site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नरभक्षी बाघ थुन्ने चार कोठे खोर निर्माण
फाइल तस्बिर ।

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जमा नरभक्षी बाघ थुन्नका लागि दुई वटा नयाँ खोर निर्माण गरिएको छ ।

देशका विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको बाघ राख्नका लागि सङ्घीय सरकारको वन मन्त्रालयअन्तर्गत राष्ट्रिय निकुञ्ज आयोजनाबाट २५ लाख रुपैयाँको लागतमा खोर निर्माण गरिएको निकुञ्जले जनाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले देशका विभिन्न भागबाट नियन्त्रणमा लिएर आएका नरभक्षी बाघ राख्नका लागि कसरामा चार कोठे खोर निर्माण गरिएको जानकारी दिए । “वन मन्त्रालयबाट खोर निर्माणका लागि ४० लाख रुपैयाँ विनियोजन भएर आएको थियो, तर हामीले २५ लाख रुपैयाँमा खोर निर्माण सम्पन्न गरेका छौँ”, तिवारीले भने, “चार कोठे खोर निर्माण गरिएको भए पनि त्यहाँ दुई वटा मात्रै बाघ राख्ने क्षमता छ ।”

गत आर्थिक वर्षमा सुरु भएको खोर निर्माण कार्यले यही असारमा पूर्णता पाएको हो । निकुञ्जमा रहेका तीन वटा खोरमध्ये मुख्यालय कसरामा रहेको एउटा खोर पुरानो भएकाले जीर्ण भइसकेको छ । निकुञ्जको मुख्यालय कसरामा रहेको जीर्ण खोरमा समेत अहिले बाघ राख्नुपर्ने अवस्था रहेकाले नयाँ खोर निर्माण गरिएको हो ।

बाघ राख्न खोरको अभाव भएसँगै चितवन राष्ट्रिय निकुञ्जले नयाँ खोर निर्माण गरेको हो । चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रका जिल्लासहित अन्य बाघ पाइने जिल्लामा बाघले मान्छेमाथि आक्रमण गर्ने सिलसिला बढेसँगै नयाँ खोर निर्माण गर्नुपर्ने बाध्यता थियो । निकुञ्जमा खोरको अभाव थियो ।

यसअघि निकुञ्जको मुख्यालय कसरामा दुई वटा तथा निकुञ्जको पूर्वी सेक्टर कार्यालय कसरामा दुई वटा खोर थिए । कसरामा रहेको एउटा खोरमा चितवनबाटै नियन्त्रणमा लिइएको नरभक्षी बाघ र अर्कोमा बाँकेबाट ल्याइएको नरभक्षी बाघ राखिएको छ भने सौराहाको खोरमा पनि चितवनमै नियन्त्रणमा लिइएको नरभक्षी बाघ राखिएको छ ।

विभिन्न स्थानमा मान्छेमाथि बाघले आक्रमण गरेपछि ल्याइएका तीन वटा नरभक्षी बाघ अहिले चितवन राष्ट्रिय निकुञ्जको खोरमा राखिएको छ । नियन्त्रणमा लिइएका बाघलाई व्यवस्थापन गर्न खोरको अभावले कठिन हुने निकुञ्जले बताउँदै आएको थियो ।

गत आर्थिक वर्ष २०७८/०७९ मा नवलपुर र चितवनमा गरी बाघले आक्रमण गर्दा १६ जनाले ज्यान गुमाएका थिए भने १२ जना घाइते भएका थिए ।

बाघको गतिविधि र मान्छेमाथि हुने आक्रमणलाई अध्ययन गर्दा चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि भएको हुनसक्ने निकुञ्जको अनुमान छ । केही महिनाअघि सम्पन्न राष्ट्रिय बाघ सर्वेक्षण, २०२२ को नतिजा अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर २९ जुलाई (साउन १३ गते)का दिन सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा यसको वरपरका मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन क्षेत्रहरुमा बाघ पाइने गरेको छ । बाघको सङ्ख्या १२ वर्षको अवधिमा दोब्बर बनाउने लक्ष्यसहित नेपालले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा प्रतिबद्धता जनाएको थियो ।

सन् २००९ मा गरिएको बाघ गणनामा नेपालमा रहेको बाघको सङ्ख्या १२१ लाई आधार मानेर सन् २०२२ मा दोब्बर बनाउने प्रतिबद्धता नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको थियो । नेपालले तोकिएको लक्ष्य सन् २०१८ मा नै भेटाउन लागेको थियो । त्यसबेला नेपालमा २३५ बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।

पछिल्लो गणनानुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ गरी जम्मा २३५ वटा बाघ भेटिएका छन् । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन ८, २०७९  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro