site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
युगीन चेतनाका प्रखर प्रस्तोता श्रीबाबु

निबन्ध सर्जकको लेखकीय व्यक्तित्वको परिचायक हो । निबन्ध एउटा बन्धनहीन विधा पनि हो । श्रीबाबु कार्की ‘संदिग्ध शताब्दी’ निबन्धसंग्र्रहमा शब्दको बिटो बोकेर स्वतन्त्र उड्छन् । उनको लेखाइमा भाषाको प्राञ्जल र परिष्कृत रूप देख्न सकिन्छ ।

यस संग्रहमा उनको घरेलु, सामाजिक र साहित्यिक व्यक्तित्व पोखिएको छ । यो पढेपछि उनी को हुन्, के सोच्छन् र कस्ता सपना देख्छन् सारा कुरा थाहा हुन्छ ।

उनका रचनामा हार्दिकता एवं विचारको सुन्दर समन्वय छ । सुगम र सरस शैलीमा बुनिएका मालाजस्ता वाक्य छन् । कतै वर्णनात्मक, कतै विचारात्मक, कतै भावनात्मक र कतै उत्तेजक अभिव्यक्ति दिन सिपालु छन् श्रीबाबु ।

Argakhachi Cement Island Ad

संग्र्रहमा शैली, भाव र भाषाको सुन्दर सम्मिश्रण छ । ठाउँठाउँमा राखिएका कवितात्मक प्रस्तुतिले श्रीबाबुको श्रीलाई उँचो बनाएका छन् ।

लेखक पुनरुक्ति र अतिशयोक्ति दोषबाट सकभर जोगिन खोजेको देखिन्छ । अनेकौँ विद्वान्हरूको उद्धरण गरे तापनि अड्कलेर र बोझिलो नलाग्ने गरी प्रस्तुत भएका छन् ।

उनी आफ्ना रचनामा आफूले उद्धरण गरेका विद्वान्को व्यक्तित्वलाई हाबी हुन नदिई आफ्नो लेखकीय निजीपनलाई उद्घाटन गर्न सफल छन् । निबन्धको सुरुमा समस्याको उठान गर्दै अन्तमा त्यसको सम्यक् र व्यावहारिक समाधान गर्न कुशाग्र छन् उनी ।

भाषा प्रभावी, किन्तु सरल छ । आफ्ना पूर्वजप्रति हार्दिक कृतज्ञता, देशभक्ति, प्रकृतिप्रेम र बालापनको सम्झनाले यो पुस्तक सुन्दर र संग्रहणीय बनेको छ ।

‘ढुङ्गा पो भएछु अचेल’ शीर्षक निबन्धमा श्रीबाबु लेख्छन्, ‘म सोच्छु, सोच्दै छु । मेरा चाउरिँदै गएका मगजका तन्तुहरू निष्क्रिय नहोऊन् । सोच्न छाड्ने हो भने यो दिमाग पनि बेकामी फलाममा खिया लागेझैँ... ।’ अगाडि लेख्छन्, ‘जीवन त ढुङ्गाको पो सही । ढुङ्गाको सपना हुँदैन । ढुङ्गाको कुनै ईष्र्या, लोभ र मोह हुँदैन ।’

‘जीवनको पाश्र्वमा मृत्युभय’ शीर्षक निबन्धमा उनी लेख्छन्, ‘संसारमा मानव नै हो सबैभन्दा बढी जीवनको भिख माग्ने ।’ उनी दुराचारीहरूलाई ताकेरै लेख्छन्, ‘भ्रष्टाचारी मानिसका पापी नङ्ग्राहरूले चिथोरेर थुपारेको सम्पत्तिले मृत्युको मुख थुन्छ कि थुन्दैन होला ? भ्रष्टहरूले मर्नु पर्छ कि पर्दैन होला ?’

यो देशको हालको हविगतलाई लिएर व्यक्त गरिएको प्रतिनिधि आक्रोश हो । मानवले मृत्युको भयले नै ईश्वरको सिर्जना गरेको विश्वास छ लेखकमा । लेख्छन् ‘मृत्युभय नहुँदो हो त कस्तो हुँदो हो सृष्टिको सौन्दर्य ? कसले गर्दो हो ईश्वरको कल्पना  ? ... ।’

‘जीवन एक, जुलुङ्गो अनेक’मा उनी जीवनलाई परिमार्जनका आँखाले हेर्छन् । रङका आँखाले हेर्छन् । सौन्दर्यका आँखाले हेर्छन् ! उनी आफ्ना चर्मचक्षुले इन्द्रेणीका सात रङ मात्र देख्छन् भने प्रज्ञाचक्षुबाट अस्तित्वका असंख्य रङहरू ।

श्रीबाबुको नजरमा जीवन एक युद्ध हो । जिते इतिहास रचिन्छ, हारे त मेटिने मात्र हो । उनी साह्रै मिठो गरी लेख्छन्, ‘मलाई जीवनका भिरहरूमा गोरेटो खोजिरहेका मानिसहरू मन पर्छ ।’

श्रीबाबु ‘हृदयमा बयली खेल्दै असार’मा किसानका पूजक बनेर उदाउँछन् । श्रमको अत्यन्तै सुन्दर सम्मान गर्छन् उनी । उनले लक्षित गरेर लेखेका पात्रसम्म यो पुस्तक पुगिदिए कति जाती हुँदो हो । कसैले वाचन गरेर सुनाइदिए कति सम्मानित महसुस गर्थे होला पसिनाको मूल्यमा सहरियाहरूलाई पाल्ने किसान ।

दुनियाँ अचम्मको छ श्रीबाबु ! तपाईंले जसको अनुहार सम्झेर यो मनोहर निबन्ध लेख्नुभयो, उसैको हातमा यो पुग्दैन । श्रीबाबुको ‘म कल्पना गर्छु, जीवन किन असार बनेर रङिन सक्दैन ?’ वाक्यले मेरो अन्तस् नै छोएको छ ।

‘असार धरतीको यौवन हो । असार सिर्जनाको सौरभ हो ।’ शब्दाडम्बरविनाका यी छोटाछोटा वाक्यले लेखकको रचना शिल्पलाई उजागर गर्छन् ।

‘ल्याम्प पोस्ट’ शीर्षक निबन्धमा उनी सुन्दर भूमिका बाँध्दै गएपछि एक ठाउँमा पुगेर सानो विश्राम लिन्छन् र लेख्छन्, ‘मनमा प्रश्नैप्रश्नले घनीभूत भएर उभिन्छु म । जीवनको सुरुवात किन रुवाइबाट हुन्छ ? किन पीडाबाट हुन्छ ?...’ 

ल्याम्प पोस्ट पढ्दापढ्दै म एक ठाउँमा पुगेर टक्क अडिएँ । मेरो आत्मबोध निबन्धसंग्रहमा समाहित ‘जीवनको मूल्य’ शीर्षक निबन्धको सम्झना भयो मलाई । त्यही पशुपतिनाथ मन्दिर परिसर । उस्तै भक्तजनहरू । उही पशुपतिको पाश्र्वमा केही बेर अडिने सन्ध्याकालीन जीवन ।

हामी दुईको जीवनसम्बन्धी सोचको साम्य देखेर किञ्चित आश्चर्यमिश्रित सुखानुभूति भयो । फेरि त्यति नै बेला श्रीबाबु र मेरा संयुक्त पूर्वज भाष्कर पण्डितको छवि देखेर पुलकित भएँ ।

‘प्रेम’ शीर्षक निबन्धमा प्रयुक्त ‘प्रेम प्रकृति जस्तै सर्वाङ्ग छ । सर्वाङ्ग छ र सुन्दर छ ।’ उक्तिमा सर्वाङ्गको सट्टा निर्वाङ्ग लेखेको भए हुन्थ्यो जस्तो लाग्यो । हुन त लेखकले कुन मनस्थिति र परिप्रेक्षमा लेख्छ, पाठकलाई के थाहा !

श्रीबाबु भौतिक तवरले सहरमा बस्छन्, किन्तु उनको मन भने अविरल गाउँमा बस्छ । मनुष्यको स्वभाव पनि अचम्मको छ । स्वेच्छाले सहर पस्छ, गाउँ सम्झेर रुन्छ । स्वेच्छाले परदेशिन्छ, स्वदेश सम्झेर विलाप गर्छ ।

श्रीबाबुभन्दा अलिकता पूर्वबाट काठमाडौं आएका सिद्धिचरण श्रेष्ठले काठमाडौं सहरलाई ‘मरुस्थल’को रूपमा विम्बित गरे । श्रीबाबु ‘प्रिय गाउँ’मा लेख्छन्, ‘म सम्झिरहन्छु गाउँका मट्याइला दिनहरू । धूमिल साँझहरू, धिपधिपाउँदै जलिरहेका टुकी र दियोका उज्यालाहरू...।’

‘नियतिको आकस्मिकता’ पढ्दा हृदय नै आद्र्र भयो । पिता सुदर्शन कार्की अकस्मात् मस्तिष्काघात भएर ढल्नुभयो । अस्पतालमा निश्चेष्ट सुतिरहेका पिताको समीपमा उहाँको वाणी फुट्ने प्रतीक्षामा बस्थे श्रीबाबु ।

एक दिन उनले पितालाई विजयकुमार पाण्डेको ‘सम्बन्धहरू’ पुस्तक देखाउँदै भने, ‘यो पुस्तकको नाम के हो सान्दाजु ?’ (उनी पितालाई सान्दाजु भनेर बोलाउँछन्) ।

किताब देख्नासाथ पिताजीको बोली निस्क्यो, ‘सम्बन्धहरू’ ! छोराहरूको नाम बताउन असमर्थ पिताको एउटा पुस्तक देखाउँदा बोली फुट्यो ! पुत्रको हर्षको सीमा रहेन ।

‘रिस’ शीर्षक निबन्धमा लेखकले रिसबारे लामो अनुसन्धान गरेको फेहरिस्त उल्लेख गरेका छन् । उनले विस्तृत अध्ययन र अनुशीलनबाट लाटो, झन्के, हुप्पे, आँख्ले, फन्के, हाँडीघोप्टे र आरिसे गरी सात किसिमका रिसबारे उल्लेख गरेका छन् । निचोडमा पुगेर उनी लेख्छन्, ‘रिस हामीभित्रको आगो हो... कमसेकम हटाउन नसके पनि घटाउनतिर लाग्नुहोस् ।’

रिस उठ्नु प्राकृतिक स्वभाव हो । महत्त्वपूर्ण कुरा रिसको समय, तरिका, सीमा र सघनता हो । सही स्थान, तरिका र समय जान्ने हो भने क्रोध पनि रचनात्मक बन्दछ ।

कहाँ र कहिले कसमा रिस पोख्ने भन्ने कुरा नबुझी यत्रतत्र भनभनाउने मान्छेले आफ्नो र आफ्नाको यश तथा यदाकदा सम्पत्तिको समेत नाश गर्न पुग्दछ ।

समग्र पुस्तकभरि निकै सकारात्मक र आशावादी रहँदै आएका श्रीबाबु आफ्नो ‘टाइटल’ निबन्ध ‘सन्दिग्ध शताब्दी’मा पुगेर भने भाखा फेर्छन् । उनी आफ्नो समयसँग साह्रै नै निराश छन् ।

लेख्छन्, ‘युगको नयाँ बिहानीमा मभित्र कुनै उत्साह छैन । उमङ्गका कुनै गुलाबी रङहरू छैनन् । परिवर्तनको यो नौटङ्कीमा कुनै नवीनता र समृद्धिको सौन्दर्य छैन । कहाँ पुगे होलान् ती सपनाहरू ?...’ 

एक्काइसौँ शताब्दी वैज्ञानिक र वैकासिक दृष्टिले सबैभन्दा प्रगतिशील युग हो । परन्तु, यसभित्र अनेकौँ चुनौती पनि छन्, जसले यस शताब्दीलाई नै सन्दिग्ध बनाउँछन् । 

आशा र अनिश्चितता यस युगका विशेषता हुन् । विशेष गरेर हाम्रो देशले उन्नतिका सकारात्मक आयामहरूबाट फाइदा लिन सकेन । उता विकृतिहरू भने पङ्क्तिबद्ध भएर छिर्न पुगे ।

यस्तो अनुहार लिएर उदाएको शताब्दीप्रति श्रीबाबुको निराशा र अवसादलाई झट्टै खारेज गर्न मिल्दैन, परन्तु आफ्नो युगप्रति यो हदको निराशा र अतीतप्रतिको असीम अनुराग देख्दा भने थोरै आश्चर्य लाग्छ ।

श्रीबाबु उज्यालोका प्रेमी हुन् । यो निबन्ध पढ्दा मातृभूमिको प्रेममा डुबेका लेखकप्रति माया र श्रद्धा लाग्छ । सन्दिग्ध शताब्दी निबन्ध सायद कुनै निराशाजनक परिघटनाको उपज हो । कोही पनि आफ्नो युगप्रति सधैँ निराशा र विरक्तिमा रहिरहन कठिन छ ।

लेखकको यो ‘कालो रात’को बादल शताब्दीको पूर्वार्धमै फाटेर जाने आशा गरौँ । श्रीबाबुको यो निबन्ध रचना गर्दाको समयको मनस्ताप अहिले पनि उस्तै होला कि कतै आशावादको ससानो झाँकीको अल्प दर्शन पनि भयो होला ? पाठकको यो जिज्ञासा मेटाउन उनले अर्को निबन्ध लेख्लान् कि भन्ने आशा छ ।

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  ०५:३२
प्रतिक्रिया दिनुहोस्