site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पेचिलो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

एक बिहान भण्डारखालको जंगलभित्र घुम्दै थिएँ । एउटी कोइली छेउमा आएर सोधी, ‘के छ मनोजादित्य तिम्रो हालखबर ?’
‘हालखबर त ठिक छ, तर माफ गर, मैले तिमीलाई चिन्न सकिनँ ।’
‘म कोइली ।’
‘त्यो त तिम्रो रूप र स्वरबाटै पत्तो पाएँ । तर, हाम्रो भेट कहिले, कहाँ, कसरी भएको थियो, त्योचाहिँ सम्झन सकिनँ ।’
‘भारतीय कथाकार शरद जोशीको लघुकथाको माध्यमबाट भेटेका हौँ हामीले एकार्कालाई ।’
उसले यति भन्दा पनि मैले अझै ठम्याउन सकिनँ । उसैले सम्झाइदिई, ‘तिमीले अनुवाद गरेको लघुकथा बिर्सियौ ?’
‘ए ! ‘कला और प्रतिबद्धता’ शीर्षकको कथाकी कोइली हौ तिमी ?’
‘ज्यू ।’
‘कथाकार शरद जोशीले तिमीलाई बिहे गरेर गएको प्रसंगमा कथा टुंग्याइदिइहाले । तिम्रो भेट मसँग हुन्छ भन्ने कुुरा कतै लेखेनन् ! अनि, कसरी तिमीलाई चिन्नु !’ मैले ठट्टा गरेँ ।
‘तिमीले पनि शरद जोशीलाई कहीँ कतै म तिम्रो कथा अनुवाद गर्छु भन्यौ र ! भनेको भए उनले पनि मसँग भेट हुने कुरा अन्त कतै लेख्थे कि !’ उसले पनि ठट्टामै जवाफ फर्काई ।
‘तिमी के काम विशेषले यता आयौ त ?’
‘घुम्न आएकी नि ! आफू पात्र भएको कथाका पाठक भएतिर आइरहन्छु म । तिमीलाई एउटा प्रश्न सोधूँ ?’
‘सोध, जे सोध्नु छ ।’
‘रिसाउँदैनौ नि !’
‘रिसाउँदिनँ ।’
‘तिमी किन लघुकथा मात्र लेख्छौ, अरू कथा (सर्ट स्टोरी) लेख्दैनौ ?’
‘लेखेको छु फाट्टफुट्ट । नछापेको मात्र हो ।’
‘मैले संगीतमा करियर बनाउने विचार त्यागेजस्तै तिमीले पनि कथा लेख्ने विचार त्यागेका त हैनौ होला । हो भने त्यसको कथा सुन्न चाहन्छु म ।’
‘त्यसो त हामीकहाँ पनि साहित्यिक क्षेत्रमा विकृति त थाकका थाक नै छन् । तर, तिमीले जस्तो कला कर्म नै त्याग्छु भन्ने कल्पना गर्नचाहिँ म सक्तिनँ । बरु भन, तिमीलाई मेरा कथा चाहिएको चाहिँ किन ?’
‘एक त म कथाकी पात्र हुँ, त्यस उसले पनि कथा मन पर्ने भइहाल्यो । अर्को, तिमीले अनुवाद गरेका कथा पढ्दा तिमीभित्र पनि कथाकार छ जस्तो लाग्यो ।’
०००
कोइलीसँग बिदा भएर कोठा के आइपुगेको थिएँ, श्रीमतीले खुसी हुँदै भनिन्, ‘तपाईं नबिर्सी भोलि उपोद्घातलाई भेट्न जानुस् है ।’
‘को उपोद्घात ?’
‘उद्योगपति उपोद्घात । छड, सिमेन्ट र अरू कुन्नि के–के फ्याक्ट्रीका मालिक क्या ।’
‘उसलाई भेट्न किन जानु मैले ?’
‘किन नि, जागिर माग्न ।’
‘चिन्नु न जान्नु घचेडी माग्नु भनेझैँ किन उसकहाँ जागिर माग्न जानु ?’
‘ल, उसको इन्टरभ्यु हेर्नुभएको छैन ? ऊ त तपाईंको रचनाको फ्यान रहेछ ।’
मैले श्रीमतीका कुरामा विश्वास गर्न नसकेर सोधेँ, ‘तिमी आफैँले इन्टरभ्यु सुनेको कि अरूका कुरा सुनेको ?’
‘ए बाबा ! मैले भनेको विश्वास नलागे युटुबमा सर्च गरेर आफैँ हेर्नुस् न ।’
०००
हो रहेछ । अन्तर्वार्तामा उसले ‘मलाई मनोज न्यौपानेका गजल र मुक्तक मन पर्छन्’ भनेको रहेछ । यही सुनेर श्रीमतीले उपोद्घातकहाँ पुगेपछि मेरो जागिर पक्का भन्ठानेकी रहिछिन् ।

म भने अन्तर्वार्ता हेरेपछि अफ्ठ्यारोमा परेँ ।

उपोद्घातकहाँ गएर भनूँ के ? ‘तपाईंको अन्तर्वार्ता हेरेँ, त्यसमा मेरो नाम पनि उल्लेख गर्नुभएछ, त्यसैले म जागिर माग्न आएको’ भन्ने कुरा भएन । जागिर माग्न त्यहाँ नजाउञ्जेल श्रीमती यस कुराको पछि लाग्न छोड्ने होइन !

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनी आफैँ उपोद्घातलाई पुगेर सोध्न बेर लगाउँदिनन्, ‘कवि मनोज न्यौपाने यहाँ आउनुभयो कि भएन ? आएर तपाईंसँग जागिरको कुरा गर्नुभयो कि भएन ?’ आदि इत्यादि । ढाँट्न मुस्किल छ, पोल खुलिहाल्छ ।

परामर्शका लागि मैले साहित्यकार मित्र रोशन थापा ‘नीरव’लाई फोन गरेँ । फोनबाटै सबै वृत्तान्त सुनाएँ र सोधेँ, ‘के गरूँ म ?’
उनले भने, ‘आफ्नो स्वत्वलाई ख्याल गर । अहिले गरिरहेको काम छोडीचैँ नहाल ।’
‘एकै समयमा दुईतिर कसरी काम गर्नु ? एकातिर त छोड्नैपर्छ ।’ मैले समस्याको गाँठोतिर संकेत गरेँ ।
‘आकर्षक तलबले मात्र सच्चा लेखकको मन रमाउँदैन । एक–दुई महिना उताको अफिसमा काम गर । त्यतिञ्जेलमा त्यहाँ मन रमाउने, नरमाउने कुरा थाहा भइहाल्छ । उता मन रमाए यताको काम छोड । मन नरमाए, उताको काम छोड । हामीजस्तो सिर्जनशील लेखकले लेखनलाई नै महत्त्व दिनु राम्रो हुन्छ । अमिताभ बच्चनले आफू टाट पल्टेको बेला अम्बानीले दिन खोजेको आर्थिक सहयोग लिएनन् । यसले गर्दा अम्बानी परिवारले अमिताभको अझ ज्यादा इज्जत गर्छ ।’

Royal Enfield Island Ad

रोशन अब्बल साहित्यकार हो । उसले यसरी मेरो प्रसंगमा अमिताभको उदाहरण दिएको सुन्दा म आफैँ पनि अब्बल साहित्यकार भएँ कि जस्तो लाग्यो !
०००
यसपछि मभित्रको कवि–लेखकले मलाई यसरी रोक्न खोज्यो–
‘ह्या मनोज ! अन्तर्वार्तामा तेरो नाम कसैले लिँदैमा तैँले त्यस ठाउँमा जागिर माग्न जाने हो त ! यो मिल्दै नमिल्ने कुरो । फेरि, फ्याक्ट्रीमा तेरो मन रमाउने त्यस्तो के नै काम पाउलास् र ? अहिलेको अफिसमा तलब कम भए पनि साहित्यिक कर्म त गरेर बसेको छस् । साहित्यकार भनेर इज्जत त पाएको छस् । फ्याक्ट्रीमा त्यो वातावरण नहुन सक्छ ।’

आकर्षक तलबसहितको जागिर पाइहालिन्छ कि भन्ने लोभ पनि छ मनमा । यही लोभले मलाई सम्झाउन खोज्छ–
‘हेर मनोज, मौका आउँछ पर्खंदैन । तेरो छेउमा आएको मौकालाई आफैँले लात्ताले हानेर भगाउने काम नगर । मलाई जागिर देऊ भनेर उपोद्घातलाई किन भन्नुपर्यो र तैँले ! पहिला अन्तर्वार्ता हेरेको कुरा गर् । कुरैकुरामा, तपाईंजस्तो साहित्य पारखीको सानिध्यमा बसेर काम गर्न पाए अझ रमाइलो हुन्थ्यो भन् । यति भन्दा उसले जागिर दिने कुरा गरेछ भने ठिकै छ, जागिर दिने कुरा गरेनछ भने उसलाई आफ्ना कृति उपहार दिएर घर फर्की । तेरा रचना मन पराउने मान्छेले तँलाई गलहत्याएर बाहिर त पक्कै निकाल्दैन । भेट्नै नजाने कुराचाहिँ नगर ।’
०००
भोलिपल्ट बिहानै श्रीमतीले मलाई ब्युँझाइन् र भनिन्, ‘छिटै सैलुनमा गएर कपाल र दाह्री काटेर आउनुस् । कपालमा कालो मेहन्दी लगाउनुस् । फस्र्ट इम्प्रेसन इज लास्ट इम्प्रेसन भन्छन्, झ्याउरे भएर जाने होइन उपोद्घातकहाँ !’

म सैलुन गएर दाह्री–कपाल काटेर कोठामा के आइपुगेको थिएँ, उनले भान्साबाट मलाई बोलाइन्, ‘लु, खाना तयार छ, खान आइहाल्नुस् ।’
मैले सोधेँ, ‘किन यति छिटै ? आठ त बज्दै छ ।’
‘फस्र्ट आवरमै गएर भेट्नुस् न । मान्छेको दिमागमा अफिसको तनाव पर्नुअगाडि नै भेट्नु राम्रो । बिहानै–बिहानै मुड फ्रेस हुन्छ । पहिलो भेट नै तपाईंसँग होस् न । छिटो पुगेर केही बिग्रिने होइन क्यारे ।’

खासै भोक त लागेको थिएन । श्रीमतीको अनुहारमा देखिएको खुसी देखेर एक छिनपछि खाउँला पनि भन्न मन लागेन । मैले खाना खाइसक्नासाथ उनी मेरो अघि उनका रोजाइका मेरा लुगा लिएर उभिइन् । मानौँ, म स्कुल जान लागेको सानो बालक हुँ, अलिकता ढिलो हुँदा स्कुल बस छुट्छ ।

मैले सर्ट र पेन्ट लगाइसकेपछि उनले नै मलाई कोट, टाई लगाइदिइन् । लुगामा सेन्ट छर्किदिइन् । मानौँ, म बेहुला हुँदै छु आजजस्तो । उनले यसरी लुगा लगाइदिने भनेको उनलाई मन परेको ठाउँमा जाँदा मात्र हो ।

‘जाँदा ट्याक्सीमा जानुहोला । पठाओ बोलाएर पनि नजानुस् । त्यत्रो उद्योगपतिकहाँ जाने, हेपिने गरी जानु हुँदैन ।’ उनले सुझाव दिइन् ।
‘किन वाहियात खर्च गर्नुपर्यो ? जागिर हुने हो, होइन ?’ मलार्ई ट्याक्सीमा जान मन नभएको कुरा बताएँ ।
‘तपाईं पनि कस्तो ! आफ्नो बाइक भएको भए अलग कुरो । यति महँगो सुट लगाएर टेम्पो चढ्दा के भन्छन् मान्छेले ! ट्याक्सी चढेर आएको देखेपछि न उपोद्घातमा राम्रो प्रभाव पर्छ । यसलाई थोरैतिनो तलबले पुग्ने रैन’छ भन्ने सोच आउँछ । कवि भनेका झ्याउरे हुन्छन् भन्ने छाप पर्यो भने दिने जागिर पनि नदिन बेर छैन ।’

कुरा ठिकै हो । तलब घट्ने सम्भावनाका कुनै पनि काम गर्नु उचित होइन । गएँ म ठाँटसँग, मानौँ म मेनेजर हुँ जस्तो गरी । तर, भेट भएन उपोद्घातसँग । काम विशेषले वीरगन्ज गएका रहेछन् । त्यहाँका मेनेजरसँग एक छिन गफिएँ । उसका मालिकले इन्टरभ्युमा नाम लिएको साहित्यकार म नै हुँ भन्ने थाहा पाएपछि उसले मलाई गर्ने आदरको मात्रा पनि बढायो ।

‘सर कहिले आउनुहुन्छ त वीरगन्जबाट ?’ मैले सोधेँ ।
‘उताउतै आफन्तको बिहेमा लखनउ पनि जाने सम्भावना छ । उता नगए चाँडै आउनुहुन्छ । नत्र हप्ता दिन पनि लाग्न सक्छ ।’
‘त्यसो भए उहाँको नम्बर पाऊँ न ।’ मोबाइल नम्बर मागेँ मैले ।
‘सरको नम्बर त दिन मिल्दैन, बरु मेरो मोबाइल नम्बर लिनुस् । म तपाईंको लिन्छु । उहाँ आएपछि खबर गर्नेछु ।’ मेनेजरले मलाई आफ्नो भिजिटिङ कार्ड दिए । मेरो नम्बर पनि टिपे ।

मेरो कुनै काम थिएन त्यहाँ । बिदा भएँ मेनेजरसँग र एघार नम्बरका माध्यमबाट बाटो तताएँ । जसलाई ट्याक्सी चढेको देखाउनु थियो, ऊ नै यहाँ नभएपछि किन ट्याक्सी चढ्नु ! त्यो पनि घरतिर फर्कंदा । न्युरोडसम्म हिँडेर आएँ र त्यहाँबाट सिट खाली भएको बस चढेँ ।
०००
चार दिनपछि मेनेजरले फोन गरेँ, ‘मनोजजी, उपोद्घात सर आउनुभयो । भोलि बिहान भेट्न आउनुहोला ।’

भोलिपल्ट गएर पहिला मेनेजरलाई भेटेँ । उसले सेक्रेटरीलाई फोन गरिदियो, ‘सरलाई भेट्न कवि मनोजजी आउनुभएको छ, भेट गराइदिनुहोला ।’

सेक्रेटरी निकै सुन्दरी रहिछ । मेनेजरले मलाई पठाएको भनेपछि उसले एउटा आकर्षक चारपाटे खाली कार्ड दिई र भनी, ‘यसमा नाम लेख्नुस् ।’ सजिलोका लागि त्यो कार्डलाई चिट भनौँ होला ।

मैले लेखेँ, ‘मनोज न्यौपाने÷मनोजादित्य न्यौपाने ।’
उसले भनी, ‘नाम त दुइटा लेख्नुभयो त, अर्को मान्छे खोइ ?’
‘दुइटै नाम मेरा हुन् । उहाँले यी दुइटा नाम देखेपछि कुरा बुझ्नुहुन्छ ।’ मैले भनेँ ।
चिट लिएर उसले सोधी, ‘काम के थियो ?’
‘त्यो पनि लेख्नुपर्छ र ?’ मैले सोधेँ ।
‘कार्डमा त लेख्नु पर्दैन । कहिलेकाहीँ सरले फलानो मान्छे किन आएको थियो भनेर सोधिहाल्नुभयो भने बताउनुपर्छ ।’ उसले अथ्र्याई ।
मैले भेट्ने काम यसरी बताएँ, ‘कला–साहित्य विमर्श ।’
हाँसी ऊ । सायद पहिला कोही पनि यस्तो काम लिएर त्यहाँ आएको थिएन होला । 
‘तपाईंको मोबाइल नम्बर दिनुस् र सरले भनेपछि म बोलाउनेछु ।’ उसले भनी ।
मोबाइल नम्बर टिपाएर म क्यान्टिनतिर लागेँ ।
०००
एक छिन भनेकी थिई सेक्रेटरीले । तर, आधा घण्टा बित्यो, बोलाउदिन । एक घण्टा बित्यो, बोलाउदिन । सवा घण्टा बित्यो, बोलाउदिन । डेढ घण्टा बित्यो, बोलाउदिन ।

डेढ घण्टापछि सेक्रेटरीछेउ गएर सोधेँ, ‘तपाईंले चिट त दिनुभयो सरलाई ?’
‘दिएँ ।’
‘उहाँले चिट हेर्नुभयो त ?’
‘हेर्नुभयो ।’
‘तपाईंले हेरेको देख्नुभएको हो ?’
‘तपाईं कस्तो मानिस ! मैले हेर्नुभयो भन्दा पनि पत्याउनु हुन्न ।’ उसलाई झर्को लागेछ ।
‘हेरेको भए त बोलाउनुपर्ने ।’ मैले स्वर नरम बनाउँदै भनेँ ।
‘त्यसो भए मोबाइलमा कुरा गर्नुस् न त उहाँसँग । अझै कति समय लाग्छ भनेर सोध्नुस् । उहाँ मिटिङमा हुनुहुन्छ । मिटिङ सकिएपछि त बोलाइहाल्नुहुन्छ नि ।’ उसले भनी ।

यससँग मोबाइल नम्बर मागूँ त पक्कै दिने छैन । दिन मिल्ने भए मेनेजरले दिइहाल्थ्यो । मसँग मोबाइल नम्बर भएको भए यसकहाँ किन सोध्न आउँथेँ ! आफैँ मोबाइलमा कुरा गरिहाल्थे । त्यसैले चुप लागेँ ।

अब मलाई उपोद्घात साँच्चिकै मेरो रचनाको फ्यान हो भन्ने कुरामा शंका लाग्यो । हो भने मेरो नाम देखेपछि बोलाउनुपर्ने । यसरी नकुराउनुपर्ने । किन मतलब गरेन !

अन्तर्वार्ता लिँदा उसका आँखाअगाडि मेरो गजलको किताब भएकाले मात्र उसले मेरो नाम लिएको हो कि !

उसलाई मेरो किताबमा भएको किरण मानन्धरको आवरण चित्रको सुन्दरता मन परेको हो कि ! त्यहाँ मेरो नाम देखेर पक्कै यो किताब राम्रो हुनुपर्छ भन्ने भान पर्यो कि !

मन पर्ने साहित्यकारको नाममा मेरो नाम कसरी लियो उपोद्घातले, बुझ्न सकिनँ ।

मनमनै यस्तै–उस्तै तर्क गरेर अरू एक घण्टा मेरो समय बित्यो । अझै मलाई भित्र बोलाइएन । मेरो धैर्यको बाँध टुट्यो । कतिञ्जेल पर्खिनु ! फेरि गएँ सेक्रेटरीको टेबुलअघि र भनेँ, ‘मलाई नाम लेख्ने अघिको जस्तै एउटा कार्ड दिनुहोस् त ।’
‘तपाईं अझै मलाई विश्वास गरिरहनुभएको छैन ?’ उसले प्रश्न गरी ।
‘विश्वास नगरेर कार्ड मागेको होइन । अब म गएँ भनेर लेख्नका लागि मागेको हुँ ।’ कारण खुलाएँ ।
उसले कार्ड दिई । मैले लेखेँ–
‘तपाईंलाई भेट्ने अतीव इच्छा थियो । आज सम्भव भएन । दुई घण्टा पर्खिएर फर्किएको जानकारी गराउँछु ।                                                                  
मनोजादित्य ।’

त्यसपछि सेक्रेटरीलाई विनम्र स्वरमा अनुरोध गरेँ, ‘कृपया, सरलाई यो नबिर्सी दिनुहोला ।’   
‘दुई मिनेट पर्खिनुस् है’ भनेर ऊ हतारिँदै भित्र पसी ।

म पाँच मिनेटसम्म पर्खिने मुडमा थिएँ । तुरुन्तै उपोद्घात दुई हात जोड्दै आफैँ बाहिर आयो, ‘नमस्कार नामवर कविवर ! तपाईंले लामो समय प्रतीक्षा गर्नुपरेकोमा मलाई माफी दिनुहोला । कसरी यो नाचीजलाई सम्झेर आउनुभयो ?’

उसले यसरी माफी मागेकोले म अक्क न वक्क भएँ । मलाई दुई घण्टा कुराउने उही हो भन्ने विश्वास गर्न गाह्रो भयो ।

‘आउनुस् भित्र ।’ उसले दुई हातले भित्रतिर जाऔँ भन्ने इसारा गर्यो । म उसको कार्यकक्षभित्र प्रवेश गरेँ ।

‘कविवरलार्ई स्पेसल नास्ता मगाइदेऊ ?’ उसले सेक्रेटरीलाई अह्रायो ।

अनि मलाई भन्यो, ‘अफिसको मर्यादा राख्न अफिस समयमा मदिराको प्रयोग गर्ने चलन छैन । तपाईंजस्तो साहित्यकारको स्वागत त मदिराले गर्नुपर्ने हो ।’
म मौन भएँ । (म दिउँसै पिएर हिँड्ने जँड्याहा त हैन नि ।)

‘निकै पो पर्खिनुपरेछ हगि तपाईंले ?’ उसले भन्यो ।
‘हजुर विशेष मिटिङमा हुनुहुँदो रहेछ ।’ मैले ‘हजुर’ लगाएर बोलेँ ।
‘मिटिङमा थिइनँ, थकाइमा थिएँ । तपाईं आएको थाहै भएन । हिजो राति राम्ररी सुत्न नपाएकाले निन्द्रा पुगेको थिएन र एक छिन ओछ्यानमा ढल्किएको थिएँ ।’
कुरो बुझियो, मेरो नाम लेखेको चिट हेरेकै रहेनछ उसले ।

उसले मलाई चिन्नुको रहस्य खोल्यो, ‘तपाईंको गजल मलाई भोला राईले सुनाउनुभएको थियो । गजब लेख्नुहुँदो रहेछ तपाईं–
सबैले सोध्दै छन् खबर तिम्रो
एक्लौटी हो कि यो सहर तिम्रो...
यो तपाईंकै गजल होइन ? मेरो मोबाइलमा अझै छ यो ।’ ऊ मोबाइलमा मेरो संगीतबद्ध गजल खोज्न थाल्यो ।
(भोला राई भनेका शास्त्रीय संगीतका साधक हुन् । उनले मेरा केही गीत–गजलमा संगीत भरेका छन् । अहिले उनी यो मत्र्यलोकमा छैनन् । उपोद्घातले तिनका सिर्जनालाई रेकर्ड गरिदिए हुने नि । अहिले नै मैले यस्तो प्रस्ताव राख्न ठिक सम्झिइनँ । पहिला आफ्नो जागिर होस्, हिमचिम बढ्दै जाँदा पछि भनौँला ।)

‘भोलाजीजस्तो प्रतिभाले ठाउँ पाउनुभएन यहाँ । दुःखैदुःखमा प्राण त्याग्नुपर्‍यो ।’ मैले भनेँ ।
‘यहाँ कलाको कदर कहाँ छ र !’ उसले यति भन्यो र सोध्यो, ‘तपाईं पनि गाउनुहुन्छ ?’
‘लेख्छु मात्रै ।’
‘वाचनमा पनि छुट्टै मिठास हुन्छ । सुनाउनुस् केही रचना ।’
मैले केही गजल सुनाएँ । मेरो गजलसंग्रह ‘अन्तिम’ पनि उपहार दिएँ ।

उसले गजलसंग्र्रहको आवरण हेर्दै भन्यो, ‘यो किताब त मसँग छ । तर, त्यसमा तपाईंको हस्ताक्षर थिएन । हस्ताक्षरले गर्दा यो अनमोल भयो मेरो निम्ति ।’

हामीले बसेको कोठाबाट अर्को कोठामा छिर्न सकिँदो रहेछ । सेक्रेटरीले त्यतै बोलाइन् । हामी छिर्यौँ त्यस कोठामा । त्यहाँ सुन्दर प्लेटमा मैले नाम जानेका–नजानेका मिठाईका परिकार थिए । चिसो पेय पनि थियो साथमा । फलफूल पनि चट्ट काटेर राखिएको । डाइनिङ टेबुल निकै कलात्मक र आकर्षक ।

शयनकक्ष पनि गोलो आकारको, देख्दै निकै आरामदायी होलाजस्तो । अघि उपोद्घात सुतेको ओछ्यान यही हुनुपर्छ ।

मेरा आँखा अलिकति खापा खुलेको दराजमा पुगे । त्यहाँ महिलाले लगाउने भित्री वस्त्र थियो, भुइँमा खस्न–खस्न लागेको अवस्थामा । मेरा आँखा त्यहाँ पुगेको उपोद्घातले चाल पाए र हत्त न पत्त दराजको खापा बन्द गरे । सेक्रेटरीले पनि चाल पाइन् यो कुरा । उनी निहुरिँदै बाहिरिइन् ।

मेरा आँखा भने फेरि–फेरि त्यही दराजतर्फ जान खोजे । मैले जसोतसो नियन्त्रण गरेँ । सायद उपोद्घातलाई मैले नारीका भित्री वस्त्र देख्नु हुँदैनथ्यो जस्तो लाग्यो क्यारे । ऊ केही बेर असहज भयो । केही बोलेन । म पनि असहज भएँ, बोलिनँ ।

एक छिनको मौनतापछि स्याउको टुक्रो चपाउँदै उसले सोध्यो, ‘तपाईं त म वीरगन्ज गएको बेला पनि मलाई भेट्न आउनुभएको रै’छ । केही विशेष काम थियो कि ?’

जागिरको कुरा झिकौँ भन्छु, भन्न सक्तिनँ । घाँटीसम्म वाक्य आउँछ, बाहिर निस्कन सक्तैन । जपाफ दिनै गाह्रो भयो । ‘हजुरको इन्टरभ्यु सुनेपछि भेट्न मन लाग्यो’ भनेँ ।

‘के काम गर्नुहुन्छ तपाईं ?’ उसले सोध्यो ।

यस प्रश्नको सही उत्तर भनौँ कि नभनौँ ! भनौँ, जागिर त रहेछ भन्ने अर्थ लाग्ला । अन्त्यमा यसरी कुरा मिलाएँ, ‘खासै काम त छैन, स्वतन्त्र लेखन गर्छु । हजुरहरूजस्तोको सानिध्यमा बसेर काम गर्न पाए पो काम गर्न पनि मजा आउँछ ।’ भुइँतिर हेरेर एक सासमा कुरो सकेँ ।

उसले सोध्यो, ‘त्यसो भए काम गर्ने विचारले आउनुभएको हो ?’

मैले भन्न नसकेको तर भन्न आएको कुरा नै त्यही थियो । ‘काम दिनुभयो भने खुसीसाथ गर्छु’ भनेँ ।

उसले घण्टी–स्वीच थिचेर सेक्रेटरीलाई बोलाएर भन्यो, ‘मेनेजरलाई यहाँ तुरुन्तै पठाइदेऊ ।’

केही बेरमा मेनेजर आउँदा भए । उसलाई उपोद्घातले निर्देशन दियो–
‘त्यो पूर्वतिरको घाम लाग्ने सानो कोठा छ नि, त्यसलाई रङरोगन लगाएर चिटिक्क पार । त्यसमा कुर्सी, टेबुल, कार्पेट, कम्युटर सबै नयाँ व्यवस्था गरिदेऊ । पुरानो सामान एउटै पनि नहोस् । भित्तामा गालिबको एउटा तस्बिर होस् । बाहिर उहाँको नेमप्लेट पनि राखिदेऊ । अरू के–के चाहिन्छ, पछि मनोजजीले भन्नुहुनेछ । उहाँ अर्को हप्तादेखि यहाँ आउनुहुन्छ ।’

मेनेजर बाहिरिएपछि उसले मलाई भन्यो, ‘कोठामा लगाएको रङ सुक्न पनि समय लाग्छ । त्यसैले आइतबारदेखि मात्र काममा आउनुहोला । झ्यालबाट आकाश देखिन्छ । कविलाई मनपर्ने कोठा छ ।’

उसले घडी हेर्यो । पाँच बज्न १० मिनेट बाँकी थियो । 
‘तपाईंको साधन के छ ?’ सोध्यो ।
‘ट्याक्सीमा आएको हुँ, ट्याक्सीमै जान्छु’ भनेँ ।
‘तपार्ईंलाई अफिस आउन–जाने व्यवस्था हुन्छ, अहिले पनि यहीँको गाडीमा जानुहोला’ भन्यो ।
०००
त्यो अफिसको गाडी चढेर कोठातिर आउँदै गर्दा मैले आजैदेखि जागिर सुरु भएको अनुभूति गरेँ ।

घरमा मलाई देख्नासाथ श्रीमतीले सोधिन्, ‘भेट भयो ?’
‘भेट त भयो, तर जागिरको टुंगो भने आइतबार मात्र लाग्ने भयो । बोर्ड मिटिङ बसेर टुंगो लगाउँछन् रे !’ मैले ढाँटेँ । नढाँटूँ त छरछिमेकमा उनले हल्ला पिट्न थालिहाल्छिन् । पछि मैले जागिर छोड्नुपर्ने अवस्था आयो भने लाजको पसारो हुन्छ । यस तथ्यप्रति म पूर्ण सजग थिएँ ।

भोलिपल्ट पुरानो अफिस (प्रेस) गएँ र दुई महिनाका लागि बिदा मागेँ । बल्लबल्ल हाकिमले बिदा दिए । ‘त्यस्तो दुई–दुई महिना लाग्ने के काम पर्यो ?’ भनेर सोध्थे ।
‘काम त घरायसी हो, तर निकै तनावको काम छ’ भनेर ढाँटेँ ।
०००
आइतबार ।
चिटिक्क परेर पुगेँ म नयाँ अफिस । सुरुमा उपोद्घातलाई भेट्न मन लाग्यो । चिटमा आफ्नो नाम लेखेर सेक्रेटरीलाई दिएँ । त्यसपछि मेनेजरलाई भेटेँ । मेनेजरले मेरो कार्यकक्षमा पुर्याएर मैले गर्नुपर्ने कामबारे जानकारी दिए–

‘तपाईंको काम लेख्ने नै हो । सरले विभिन्न कार्यक्रममा बोल्ने भाषण लेख्नुपर्छ । हाम्रा उत्पादनका लागि विज्ञापनमा प्रयोग गरिने आकर्षक स्लोगन तयार गर्नुपर्छ । सरले कहिलेकाहीँ आर्थिक लेख पनि लेख्नुहुन्छ, त्यो तपाईंले नै तयार गरिदिनुपर्छ । अहिले एउटा शुभकामना मन्तव्य लेख्नुहोला । सरले पर्सि कार्यक्रममा बोल्नुपर्नेछ । त्यस कार्यक्रम निमन्त्रणापत्र यहीँ छ । उहाँका रचना प्रकाशित भएका पत्रिकाहरू यही दराजमा छन्, हेर्नुहोला । केही कुरा मिलेन वा आवश्यक पर्यो भने मलाई फोन गर्नुहोला । चिया, पानीका लागि घण्टी बजाएर माग्नुहोला । नेमप्लेटमा लेखिने नाम तपाईंको साहित्यिक नाम राख्न मन पराउनुहुन्छ कि नागरिकताको, त्यो थाहा नभएर समस्या परेको छ । अहिले नेमप्लेट बनाउने मानिस आइपुग्छ, उसलाई नाम दिनुहोला । सीडीओ कार्यालयले चिन्ने नाम हुनुपर्छ । नत्र सीडीओ कार्यालय गएर त्यो जानकारी दिएर मिलाउनुपर्छ ।’

मैले पहिला आर्थिक लेख कहिल्यै लेख्नुपरेको थिएन । यो मेरो रुचिको विषय पनि होइन । अब लेख्नुपर्ने भएकाले त्यहाँ भएका आर्थिक पत्रपत्रिका पढ्न थालेँ । त्यसमा पनि उपोद्घातका नाममा छापिएका आर्थिक लेखरचनालाई ध्यानपूर्वक हेरेँ । भाषाशैलीका दृष्टिले त मलाई आर्थिक लेख लेख्न कुनै अप्ठ्यारो देखिनँ, तर विषयवस्तुको ज्ञान त चाहियो । त्यसका लागि त प्रशस्तै अध्ययन गर्नुपर्ने भयो ।

विभिन्न स्मारिकाहरूमा उपोद्घातले दिएका शुभकामना मन्तव्यहरू रहेछन् । ती पनि पढेँ । शुभकामना मन्तव्य लेख्न कुनै माथापच्ची गर्नुपर्ने देखिनँ । पर्सिको लागि तयार गर्नुपर्ने मन्तव्य एकैछिनमा तयार गरिदिएँ । आर्थिक लेख लेख्ने काममा लाग्दा कतै आफ्नो साहित्यिक भाषाशैलीलाई पो असर गर्ने हो कि भन्ने डर पनि मनमा पस्यो ।

आज त उपोद्घातलाई सजिलै भेट्न पाइएला भन्ठानेथेँ । भेटपत्र दिएको चार घण्टा बित्दा पनि कुनै खबर आएन । सेक्रेटरीलाई फोन गरेँ, ‘सरले म आएको थाहा पाउनुभएन ?’
‘थाहा पाउनुभयो ।’ उसले दुई शब्दमा जानकारी दिई ।
म फेरि आर्थिक पत्रपत्रिका अध्ययनमै व्यस्त भएँ ।

‘सर, जाने बेला भएन ?’ ढोकाअगाडि उभिएर कसैले भन्यो । ड्राइभर रहेछ । ऊ मलाई घर पुर्याउन कुरेर बसेको रहेछ । पाँच बजिसकेको कुरा मैले ख्यालै गरिनछु ।

गाडीमा घरतिर आउँदै थिएँ, श्रीमती गौशालामा हिँड्दै गरेको देखेँ । गाडी रोक्न लगाएँ र चढाएँ उनलाई । उत्रिने ठाउँ आइपुग्न दुई मिनेट पनि लागेन । जाम नपर्नुको कमाल थियो यो । यसैबीचमा उनले इसाराले सोधिन्, के भयो ?’
मैले चोरी औँलोले ओठमा पूर्णविराम लगाएर ‘चुप लाग’ भन्ने संकेत गरेँ ।

गाडीबाट उत्रिनेबित्तिकै सोधिन्, ‘जागिर पक्का भा’को हो ? कार चढेर आउनुभयो त !’
‘टुंगो लागेको छैन । बोर्ड बसेर टुंगो लगाउनुपर्छ रे ! कहिले बोर्ड बस्ने र टुंगो लगाउने हो, थाहा छैन ।’ मैले आज पनि ढाँटेँ उनलाई ।
०००
सोमबार ।
आज पहिला उपोद्घातलाई भेट्ने योजना बनाएँ । सोचेथेँ, उसलाई भेटेर मात्र कार्यकक्षमा जान्छु । ऊ अफिस आइपुगेकै रहेनछ । भेटका लागि हिजोजस्तै आज पनि सेक्रेटरीलाई अनुरोध गरेँ, ‘सर आउनासाथ मेरो यो चिट दिनुस् र मैले हिजो पनि भेट्न नपाएको कुरा सम्झाइदिनुस् ।’
मेरो कुरा सुनेर ऊ हाँसी मात्र ।

एक घण्टापछि फोन गरेर सोधेँ, ‘सर आउनुभयो ?’
‘आउनुभयो । चिट पनि दिएकी छु । बोलाएपछि खबर गर्छु ।’
खाजा खाने ब्रेकमा गएर भनेँ, ‘खोइ, खबर गर्नुभएन त !’
‘सरले बोलाउनु भन्नुभएकै छैन ।’ उसले भनी ।
‘चिट नै हेर्नु भएन कि ?’
‘फेरि शंका गर्न थाल्नुभयो हगि ? मैले कविजीले दिएको भनेरै दिएकी छु ।’
मैले सोधेँ, ‘कृपया, फेरि सम्झाइदिनुहोस् न ।’
उसले भनी, ‘एकपल्टलाई सम्झाइदिन्छु । अति जरुरी काम हो भने तपाईं भित्र जानुहोस् न त ।’

काम जरुरी थिएन । त्यसैले भित्र जाने आँट आएन । सेक्रेटरीलाई धन्यवाद भनेर आफ्नो कार्यकक्षतिर लागेँ । कुन बेला उपोद्घातलाई भेट्न पाउने खबर आउला भनेर प्रतीक्षा गरिरहेँ । खबर आएन । सेक्रेटरीले भेट्न रोकेको भनूँ भने उसले अघि नै जरुरी काम भए भित्र जानुहोस् भन्ने नै थिइन । पहिलो दिनको व्यवहार सम्झेर उपोद्घातमाथि पनि शंका गर्न मन मानेन ।

पाँच बज्न पाँच मिनेट बाँकी हुँदा सेक्रेटरीको फोन आयो, ‘तपाईंलाई सरले बोलाउनुभएको छ ।’

ऊ मलाई नै पर्खेर बसेको रहेछ । देख्नासाथ भन्यो, ‘हिँड्नुस्, गाडीमा कुरा गर्दै जाऔँ ।’

गाडीमा बसेपछि सोध्यो, ‘तपाईंले हिजो पनि चिट पठाउनुभएको थियो । आज पनि पठाउनुभयो । त्यस्तो के अफ्ठ्यारो पर्यो ?’
‘त्यस्तो केही होइन, हजुरलाई दर्शन गर्न मन लागेको मात्र हो । नयाँ गजल पनि लेखेको थिएँ, त्यो पनि सुनाउन मन लागेर हो ।’

मेरो कुरा उसलाई मन परेनछ । उसले तुजुकयुक्त स्वरमा भन्यो, ‘अफिसमा मैले कर्मचारीले लेखेका गजल सुन्दै हिँड्नु हुँदैन मनोजजी । यसो गर्न थालेँ भने भोलि मैले पनि तपाईंले जस्तै जागिर खोज्दै हिँड्नुपर्छ । मैले सबै कर्मचारीलाई उत्तिकै माया गर्नुपर्छ । एउटालाई गफ गर्ने समय दिने, अर्कोलाई नदिने गर्नु हुँदैन । अरू कर्मचारीहरूलाई पनि त मसँग कुरा गर्न रहर लाग्ला । मेरै मेनेजरलाई म फाल्तु समय दिन्नँ । तपाईंलाई कसरी दिने ? अफिस बाहिर मात्र म तपाईंको रचनाको फ्यान हुँ । अफिसभित्र म मालिक र तपाईं कर्मचारी हो । यो कुरा तपाईंले बुझिदिनुपर्छ ।’

मलाई भित्रभित्र त खपी नसक्नुको रिस उठ्यो । बाहिर भने सकभर त्यो रिस नदेखाउने प्रयत्न गरेँ । उसले मेरो चित्त नबुझेको कुरो बुझ्यो क्यार, अलि नरम भएर प्रसंगलाई अन्तै मोड्यो–
‘यसपालि रेडियो नेपालमा हुने गीत प्रतियोगितामा म प्रथम हुनुपर्छ । गीत तपाईं लेखिदिनुहोस् । त्यहाँ को–को निर्णायक हुन्छन्, तिनीहरू कसले भनेको मान्छन्, त्यसको जानकारी मलाई दिनुहोला । त्यसपछि तिनलाई प्रभावमा पार्ने काम मेरो । पैसाको शक्ति तपाईंले बुझ्नुभएकै छैन ।’

मलाई उसको कुरा सुनेर बान्ता आउलाजस्तो भयो । उसको मुख लोपार्न मन लाग्यो, तर त्यस्तो अशिष्टता प्रकट गरिनँ । टाउको हल्लाइदिएँ मात्र ।

त्यसपछि उसले आफूले गरेका संघर्षका रामकहानी सुनाउन थाल्यो । मलाई भने उसका कुरा सुन्नमा कुनै रुचि थिएन, बरु झ्यालबाहिरका दृश्यमा रुचि थियो ।

गौशाला पुगेपछि उसले ड्राइभरलाई गाडी रोक्न लगायो र भन्यो, ‘कविजी, अहिले मलाई हतार छ, साथीलाई ‘सी अफ’ गर्न एयरपोर्ट जानु छ । तपाईं यहीँ उत्रिनुहोला ।’

अघि गाडीमा पोख्न नसकेको रिस अब बाटामा भुत्भुताउँदै पोख्न थालेँ, ‘मुजी उपोद्घात ! तैँले के सम्झेको मलाई ? पैसाले किन्न खोजेको ? तेरो नाममा भएको सबै पैसा दिन्छु भने पनि म तेरो लागि गीत लेख्ने छैन । म लेखक हुँ, लेखनदास होइन ।’

घरभित्र छिर्दै थिएँ, प्रेसबाट विपीन शर्माको फोन आयो, ‘मनोजजी, भोलि एकदुई घण्टाका लागि प्रेस आउन सक्नुहुन्छ  ?’
मैले भनेँ, ‘भोलिदेखि म कन्टिन्यु अफिस नै आउँछु । मेरो घरायसी काम अहिले नहुने भयो ।’
मेरो कुरा सुनेर श्रीमतीले सोधिन्, ‘तपाईंले घरायसी काम भनेको के हो ?’
‘पुरानै अफिसमा फेरि जानुपर्ने भयो । त्यहाँ मैले घरायसी काम छ भनेर ढाँटेको थिएँ ।’
‘यता जागिर नहुने भयो ?’
‘बोर्डले अहिलेलाई नयाँ कर्मचारी नराख्ने निर्णय गरेछ ।’
उनले भनिन्, ‘उपोद्घातलाई चाहिँ भेट्दै गर्नुहोला ।’
‘उपोद्सँग विश्वास भएको भए पो भेट्दै गर्नू, घात जोडिएको छ ।’
उनी झनक्क भइन्, ‘जसलाई फकाएर जागिरे हुनुपरेको छ, उसैको नाममाथि बिल्ला नहान्नुस् । कसैले यो कुरा सुनेर उसलाई सुनाइदिए भने !’

श्रीमती जागिर भएन भनेर दुःखी छिन् । म जागिर नगर्ने निर्णयले खुसी । श्रीमतीले साँचो कुरा थाहा पाएका दिन के भन्लिन् !

अब म कुनै पनि फ्यानकहाँ जागिर माग्न नजाने निष्कर्षमा पुगेँ । उपोद्घातको त अनुहार पनि हेर्दिनँ । त्यति रिस उठ्यो उससँग । ल्यापटपमा राजीनामा टाइप गर्न मन लाग्यो । तत्कालै सोचेँ, नियुक्तिपत्र नै लिएको छैन, केको राजिनामा ! केही त लेख्नैपर्‍यो !

उपोद्घात,
तपाईंलाई लेखक र लेखनदासको अन्तर थाहा रहेनछ । आइन्दा मेरो नाम कुनै पनि अन्तर्वार्तामा नलिनुहोला । तपाईं मेरो नाम उच्चारण गर्न योग्य पात्र हुनुहुँदो रहेनछ ।
तपाईंलाई घृणा गर्ने
मनोजादित्य न्यौपाने ।

यति लेखिसकेपछि मैले अनुवाद गरेको शरद जोशीको ‘कला र प्रतिबद्धता’ कथा पनि त्यसमुनि पेस्ट गरेँ । सेक्रेटरीको फोन नम्बर मेनेजरसँग मागेँ । सेक्रेटरीसँग उसको र उपोद्घातका इमेल ठेगाना मागेँ र चिठी र कथा पठाएँ । हेरेर रन्थनियोस् न मुजी तिरिमिरी झ्याइँ हुने गरी !
०००
भोलिपल्ट बिहान भण्डारखाल जंगलमा गएँ ।
कोइली आई र सोधी, ‘के छ तिम्रो हालखबर ?
‘हिजोसम्म बेठिक थियो, आज ठिक छु ।’ मैले भनेँ ।
कोइलीले जिस्क्याई, ‘उपोद्घातलाई भेट्न जाँदैनौ ?’
‘ए ! तिमी अन्त कतै नगएर मेरो चियो गरिरहेकी थियौ ?’ म पनि जिस्किएँ ।
‘शरद जोशीको कथाकी पात्र पो हुँ त । कला र प्रतिबद्धताको कुरा जहाँ–जहाँ पेचिलो बन्छ, म त्यहाँ हुन्छु ।’

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ७, २०७९  ०५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro