site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कर्नेलको घोडा
Sarbottam CementSarbottam Cement

कर्नेल कर्नेल्नीलाई असाध्य माया गर्थे । बुढेसकालमा बिहा गरेकी तरुनी स्वास्नीलाई कसले माया गर्दैन ? तर कर्नेल्नीलाई ४५ वर्षको कर्नेलले गरेको मायाले पुग्दैनथ्यो । कर्नेल्नी थिइन् १९ वर्षकी । जैले पनि बाहिरबाट घर फर्कंदा दुलहीलाई सुखी पार्न केही न केही कुरो कर्नेल किनेर ल्याउँथे– साडी, पाउडर, लाली, चुरा, इयरिङ इत्यादि ।

तर तिनकी दुलहीको मन कहिले पनि दुलहातिर फर्केन । दुलहाले खुशी पार्न मायाले किनी ल्याएको मालमत्ताले भरिएको कोठामा एक्लै बसी कर्नेल्नी आँसु खसाल्थिन् ।

कत्रो आशा र उमंग लिएर तिनीले दुलहाको घरमा पहिलो दिन पाइलो हालिथिन् । कत्रो सुख पाइएला भनेर तिनले आशा गरेकी थिइन् । कर्नेल्नी यी सबै पहिलेका कुरा विचार गर्थिन् र बिस्तार बिस्तार रुन्थिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

बिहा हुनुभन्दा पहिले छिमेकीको एउटा युवकले तिनलाई प्रेमको निम्ता दिएको थियो । राम्रो थियो त्यो युवक हृष्ट–पुष्ट, त्यसको बाहु बलियो थियो । रहरलाग्दो थियो त्यसको शरीर । यो कुरा सम्झँदा तिनलाई अहिले पनि सिरिंग हुन्छ ।

तर त्यस बखतमा आफ्नो भविष्यमा पाउने दुलहाको मीठो कल्पना गरेर त्यो युवकको निम्तालाई तिनले स्वीकार गरिनन् । अब छिनछिनमा त्यो युवकको सम्झना हुन्छ, त्यसको बलिष्ठ भुजाको ध्यान मनमा आउँछ । त्यसको बाहुको शक्तिको अनुभव गर्न पाउने अब तिनलाई रहर मात्र रह्यो ।

Global Ime bank

तिनले आत्तिएर कोठाका चारैतिर हेरिन्, कोठाका मालमत्ताहरू तिनको खिसी गरिरहेजस्ता थिए । आफूलाई खुशी पार्न ल्याएको मालले घेरिएकी तिनी बन्दिनीजस्ती थिइन् ।

त्यही बेलामा किनेका माललाई कुनै काखी च्यापी, कुनै हातैमा झुन्ड्याई कर्नेल कोठाभित्र पसे ।

“हेर, मेरो प्राण, के के किनेर ल्याएको छु ।” कर्नेलले मालको थुप्रो तिनको अगाडि राखेर भने ।

कर्नेल्नीले उत्साहहीन दृष्टिले एकचोटि कर्नेललाई र एकचोटि मालमत्तालाई हेरिन् ।

“मैले कतिचोटि हजूरलाई भनेँ मलाई यी सब मालमत्ता चाहिँदैनन् । व्यर्थ हजूर किन पैसा फ्याँक्नुहुन्छ ?” कर्नेल्नीले आँसु पुछ्दै भनिन् ।

कर्नेलले मायाले सोधे, “तिमी किन सधैँ चिन्तित बस्छ्यौ ? तिम्रो त अहिले लाउने–खाने उमेर छ । तिमीलाई केको तकलीफ छ ? मलाई भन न ।”

कर्नेल्नीले उत्तर दिनु व्यर्थ ठानिन् । तिनको कष्ट कर्नेल बुझ्दैनन् । १९ वर्षकी युवतीका मनको भाव ४५ वर्षको दुलहाले बुझ्दैन । कर्नेलले चूप लागेर बसिरहेकी दुलहीलाई मायाले उचाले । तिनले भर्खरै विचार गरेको दुःखद भावनाहरूलाई बिर्सिन् ।

दुलहाको उमेरलाई बिर्सेर उनले आफ्नो शरीरलाई दुलहामाथि फ्याँकिन् । कर्नेलले तिनको भार थाम्न सकेनन् र तिनी पछारिए । दुलहीको सारा स्वप्नको तार एक्कासि चुँडियो ।

दुलहीलाई उठाउने प्रयत्नमा बल पर्दा स्वाँ स्वाँ गरिरहेको र पछारिएका दुलहालाई कर्नेल्नीले एकचोटि घृणाका दृष्टिले हेरिन् । त्यसै दिनदेखि कर्नेल्नीका मनमा आफ्नो दुलहाप्रति महान् तिरस्कारको भाव उदय भयो ।

एकदिन कर्नेल र कर्नेल्नी आफ्नो हाताको निरीक्षण गरिरहेका थिए । कर्नेलले विदेशबाट झिकाई पाँचवटा गाई पालेका थिए । गोठघरमा धेरै बेरसम्म तिनीहरू गाई–वस्तुको निरीक्षण गरिरहे ।

गोठसँगै जोरिएको तबेला थियो । घोडाले हिनहिनाएको स्वर कर्नेल्नीले सुनिन् र सोधिन्, “हजुरले घोडा पनि पालेको छ ? मलाई थाहा थिएन ।”

कर्नेलले रहरसँग यो सेतो घोडा किनेको थियो । सधैँ आफै बसी दाना खुवाउँथे, आफै उभिएर दिनहुँ त्यसलाई मल्न लाउँथे, र एकचोटि नित्य बिहान त्यसमा चढी हावा खान निस्कन्थे ।

तर यता उनले घोडापट्टि उति ध्यान दिएका थिएनन् । त्यसमा नचढेको पनि निकै भएको थियो ।

“हिँड न, जाउँ त्यसलाई हेर्न ।” तिनले दुलहीलाई भने ।

मालिकलाई आएको देख्ता घोडा अगाडिका दुवै टाप भूइँमा थचारी–थचारी झन् हिनहिनाउन थाल्यो । अँध्यारोमा बाँधिएको त्यो घोडाको आँखा टलक्क टल्किरहेको थियो । हिनहिनाउँदा त्यसको नाकका दुवै पोरा फुलेर ठुला हुन्थे । त्यसका नसाहरू त्यसका गोडामा साँप बेरिएझैँ लाग्थे ।

कर्नेल्नीलाई त्यो घोडा एउटा रहरलाग्दो कुरा जस्तो लाग्यो । जब तिनले त्यसलाई छुन खोजिन्, त्यसले तिनलाई छुन दिएन, गर्दन यताउति फ्याँकि टोकुलाजस्तो गर्यो । घोडाको त्यस्तो स्वभावदेखि कर्नेल्ली डराइनन्, झन् आकर्षित भइन् ।

“यस्तो बलियो घोडा रहेछ । यसको हेरविचार राम्ररी पुग्दैन क्यार ।” तिनले भनिन् ।

“पहिले किनेर ल्याएको ताक त म निकै यसको हेरविचार गर्थें, तर यता सइसमाथि यसको जिम्मा छाडिदिएको छु । त्यसैले यसको स्याहार गर्छ । कति सबतिर आँखा पुर्याउनु ।”

कर्नेल्नीले भनिन्, “म यसको जिम्मा लिन्छु । सइसको के भर ? दाना टाइममा दिन्छ कि दिँदैन । सइसहरू दाना चोरेर बेच्छन् पनि । आफूले पालेको वस्तुको आफैले स्याहार गर्नुपर्छ ।”

कर्नेल मुसुक्क हाँसे, केही उत्तर दिएनन् । भोलिपल्टदेखि कर्नेल्नी आफै बसी त्यसलाई दाना दिन थालिन् । पहिले–पहिले त घोडा तिनलाई आफूनजीक आउनै दिँदैनथ्यो, तर पछि आफ्नो मायाले तिनले घोडाको स्वभावमाथि विजय पाइन् ।

दाना खाइरहेको बेलामा कर्नेल्नी घोडाको नजीकै उभिएर त्यसको पिठ्युँमा हात राख्थिन् । घोडाको शरीर तिनका हातको स्पर्श हुनासाथ सिरिंग हुन्थ्यो । घोडा दानामा गाडेको मुखलाई माथि उठाएर एकछिन हिनहिनाउँथ्यो र फेरि मुख गाडी दाना खानमा व्यस्त हुन्थ्यो ।

एक दुईचोटि त्यो गोडा ठटाउँथ्यो । तल ठोकेको पटाइमा टापको प्रहार पर्दा त्यो अस्तबलको निस्तब्धता भंग हुन्थ्यो । झीँगाहरूले घोडालाई पिरेछन् भन्ने कर्नेल्नीलाई थाहा हुन्थ्यो । घोडाको राम्ररी स्याहार पुर्याएको हुँदा तिनलाई सन्तोष थियो ।

कर्नेललाई यो कुरा मन पर्दैनथ्यो–दुलहीले यसरी घोडाको स्याहार गरेको । दिनमा एक दुईचोटि हेर्नु एउटा कुरा हो, दिन–दिनभरि अस्तबलमै बसिरहनु सरासर मुनासिब होइन । सइस छँदाछँदै आफै दाना खुवाउन किन जानु, आफै घोडा मल्न किन थाल्नु ।

एकदिन कर्नेलले कर्नेल्नीलाई भने, “कर्नेल्नी, तिमी कति घोडाको फिक्री गर्छयौ ? घरमा भान्सा के भो, कसो भो त्यसको तिमीलाई वास्ता छैन, घोडाको चाहिने त्यत्रो सुश्रूषा ।”

“म बाहुनी होइन भान्सामा ढुकी रहने । मलाई जे मन लाग्छ त्यही गर्छु । घोडाको हेरविचार गर्दा शान्ति पाउँछु, त्यति पनि तिमीलाई असह्य भयो ।” एक्कासि क्रुद्ध भएर कर्नेल्नीले भनिन् ।

“तिमीलाई केको दुःख छ र यो सबै कुरा मलाई सुनाउँछ्यौ ? तिम्रो मनमा केको अशान्ति छ र घोडाको सुश्रूषा गरेर तिमीलाई शान्ति ? तिम्रो मेराप्रति पनि त कर्तव्य छ नि, घोडालाई गरेको जति पनि कहिले एकछिनका लागि मेरो विचार गर्यौ ? साँचो भनूँ, मलाई त घोडादेखि ईष्र्या छ तिम्रो चालाले कर्नेल्नी,” कर्नेलले रुँलारुँलाजस्तो गरेर भने ।

कर्नेल्नीले केही उत्तर दिइनन्, घृणाले ओठलाई वक्र पारी दुलहामाथि दृष्टिपात गरिन् । बूढो उमेरमा पनि गहभरि आँसु पोरेको देख्ता तिनलाई त्यो दृश्य अत्यन्त नसुहाउँदो र घृणित लाग्यो ।

तिनलाई कर्नेललाई लत्याएर आफ्नो घृणाको परिचय दिने इच्छा भयो, तर आफूलाई काबूमा राखी तिनी त्यहाँबाट जुरुक्क उठेर हिँडिन् ।

एकदिन कर्नेल र कर्नेल्नी दुवै तबेलामा गए । कर्नेलले घोडामा चढ्ने इच्छा जाहेर गरे तर जब–जब कर्नेल त्यसको नजीक जान्थे त्यो टोकुँलाजस्तो गर्थ्यो । कर्नेल्नी जाँदा हिनहिनाउन थाल्यो । 
कर्नेल्नी गएर त्यसलाई सुमसुम्याउन थालिन् । घोडाले हिनहिनाएर गोडा भूइँमा हानेर आफ्नो कृतज्ञताको परिचय दियो ।

बडो कठिनाइसँग कर्नेल घोडामा चढ्न सके, तर घोडा तिनको वशमा हुन मानेन । अगाडिका दुवै टाप उठाएर आफू अगाडि नबढ्ने ढिपी गर्न थाल्यो । कर्नेल घोडा चढ्न निपुण थिए, तिनी लोट्न त लोटेनन्, तर तिनलाई एक्कासि रीस उठ्यो र हातमा लिएको कोर्राले निर्दयतापूर्वक घोडालाई पिट्न थाले ।

घोडाको पिठ्युँमा कोर्राको एक चोट पर्नासाथ कर्नेल्नी “निर्दयी” भनेर कराउन थालिन् । घोडा कोर्राको चोट पाउँदा पनि नचेतेर अगाडि बढेन । कर्नेल सटासट आँखा चिम्लेर त्यसमाथि कोर्रा बर्साइरहेका थिए ।

घोडाले पछिल्तिरका दुवै गोडा फ्याँक्यो । घोडालाई पिट्नमा व्यस्त हुँदा लगाम तिनको काबूमा थिएन र तिनी उँधो मुण्टो भूइँमा खसे । तबसम्म कर्नेल्ली घोडासम्म पुगिसकेकी थिइन् ।

धूलोमा लटपटिएको दुलहापट्टि ध्यानै नदिएर तिनी घोडाको आङ सुमसुम्याउन थालिन् । घोडाको नाकका पोरा क्रोधले फुलेका थिए, तिनबाट पानी मिसिएको श्वास बगिरहेको थियो । घोडाले विजय पायो, शत्रु पराजित भएर भूइँमा पछारिएको थियो ।

घोडाको शक्तिका विषयमा कर्नेल्नीलाई केही शंका थिएन । घोडा तिनको लागि एउटा घमण्डको कुरा थियो । मायाले तिनले आफ्नो गाला घोडाको अयालले छोपिएको गर्दनमा राखिन् । तिनलाई पनि घोडा चढ्ने इच्छा भयो र रिकाबमा गोडा राखी सुरुक्क घोडाको पिठ्युँमा पुगिन् ।

दुलहा भूइँमा पछारिएकै थिए । आफू घोडामाथि चढी उनी महान् सुखको अनुभव गर्न थालिन् । आज तिनले दुलहासित साटो फेर्ने मौका पाइन् । घोडाको प्रति तिनको माया झन् बढ्यो, यसो गर्दन टेढो पारेर उनले धूलो चाटिरहेका दुलहालाई महान् घृणाका नजरले हेरेर घोडालाई यसो एडी लाइन् । घोडा फूलको भारी लिएझैँ नाच्तै हिँड्यो ।

जब तिनी फर्केर आइन्, कर्नेल उभिरहेका थिए । तिनका कोटमा एक दुई ठाउँमा अझ धूलो लागेको थियो । कपाल खजमजिएको थियो । खसेको टोपी धूलैमा थियो । कर्नेलको नजीकै घोडा उभ्याएर कर्नेल्ली बुर्लुक्क ओर्लिन् । तिनले आफ्नो कृतज्ञताको परिचय दिन घोडालाई धाप दिइन् ।

घोडा बडो तीखो स्वरले हिनहिनायो । कर्नेल्नीलाई यस्तो महान् सुखको कहिले पनि अनुभव भएको थिएन । त्यै बखतमा ढ्वाँग–ढ्वाँग पिस्तोलका दुई शब्द भए । घोडा एकछिन लरबरियो र भूइँमा पछारियो ।

कर्नेलको हातमा पिस्तोल थियो र त्यसको प्वालबाट धूवाँ आइरहेको थियो । घोडाको पेटबाट रगतको भल बगिरहेको थियो । कर्नेल्नीले एकचोटि घोडातिर हेरिन् फेरि एकचोटि आफ्ना दुलहातिर ।

हेर्दाहेर्दै तिनको अनुहार चाउरी परेर विकृत भयो, दुवै हातले मुख छोपेर तिनी पनि भूइँमा पछारिइन् ।

(बीपी स्मृति दिवसका अवसरमा कोइरालाको कथासंग्रह ‘दोषी चस्मा’बाट ।)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०६:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC