रहेका गाउँको कथा सिनेमामा धेरै भनिने गरेको उनको बुझाइ छ ।
सिनेमा सहर पस्नुका पछाडि थुप्रै कारण रहेको अभिनेता विजय बराल बताउँछन् । अहिले सिनेमा हेर्न हल जाने दर्शक अधिकांश गाउँबाट आएको र उनीहरूले गाउँका कथा आफूसँग रिलेट गरिरहेको उनको भनाइ छ ।
“हामी अधिकांश गाउँबाट सहरमा आएर बसेका छौँ । सहरको ७० देखि ९० प्रतिशत जनसंख्या गाउँबाट गएको हो । त्यो समुदायले आफूले भोगेको वा देखेको कथामा अहिले चलचित्र बनिरहेका छन्,” विजय भन्छन् ।
आफूले देखेको, भोगेको वा सुनेको कथा दर्शकले छिटो महसुस गर्ने उनको भनाइ छ । त्यसैले अहिले बहुसंख्यक दर्शकले जे कुरा महसुस गर्छन्, त्यसैमा चलचित्र बनिरहेको उनको अनुभव छ ।
“मेकरको हकमा पनि त्यही हो । अधिकांश मेकर गाउँबाटै सहर आउनुभएको छ । उहाँहरूले पनि आफूले देखेको, भोगेको र सुनेको गाउँको कथा नै भनिरहनुभएको छ,” विजय भन्छन्, “पूर्ण बहादुरको सारङ्गी धेरैले रुचाउँदा मैले गरेको अनुभव पनि यही हो, गाउँमा आफू बस्दा जे उहाँहरूले भोग्नुभयो, त्यही नै पर्दामा देख्दा मन पराउनुभयो ।”
सबैभन्दा पहिला दर्शकले आफूले भोगेको, देखेको र सुनेको कथामा बनेका कथा दर्शकले हेर्न रुचाउने गरेको उनी प्रस्ट पार्छन् । अथवा, आफूले नदेखेको बिलकुल फरक कथा हेर्न चाहने उनी बताउँछन् । पछिल्लो समय आफ्नै समुदाय, आफ्नै भूगोल, आफ्नै संस्कृतिको कथामा मान्छेको ध्यान गइरहेको उनको अनुभव छ ।
“केही समययता मौलिक कथा अथवा टिपिकल कथा, आफ्नै भूगोलको कथा अथवा ग्रामीण क्षेत्रमा खिचिएको सिनेमा बनाउने र मन पराएको देखिन्छ,” विजय भन्छन्, “मौलिक कथा, अथेन्टिक अभिनय, आफ्नै कल्चरजस्ता कुरा आइरहेका छन् । त्यसैले पनि गाउँका कथा धेरै आएको हुन सक्छ ।”
गाउँबाटै आएका दर्शक, गाउँबाटै आएका निर्देशक र निर्माता र आफ्नो ग्रामीण जीवनशैली चलचित्रमा देखाउनुपर्छ भन्ने चेतले काम गरिरहेका कारण गाउँका कथामा चलचित्र बन्न र मन पराइनुको मुख्य कारण भएको उनको बुझाइ छ । आफ्नो बाल्यकालीन घटना हेरेर नोस्टाल्जिक हुन रुचाउने मानवीय स्वभाव भएकाले पनि ग्रामीण जीवनशैलीलाई केन्द्रमा राखेर बनेका चलचित्र व्यापारिकरूपमा सफल भइरहेको उनी सुनाउँछन् ।
गाउँका कथा सिनेमामा धेरै भन्न सुरु हुनु र लोकेसन पनि गाउँको हुनुको अर्को कारण मेकरको सोचमा आएको परिवर्तन र चेतको विकास भएको विजयको बुझाइ छ ।
“पछिल्लो समय हामी वर्ल्ड सिनेमा हेर्न थाल्यौँ । सिनेमा पढेर र बुझेर आउन थाल्यौँ । यसले बलिउड फर्मुलामा मात्रै सिनेमा बनाउनुपर्छ भन्ने छैन भन्ने चेतको विकास भयो,” उनी अगाडि थप्छन्, “यो बुझाइ र अध्ययनसँगै सिनेमा गाउँ पस्न थाले । गाउँका कथा धमाधम चलचित्रमा आउन थाले ।”
वर्ल्ड सिनेमामा दर्शकको सहजै पहुँच बढेपछि प्रतिस्पर्धा बढेको र त्यसको प्रभाव नेपाली चलचित्रमा देखिएको निर्देशक नरेशकुमार केसी बताउँछन् । हलिउड र बलिउडका चलचित्रसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आएपछि नेपाली चलचित्र मौलिक विषयमा प्रवेश गरेको उनी सुनाउँछन् ।
“इन्टरनेट र ओटीटीको विकास र यसमा सहज पहुँच विकास भएसँगै बलिउड र हलिउड सिनेमासँग प्रतिस्पर्धा गर्नुपर्ने भएपछि हामी त्यसमा खरो उत्रिन सक्दैनौँ,” निर्देशक नरेश भन्छन्, “त्यसपछि हामी आफ्नै कथा भन्न थाल्यौँ भन्ने लाग्छ ।”
नेपाली मौलिक कथामा सिनेमा बनाउँदा त्यसको प्रतिस्पर्धा कसैसँग नहुने भएकाले मेकरलाई सहज भएको उनको तर्क छ । “हामी एक्सन सिनेमा बनाउँछौँ भने त्यसको तुलना बलिउड र हलिउडसँग हुन्छ । जसमा मिहिनेत र बजेट ठूलो खर्च भए पनि प्रतिस्पर्दामा हामी स्वाभाविकरूपमा पछि पर्छौं,” नरेश प्रस्ट पार्छन्, “तर, हामी हाम्रै सोसल स्टोरी भन्छौँ भने त्यो विश्वकै लागि नयाँ हुने भएकाले त्यसको कसैसँग प्रतिस्पर्धा हुँदैन ।”
नेपाली संस्कृति, भेषभूषा, परिवेश र यहाँको कथा विश्वका कुनै पनि देशसँग नमिल्ने भएकाले त्यस्ता कथामा बनेका चलचित्रको प्रतिस्पर्धा पनि अन्य देशका सिनेमासँग नहुने उनको तर्क छ ।
पछिल्लो दशक नेपाली चलचित्र उद्योगमा कथा र यसको वाचनशैली दुवैमा फरक रहेको नरेश बताउँछन् । यसलाई क्यापिटलिजम (पुँजीवाद)सँग पनि तुलना गरेर हेर्न सकिने उनको भनाइ छ ।
“पछिल्लो ममय होटेले क्याफे होस् वा अन्य प्रोडक्ट त्यसमा पनि रियालिस्टिक खोज्न थालिएको छ । होटेल, क्याफे, रेस्टुँराको नाम डालो, नांग्लो, बोहोतो, सिलौटोजस्ता नाम राख्न थालिएको छ,” नरेश भन्छन्, “त्यस्तो रियालिस्टिक कथा र वाचनशैली सिनेमामा पनि देखिएका छन् । जसरी समाजका अन्य पक्ष रियालिस्टिकतर्फ केन्द्रित भएको छ, त्यस्तै चलचित्र पनि मौलिक कथावाचन र अभिनयमा पनि केन्द्रित भएको छ ।”