काठमाडौं । आज साउन ६ गते शुक्रवार । नेपाली राजनीतिका अथक योद्धा बीपी कोइरालाको स्मृती दिवस ।
वि.सं. १९७१ भाद्र २४ गते जन्मिएका विश्वेश्वरप्रसाद कोइराला (बीपी)को २०३९ साउन ६ गते देहावसान भएको थियो । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता कोइरालाले जिन्दगीको अधिकांश समय जेल र निर्वासनमा बितेको थियो । भारतीय स्वतन्त्रता आन्दोलनबाट राजनीतिमा होमिएका बीपीले नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनाका लागि शान्तिपूर्ण र सशस्त्र संघर्ष गरेका थिए ।
बीपीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि भारतमा निर्वासित जीवन बिताउनुका साथै लामो समय जेलमा बिताए । सोमध्ये काठमाडौंको सुन्दरीजलमा करिब एक दशक बीपीले जेल जीवन बिताएका थिए ।
उनै बीपीले जीवनको एक दशक बिताएको सुन्दरीजल जेललाई अहिले बीपी संग्रहालयको रूपमा विकास गरिएको छ ।
प्रजातन्त्र स्थापनाको इतिहास सुरक्षित गर्न लामो समयको अथक प्रयासपश्चात् २०६१ भदौ २४ गते सुन्दरीजल जेललाई बीपी संग्रहालयमा रूपान्तरण गरिएको हो । उक्तदिन नेपाली कांग्रेसका तत्कालीन सभापति तथा बीपीका भाइ गिरिजाप्रसाद कोइरालाले संग्रहालयको उद्घाटन गरेका थिए ।
जेललाई प्रजातन्त्र स्थापनाको तीर्थ बनाउन आफूले अथक मिहेनत र प्रयास गरेको कांग्रेस नेता तथा बीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल बताउँछन् ।
“सेनाको अधीनमा रहेको जग्गा संग्राहलयको नाममा ल्याउन सहज थिएन । हामीले प्रयत्न र संघर्ष लामै गरेका छौँ,” बीपी स्मृति दिवसको अवसरमा उनले बाह्रखरीसँग भने ।
जम्मा २३ रोपनी जग्गामा फैलिएको संग्रहालयमा बीपीले नेपाल र भारतमा बसोबास गर्दाका प्रयोग गरेका सामग्रीहरू संकलन र सुरक्षा गर्ने प्रयास गरिएको छ । गैँडाकोट नामाकरण भएको स्थानलाई संग्राहालय बनाउन सहज नभएको भन्दै पोखरेल सेनाबाट जसोतसो उम्काएर जीर्ण अवस्थामा रहेको स्थललाई बीपी संग्रहालयको रूपमा परिणत गरेर इतिहास जोगाउने प्रयत्न भएको बताउँछन् ।
“यो जग्गा संग्रहालयकै नाममा छ । हामीले बीपीले पुस्तकमा लेखेअनुसार नै यसलाई निर्माण गरेका छौँ । यसले इतिहासलाई सम्मान गर्छ र प्रजातन्त्र प्रेमी जनतालाई इतिहास जान्न मद्दत होस् भन्ने उद्देश्य हो,” उनी भन्छन् ।
विसं २०६१ बाट सञ्चालनमा आएको संग्रहालय २०७२ मा आएको भूकम्पले भत्कायो । सो क्रममा बीपीका कैयौँ अमूल्य तस्बिरहरू हराएर गएकोमा चिन्ता पोखरेललाई छ । त्यसपश्चात् राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले यसको जिर्णेद्धार गरिरहेको छ । तर, यो पूर्ण रूपमा सञ्चालनमा आउन भने अझै समय लाग्ने देखिन्छ । करिव एक दर्जन कर्मचारी राखेर संग्रहालय सञ्चालन भइरहेको छ । यसको सञ्चालनका लागि नेपाल सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गर्छ । तर, यतिमात्र पर्याप्त छैन । स्थानीय सरकार अर्थात् गोकणेश्वर नगरपालिका र केही हदसम्म प्रदेश सरकारले पनि रकम विनियोजन गर्दा समेत संग्रहालय सञ्चालनमा समस्या भएको पोखरेल बताउँछन् ।
“विडम्बना यो वर्ष सरकारले बजेटमा हामीलाई समेटेको छैन । कांग्रेस सरकार हुँदा त यस्तो अवस्था छ,” उनी भन्छन्,“भूकम्प अगाडी भ्रमण गर्न आउनेसँग १० रूपैयाँ उठाउने गथ्र्याैँ । अहिले बाहिरबाट आउनेका लागि हामीले खुला गरेका छैनौ । निर्माण कार्य जारी छ ।”
संग्रहालयमा बीपीका सामानहरू भारत तथा नेपालका भूभागहरू मोरङ, सुनसरी र बनारसदेखिका सामग्रीहरू जुटाइएको छ । बीपीले प्रयोग गरेका धेरै सामग्री संग्रहालयमा छन् ।
यहाँ नेपाली कांग्रेसले २०३० जेठ २९ मा विराटनगरबाट अपहरण गरेको विमान पनि राखिएको छ । यस्तै बीपीले चढ्ने गाडी, राणा शासन अन्त्यका लागि प्रयोग भएको ट्याक्टरबा बनाइएको ट्यांक तथा हातहतियार पनि राखिएको छ । बीपीले लेखेका पुस्तक, लगाएका लुगा, विराटनगर र अस्पताल बस्दा प्रयोग भएको ओछ्यान पनि राखिएको छ । यस्तै, बीपीले साहित्य लेख्न प्रयोग गर्ने कलम, लगाएका चप्पल, सिगार तथा बीपीको अस्तुसमेत राखिएको छ । संग्रहालयमा २००७ मा नेपाली कांग्रेसले गरेको क्रान्तिमा प्रयोग भएका तोप र ट्यांक पनि राखिएको छ ।
सुन्दरीजल बन्दीगृहमा बीपी मात्र बसेका थिएनन् । यहाँ नेताहरू गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र, दिवानसिंह राई, योगेन्द्रमान शेरचन, जमानसिंह गुरुङ र प्रेमराज आङ्दम्बे पनि बीपीसँगै बसेका थिए ।
संग्रहालयमा यी नेताहरूले प्रयोग गरेका कोठाहरूमा पनि उनीहरूले प्रयोग गरेका सरसामान उपलब्ध भएसम्म राख्ने प्रयास भइरहेको पोखरेलले बाह्रखरीसँग बताए ।
बीपी संग्रहालयका विषयमा बाह्रखरीका रोमन आचार्य, कुञ्जरमणि भट्टराई र हरिशजंग क्षेत्रीले भिडियो सामग्री तयार पारेका छन् । उक्त भिडियो सामग्री यहाँ प्रस्तुत गरिएको छ –