
काठमाडौं । नियात्राकार प्रदीप सापकोटाको नियात्रा कृति ‘यात्राको लय’माथि परिचर्चा सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिमथि पाठकीय टिप्पणी राख्दै नियात्राकार जय छाङ्छाले नियात्रामा पनि विम्ब विधान हुने बताए । उनले नियात्राका केही सैद्धान्तिक पक्षहरूको चर्चा गर्दै ‘यात्राको लय’मा पनि विम्ब भएको उल्लेख गरे ।
अर्का वक्ता निबन्धकार श्रीबाबु कार्कीले सापकोटाका नियात्रामा विविध चिन्तन, रोचक स्मृतिका साथै देश दुखेका प्रसंगहरू उल्लेख भएको बताए ।
कार्यक्रममा निबन्धकार श्रीओम श्रेष्ठ रोदनले यात्रामाथि लेखिएका सबै आलेख नियात्रा नहुने भन्दै नियात्रा लयमा लेखिनुपर्नेमा जोड दिए ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा डा. शैलेन्दुप्रकाश नेपाल, पवन आलोक, राधेश्याम लेकाली, लेखक सापकोटा, छविरमण सिलवाल, तारा केसीलगायतले बोलेका थिए ।