site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देशले प्रगति गर्ने महान् आशंका

नयाँ वर्षको मंगलमय कामना गर्दै वर्षको शुरुदेखि नै आफ्नो पेट भर्न अरूको बगलीतिर हात लम्काउन सक्रिय हुनु हामी उद्यमशील नेपालीको निम्ति कुनै नौलो कुरो होइन । प्रत्येक नयाँ वर्ष एउटा नयाँ समस्याको पोको लिई हामी मध्यमवर्गीको घरको ढोका घचघच्याउन आइपुग्दछ । आगामी सालको सुमधुर कल्पना गरी चित्त बुझाउनुहुने सम्बन्धित ‘सप्तर्षि’हरूमा मेरो सानो निवेदन छ ।

नेता राशि ः
यो वर्ष तपाईंको निम्ति अशुभ रहनेछ । यतिन्जेल सरकारको आँखामा छारो हाल्न सफल भई आफ्नो स्वार्थ निर्विरोध रूपले पूरा गर्न तपाईं सफल हुनुभएको छ । तर, यो वर्ष तपाईंको खेदो खन्ने पक्ष सक्रिय रहने हुँदा तपाईंले आफ्नो ‘प्रतिरक्षा’को निम्ति आफ्नो भाषणलाई अझ बढी प्रभावशाली बनाउन कोचिङ क्लास ज्वाइन गर्नुपर्नेछ ।

तपाईंले गरिआउनुभएको भाषण ‘हो–हो माले हो–हो’ भन्ने गीतझैँ पुरानो र कर्णप्रिय भइसकेकोले त्यसबाट स्रोताले उत्साह लिनु सट्टा ‘स्लिपिङ पिल्स’को काम लिन थालेका छन् । आलोचना र विषबमन गर्न छोडी प्रशंसा गर्ने बानी बसाल्नुभएमा तपाईंलाई तपाईंको पुरानो पदले यस वर्ष अंकमाल गर्न आउने योग प्रबल देखापरेको छ ।

मन्त्री राशि :
यो वर्ष तपाईंको निम्ति मध्यम रहने योग देखिन्छ । आफ्नो पद खुस्किने डरले अथवा देशले तपाईंको सेवा चाहँदैन कि ? भन्ने डरले तपाईंको मनमा आसन जमाउने हुँदा वर्षको शुरूशुरूमा तपाईंले ईमान्दारी र अनुशासनलाई मुक्तहृदयले अंकमाल गर्नुहुनेछ । तपाईंका अधिकांश सरकारी भ्रमणहरू यस वर्षचाहिँ आफ्नो अञ्चलमा मात्र सीमित नरही छर–छिमेकी अञ्चलमा पनि हुने खतरा छ । चुनाउको चहलपहल हुने बखत तपाईं सरकारी रीत पुर्याई बाटो बिर्सेझैँ आफ्नो अञ्चल र जिल्लामा सुटक्क पुग्न बिर्सनु हुने छैन ।

दशैँ, तिहार, फागु आदि चाडवाडमा सरकारी भ्रमणको कार्यक्रम बनाई आफ्नो जिल्लामा जान तपाईंले बिर्सनुहुने सम्भावना छ । तर, तपाईंले जागिर (भत्ता ?) दिइराख्नुभएका साले साहेबले यथासमय तपाईंलाई सो शुभकार्यमा प्रस्थान गर्नका निम्ति सम्झाउने छन् ।

तपाईं जिल्ला भ्रमणमा हुँदा म्याद समाप्त भई ढाक्रे भएका जिल्लाका नेताहरू पैदल नै तपाईंको निवासस्थानमा चाकरी पुर्याउन आइपुग्ने छन् । उनीहरूलाई जिस्काउन सी.डी.ओ.ज्यू उनीहरूले देख्ने गरी आफ्नो अफिसको जीपमा आसीन भई पोजिसनका साथ तपाईंसँग भेट गर्न आउनुहुनेछ ।

ढाक्रेमा परेका सदस्यहरूलाई आउँदो चुनाउमा यथाशक्य मद्दत गर्ने आश्वासन दिन तपाईं चुक्नुहुने छैन । तर, आश्वासन दिँदा तपाईंको जिभ्रो एउटा खुट्टा भाँचिएको मेचझैँ लटपटिइने छ । चिया पसलमा चिया खाने निहुँले घण्टौँ बसी राजनीति चलाउने तपाईंका विरोधीहरू आउँदो वर्षभरि प्रसन्न रहने छन् ।

महापञ्च राशि :
यो वर्ष तपाईंको लागि अनिष्टकारक हुने र तपाईंमध्ये कसैकसैको लागि भने पोटवाह्र पर्ने समेत जनाउँदछ । ‘रेप्लिका’ लाउनुपर्ने हुँदा बुशसर्ट र पाएण्ट, कुर्ता र पायजामाले तपाईंको शरीरलाई यसरी छाड्नेछ जसरी नश्वर शरीरलाई आत्माले छाड्दछ ।

तपाईंको डेरामा ‘फलास’ र ‘साइटीन’को खाल दिन्हौँ जम्नेछ । उधारो लेनदेनमा हुने फजिहतबाट त्राण पाउन श्री–सम्पत्ति बन्धक राख्नसम्म पनि हिचकिचाउनु हुने कुयोग देखा पर्दैन । गम्भीर र तार्किक व्यक्तित्वको नक्कली प्रदर्शन गर्न यस वर्ष तपाईंले सरकारी अनुदानहरू आफ्नो डिस्पोजलमा बुझ्नु हुने छैन ।

तपाईंले गर्नुहुने शिलान्यास र ग्राम पञ्चायतको सभामा दिनुहुने प्रतिभाशाली वक्तव्यहरूको ‘फुल–टेक्ष्ट’ समाचारहरूले राजधानीका दिवालिया पत्रपत्रिकाहरू भरिभराउ रहनेछन् । तपाईंको भाषण गर्ने र आफ्नो जिल्लाको सरकारी कर्मचारीलाई ‘त्रस्त’ राख्ने प्रतिभामा यस वर्ष अझै वृद्धि हुने अनुमान छ ।

तपाईंको आफ्नो गाउँको स्कुल भने यो वर्षभरि प्रायः बन्द नै रहनेछ । तर, सालवसाली र पटके सहायता भने स्थानीय ‘एडजस्ट–गर्ने’ नियमानुसार तपाईंको स्कुलले नै पहिले पाउनेछ ।

जिल्ला सभापति राशि :
तपाईंको निम्ति यो वर्ष शुभ छ । शपथग्रहण गर्नासाथ जिल्ला पञ्चायतको जीप तपाईंको घरको भैँसी बाँध्ने गोठमा राखिइनेछ । शपथग्रहण गरेको भोलिपल्टदेखि तपाईंले आफूले गरेको शपथ बिर्सनुहुनेछ र आफू चुनिइनका लागि गरेको खर्च असूलउपर गर्नु नै पहिलो बुद्धिमत्ता ठानी त्यसतर्फ प्रभावशाली पाइला चाल्नुहुनेछ ।

ड्राइभर र पियनलाई भने तपाईंले एकदमै अनुशासनमा राख्नुहुनेछ । आफ्नो कामभन्दा बढी समय तपाईंले जीप हाँक्न–सिक्ने शुभ–कार्यमा सदुपयोग गर्नुहुनेछ । तपाईंले सीमित गतिको उल्लंघन गरी जीप हाँक्दा सडकका दायाँबायाँका रूखहरू तपाईंको जीपसँग जुध्न आउने छन् र ढल्नेछन् । तर, तपाईंले कुनै चिन्ता लिनुपर्ने छैन ।

तपाईंको लाइसेन्स खोसिइने छैन र तपाईंका उदार सहयोगीहरूले ध्वस्त भएको जीपलाई आफ्नै बजेटबाट मरम्मत गरिदिने छन् ।

जि. पं. का कर्मचारीहरूले तपाईंको आदेशलाई एक कानबाट सुनी अर्को कानबाट उडाउने हुँदा ‘प्रशासन फितलो भयो’ भनी सी.डी.ओ.लाई दिन्हौँ पुराण सुनाउन तपाईं बिर्सनुहुने छैन ।

उप–सभापति राशि :
यस वर्ष पनि सभापतिको उपस्थितिमा तपाईं झीँगा मारी बस्नुहुनेछ र तपाईंलाई आफू ‘बेकम्मा’ भएको महसुस गर्न नदिन कुनै भावनात्मक उप–समितिको सभापति बनाइनेछ र चिनी, मट्टीतेल, सिमेन्ट आदिको कुपनहरू हस्तान्तरित गर्ने अधिकार प्रत्यायोजित गरिनेछ । हलुवाई र चिया पसलेहरूले तपाईंलाई दिन्हौँ नमस्कार गर्नेछन् ।

सभापति प्रतिनिधि–मण्डलमा काठमाडौं आउँदा तपाईं जिल्लामा आफूलाई सबभन्दा व्यस्त देखाउनमा नै व्यस्त रहनुहुनेछ र आफ्नो ‘चार्ज’मा जीप चढी एकपटक आफ्नो गाउँमा गई प्रभुत्व अवश्य नै देखाउनुहुनेछ र सभापतिको अनुपस्थितिमा तपाईंले आफ्नो इजलास (आफू बस्ने कोठा अलगै भए पनि) सभापतिकै कोठामा राख्नुहुनेछ र सभापतिको घुमाउरे मेचको आनन्द लुट्न चुक्नुहुने छैन ।

जिल्ला सभासद् राशि :
जिल्लाको प्रगतिको निम्ति तपाईं यस वर्ष सबभन्दा बढी सक्रिय रहनुहुनेछ । दिनको एकपटक सभापतिलाई उपदेश र धम्की दिन चुक्नुहुने छैन । सभापतिको मेच वरिपरि तपाईंको निवास यस प्रकार रहिरहने छ जस प्रकार तरकारी बजारमा रक्सोलको माछा बेच्न ल्याउनेलाई झीँगाले घेरिरहन्छ ।

तपाईंको र सभापतिको खासखुस उप–सभापतिलाई मन नपर्ने हुँदा उहाँ त्यस बखतको सदुपयोग जि. पं. कार्यालयका विभिन्न शाखाहरूको छड्के गर्नमा गर्नुहुनेछ । सभापतिका विरोधी जिल्ला सभासद्हरूको उपस्थितिले जि. पं. कार्यालयका कर्मचारीहरू बस्ने कोठाहरू भरिभराउ रहने छन् र कर्मचारीलाई ‘नियमबमोजिम काम हुनुपर्दछ, हामी तपाईंको सरूवा जुम्ला हुनदिने छैनौँ’ भनी अभयदान दिइरहने छन् ।

प्रधानपञ्च राशि :
तपाईंहरूको अभिरुचि यस वर्ष प्रस्ताउ पारित गर्नभन्दा पारित भएर थन्किइरहेका प्रस्ताउहरूको कार्यान्वयनतर्फ जाने ठूलो डर छ । पूरा गर्ने अठोट गरिएका तर काम भने फिस्टो पनि हुन नसकेका विकास योजनाहरूलाई पूरा गर्नको निम्ति तपाईंकै अध्यक्षतामा पुनः एउटा आर्थिक समितिको गठन हुनेछ । तर, निर्णय गर्ने ‘नानीदेखि लागेको बानी’ झट्ट नजाने हुँदा तपाईंको अध्यक्षतामा गठित ‘आर्थिक समिति’ले ‘यस योजनाको निम्ति लाग्ने खर्च रकमको निम्ति श्री ५ को सरकारमा अनुरोध गर्ने’ भन्ने वीररसयुक्त निर्णय गर्न हिचकिचाउने छैन ।

कर्मक्षेत्रमा सात ग्रहको जम्का भेट हुने योग परेको हुँदा यस वर्ष प्रस्ताउ पारित गरिएका सुसमाचारहरू रेडियोबाट सुन्न पाइने छैन, र हेर्ने इच्छा भएमा पोहोर सालका पुराना अखवारहरू पल्टाउन पर्ने हुन्छ । यसो हुँदा देशले प्रगति गर्ने महान् आशंका र भयले जनता जनार्दनलाई आजैदेखि पिरोल्न थालिसकेको छ ।

(‘समीक्षा’, वर्ष ९, अंक–३१)
(प्रसिद्ध व्यंग्यकार श्याम गोतामेकी पत्नी पद्मादेवी गौतमको स्वीकृतिमा प्रकाशित गोतामेको ‘मपाईं’ व्यंग्यसंग्रहको अर्को व्यंग्य । यस संग्रहका सम्पूर्ण व्यंग्यहरू धारावाहिक रूपमा हरेक शनिबार प्रकाशित गर्दै जानेछौँ ।)    

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro