site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शशांकको नजरमा बुवा : कांग्रेसले बीपीको बाटो छोडिसक्यो 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपालको लोकतान्त्रिक संघर्षका अगुवा बीपी कोइरालाको पार्थिव अवसान भएको ४० वर्ष पुगेको छ । नेपालमा स्वतन्त्रताको अवाज उठाएबापत मृत्युदण्ड दिइरहेको समयमा ३२ वर्षकै उमेरमा जहानिया राणा शासनविरुद्ध आन्दोलनको बिगुल फुक्ने बीपी कोइराला नेपाली स्वतन्त्र चेतनाका प्रतीकसमेत हुन् । उनी ३६ वर्षको उमेरमा जनक्रान्तिको नेतृत्व गरेर जहानियाँ राणा शासन ढालेर गृहमन्त्रीको जिम्मेवारीमा पुगेका थिए । बीपी कोइराला २०१५ सालको पहिलो संसदीय निर्वाचनमा नेपाली कांग्रेस पार्टीलाई दुईतिहाई स्थान जिताएर नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्रीसमेत बनेका थिए । राज्यको सर्वोच्च जननिर्वाचित पदको जिम्मेवारी सम्हाले पनि बीपीको जीवन भने संघर्षै संघर्षमा गु्ज्रियो । बीपी पुत्र डा. शशांक बीपीको संघर्ष नेपाली समाजका लागि सधँै प्रेरणको स्रोत बनेको बताउँछन् । 

“केही मान्छेहरु संघर्ष गरेर एक ठाउँमा पुगेपछि विश्राम गर्छन् । तर, बीपीले कहिल्यै विश्राम गर्नुभएन,” शशांक भन्छन्, “नेतृत्वमा पुग्नुभयो, प्रधानमन्त्री बन्नुभयो । धेरै परिवर्तन उहाँले ल्याउनुभयो । प्रतिपक्षमा हुँदा निरन्तर संघर्ष गरिरहनुभयो । कहिले शान्तिपूर्ण संघर्ष त हतियार उठाउन पनि उहाँ पछि पर्नुभएन ।” 

शशांकको बुझाइमा बीपीको जीवनको शब्दकोशमा विश्राम भन्ने शब्दै परेन । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

“उहाँको जीवनमा विश्राम भन्ने शब्द शब्दकोषमा नै परेन । म आराम गर्छु भन्ने भावना उहाँमा कहिल्यै उत्पन्न भएन । निरन्तर लागिरहनुभयो,” शशांकले सम्झिए, “एउटा त उहाँ क्यान्सरविरुद्धको संघर्षमा हुनुहुन्थ्यो । अर्को राजनीतिमा त्यत्रा काण्डहरु भए । उहाँ विचलित हुनुभएन । उहाँको अनुहारमा कहिल्यै पनि दुःख र थकान मैले देखिन ।”

हुन पनि देशको प्रधानमन्त्रीमा बहाल व्यक्तिलाई अपदस्थ गरेर सिधै जेल चलान गरिएको थियो । बीपीलाई जेल हालेपछि राजा महेन्द्रले सुरु गरेको पञ्चायती व्यवस्थाका पक्षमा छु भन्न बीपीलाई अनेक दबाब सहनुपरेको थियो । पञ्चायतको समर्थन गर्नका लागि बीपीलाई मनोवैज्ञानिक दबाब दिने र भावनामा खेल्ने प्रयाससमेत भएको शशांक सम्झन्छन् । 

Royal Enfield Island Ad

“बीपीलाई सुन्दरीजल जेल राखेको थियो । साल त मैले बिर्सेँ । हामी चाबहिल बस्थ्यौँ । एकरात एउटा जीप आयो आर्मीको । बीपीलाई लिएर । बीपीलाई ल्याएर घरमा छोड्ने भनेर तर तपाईंले यहाँ दस्तखत गर्नुपर्छ भनेर भन्यो । म पञ्चायती व्यवस्था मान्छु वा केही थियो होला,” शशांकले भने, “बीपीले भन्नुभयो खुट्टा पनि बाहिर टेक्दिन मलाई फिर्ता लिएर जानुहोस् । त्यो किन ल्याएको भने मनोवैज्ञानिक असर पार्न । घर आइसक्यो वा अब जान्छु भनेर हस्ताक्षर गर्छ भनेर त्यो मनोविज्ञानमा टेकेर उनीहरुले ल्याए तर बीपीले मान्नुभएन । त्यो अठोट थियो बीपीको ।”

बीपीलाई एउटा कुरा सम्झौता गर्नुस् सारा चिज दिन्छु भन्ने राजा महेन्द्रको पनि दबाब आउँथ्यो । तर, बीपी यति प्रष्ट हुनुहुन्थ्यो कि आफ्नो ‘कन्भिक्सन’मा कसैले डगमगाउन सक्दैनथ्यो । 

बीपीको अवसान भएको ४० वर्ष वितिसक्दा पनि राजनीति उनकै सेरोफेरोमा घुमिरहेको छ । धेरै कुरा बिग्रँदै पनि गएका छन् ।

बीपीपछि धेरै जना प्रधानमन्त्री देशले पाएको छ । यसक्रममा संस्थागत संचनाहरुको लोकतान्त्रिक चरित्र ओरालो यात्रामा छ । स्वायत्त संस्थाहरुले आफ्नो साख गुमाइरहेका छन् । तर, बीपीले ल्याएको भन्दा नयाँ विचार कसैले दिनसकेको छैन । 

बीपीको समयमा उनलाई भेटेर, कुरा गरेरमात्र पनि राजनीतिमा लाग्नेहरुको लहर चल्ने गरेको थियो । तर, बीपीले युवाहरुलाई सिधै राजनीतिमा लाग्न कहिल्यै प्रेरित गरेनन् । 

“उहाँ चिन्तित हुनुनुहन्थ्यो युवाको भविष्यलाई लिएर,” शशांक बीपीलाई सम्झँदै भन्छन्, “उहाँ युवाहरुलाई भन्नुहुन्थ्यो राजनीति गर्ने होइन । पहिले आफ्नो पढाइ सम्पन्न गर अनि राजनीति गर्ने नगर्ने भनेर निर्णय गर । राजनीतिमा सोझै होमिनुहुँदैन भनेर भन्नुहुन्थ्यो ।” पेसाकर्मीहरुलाई पनि बीपीले प्रत्यक्ष राजनीतिमा नआउन सुझाव दिने गर्नुभएको थियो । ‘तपार्इँ आफ्नो पेसामा अब्बल बनिदिनुस्, त्यो पेसाको धर्मनिर्वाह गरिदनुस्, त्यसले प्रजातन्त्र बलियो बनाउन सहयोग पुग्छ’ भन्ने बीपी भन्ने गर्नुहुन्थ्यो । 
जन्मिएको १० वर्षमै जीवनको संघर्ष सुरु गरेका बीपीले त्यो संघर्षबाट विश्राम लिनेबारे कहिल्यै सोचेनन् । देशका जनता र पार्टीका नेता कार्यकर्तालाई छोराछोरी र परिवारका सदस्य मान्ने बीपीले शशांकको साटो सामान्य परिवारकी छोरीलाई डाक्टर पढ्न सिफारिस गरेको घटनाले शशांकलाई धेरै ठूलो पाठ पढाएको छ । 

“बीपीको भर्खरै अप्रेसन भएको थियो पूरा ठीक पनि हुनुभएको थिएन । मैले मेडिकल साइन्स पढ्नका लागि एम्समा फर्म पनि भरेको थिएँ, त्यही समयमा बीपीलाई अस्पतालमै पुगेर त्यहाँका अधिकारीले सोधेका थिए “एउटा कोटा छ कसलाई गरौँ?” । मलाई भन्नुहुन्छ भनेर म ढुक्क थिएँ तर, बीपीले त (नाम त लिन्न) उनकी छोरीलाई गरिदिनुस् भन्नुभयो ” आफ्नै जीवनको घटना सम्झदै शशांक भन्छन्, “बीपीलाई पूरा सन्चो भइसकेका थिएन । उहाँलाई चित्त दुख्नेगरी केही भन्नु हुँदैन भन्नेमा म सावधान नै थिए । तर, सहनै सकिन र आँखाभरी आँसु पारेर दुःख प्रकट गरे ।” उनले त्यस्तो निर्णय किन गरेको भन्दै बीपीसँग दुःख पोखेको पनि स्मरण गरे । 

“मैले ७५ प्रतिशत अंक ल्याएको छु । तपाईँले सिफारिस गरेको केटीको जम्मा ४३ प्रतिशत छ, किन सिफारिस गर्नुभयो उसलाई,” आक्रोश थाम्न नसकेर बीपीलाई शशांकले सोधेका थिए । बीपीले उनले तैँलेजस्तो सुविधा पाएकी छैनन् । त्यसैले उनको नाम सिफारिस गरेको भन्नासाथ शशांकले थप आक्रोशित हुँदै बीपीलाई प्रश्न गरेका थिए ।  

“मैले ७५ प्रतिशत पढेर ल्याएको हुँ तपाईको छोरा भएकाले पाएको होइन । तपाईको छोरो भएकोमा मलाई अन्याय हुने हो ?,” शशांकको कडा प्रश्नपछि बीपीले पूरै ठण्डा हुनेगरी सम्झाए । 

“तँ मेरो छोरा भएर जन्मिस् र पटनाको सेन्ट जेभियर्समा पढ्न पाइस्, त्यति गर्दा ७५ प्रतिशत आएको छ,” बीपीको भनाइ सम्झदै शशांकले भने, “त्यो छोरीले गाउँको स्कुलमा पढेर ४३ प्रतिशत ल्याएकी हुन् । उनले तेरो जस्तो ठाउँमा पढ्न पाएको भए अझ धेरै अंक ल्याउन र अझ राम्रो गर्न सक्थिन् ।” 

बीपीले सम्झाएपछि शशांकको आक्रोश शान्त भयो । तर, पढ्ने हुटहुटीले भने उनलाई छोडेन । 

सधै संघर्ष गर्ने बीपीले जीवनमा कहिल्यै हार मानेनन् । शशांकलाई पनि बीपीले हारेको जस्तो लागिरहेको छैन । 

“उहाँले कहीँ पनि हार्नुभएको अहिलेसम्म मलाई सम्झना छैन,” दुईतिहाइ बहुमतको प्रधानमन्त्री गुमाउनु, सत्याग्रह गरेर ल्याएको संसद् गुम्यो, त्यसलाई हार मान्न मिल्दैन भन्ने प्रश्नमा शशांकले भने, “बीपीको हार हैन, त्यो त दुर्भाग्य हो देशका लागि ठूलो दुर्भाग्य ।” शशांक त्यही घटनाले देशलाई अपूरणीय क्षति पु¥याएको मान्छन् । 

“त्यसबेला प्रजातन्त्र दिगो भएको भए अहिलेसम्म धेरै परिवर्तन आइसक्थ्यो,” शशांकले भने, “०१७ सालको घटना नभएको भए नेपालमा यति धेरै परिवर्तन भइसक्थ्यो कि हामी त मध्यम आयको मुलुकमा सूचीकृत भएका हुन्थ्यौँ ।” 

जीवनभर संघर्ष गरेका बीपीले जीवनको अन्तिम सास लिँदासम्मै संघर्षलाई छोडेनन् । संघर्षपूर्ण जीवनमा पनि आदर्शपूर्ण तरिकाले जिउने कलाले नै बीपीले धेरै अनुयायी पाएको जस्तो शशांकलाई लाग्छ । 

“बीपीले आफ्नो जीवनभर जनताको सेवा गर्नुभयो, उहाँले कहिल्यै पनि आफ्नो घर बनाउनुभएन । निजी घर कहिल्यै पनि भएन । किनभने उहाँसँग घरगृहस्थी सम्हाल्ने समय नै थिएन । सोह्र वर्षदेखि अन्तिम सास फेर्दासम्म उहाँले लामो संघर्षमय जीवन बिताउनु भयो । भारत छोडो अभियानमा ३ वर्ष हजारीबाग जेलमा बस्नुभयो । भारत स्वतन्त्र भएपछि यहाँ पनि राणाविरुद्ध संघर्ष गर्नुभयो । उहाँको जीवन भनेको संघर्ष नै संघर्षको जीवन हो,” शशांक भन्छन्, “सायद त्यही भएर उहाँसँग मानिसहरु आकर्षित भएका हुन् ।” नेपाल र भारतमा गरी करिव १४ वर्षसम्म जेल बसेका बीपी जनताका अधिकारको राजनीतिक आन्दोलनलाई सधैँ सँगै लिएर हिड्ने व्यक्ति थिए । 

“उहाँ कुनै भ्रष्टाचार वा अपराध गरेर जेल त बस्नुभएको हैन नि ! राजनीतिक कारणबाट मात्र उहाँ जेल बस्नुभएको हो, त्यसैबाट उहाँसँग धेरै मानिस आकर्षित भएका हुन् भन्ने मलाई लाग्छ,” शशांकले भने । 

बीपीले नेपाली समाजलाई धेरै कुरा छोडेर गए भन्दै छोरा डा. शशांक तिनलाई लिएर हिड्न सके समाजलाई राम्रै हुने बताउँछन् । 

“राजनीति गर्ने भए नैतिकतालाई समातेर गर्नुपर्छ, चरित्रवान हुनुपर्छ भनेर सिकाउनुयो । उहाँसँग नैतिकता र चरित्रवान व्यक्तित्व थियो,” शशांकले भने, “खासगरी राजनीति आदर्शमा टेकेर गर्नुभयो । उहाँको स्पष्ट दिशा थियो, सोच पनि स्पष्ट थियो । राजनीति किन, के र कसका लागि गर्ने भन्ने उहाँमा स्पष्ट धारणा थियो । बीपीको जीवन संघर्षमय भयो । उहाँको जीवनबाट धेरै कुरा र पाठ सिक्नुपर्छ भन्ने मलाई लागेको छ ।” शशांक भन्छन् – उनले बीपीले सोचेजस्तो कांग्रेस भने बन्न नसकेको अनुभव गरिरहेका छन् ।

“मलाई सोध्नुहुन्छ भने कांग्रेस बीपीले देखाएको बाटोमा हिँडेजस्तो लाग्दैन,” शशांकले भने, “देशमा अहिले भ्रष्टाचार बढेको छ तर उति बेला भ्रष्टचार भनेको कसैलाई थाहा थिएन । आजकल हेर्नु त ! मन्त्री बन्न र बनेपछि पैसा कमाउन होडवाजी नै चल्छ । बीपीको बाटो कांग्रेसले छोडिसक्यो ।” 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro