काठमाडौं । जारी ‘ट्रान्सफर विन्डो’मा अनुबन्ध गरेका डर्विन नुनेजले चार गोल गरेपछि लिभरपुलले गए राति जर्मन बुन्डेसलिगाको क्लब आरबी लाइपजिगलाई ५–० ले हराएको छ । जितपछि लिभरपुलका प्रशिक्षक योर्गान क्लोपले नुनेजका लागि ‘महत्त्वपूर्ण रात’ सावित भएको बताए ।
लिभरपुलले मोहम्मद सालाहको गोलबाट आठौँ मिनेटमा अग्रता लिएको थियो ।
२२ वर्षीय नुनेजले सबै चार गोल दोस्रो हाफमा गरेका थिए । उनले पहिलो गोल ४८औँ मिनेटमा पेनाल्टीमा गरेका थिए । ५१औँ मिनेटमा दोस्रो गोल गरेका नुनेजले ६८औँ मिनेटमा ह्याट्रिक गरेका थिए । उनले चौथो गोल ९०औँ मिनेटमा गरेका थिए ।
नुनेज बेन्फिकाबाट ६ करोड ४० लाख पाउन्डमा लिभरपुलसँग अनुबन्ध भएका थिए । उनलाई लिभरपुल समर्थकहरूले नजिकबाट नियालिरहेका छन् । कतिपयले उनलाई अनुबन्ध गर्दा आलोचना पनि गरेका थिए ।
“सबै छलफलहरू रोक्नका लागि यो स्पष्ट रूपमा उत्तम उपाय हो,” लिभरपुलका प्रशिक्षक क्लोपले भने, “हामी सधैँ सोच्द छौँ कि धेरै पैसा तिर्यो भने खेलाडीहरूले कुनै दबाब महसुस गर्दैनन् । सबै पूर्णतया सामान्य मानव हुन् । त्यसैले सबैको आ–आफ्नै धारणा हुनसक्छन् । यस पुस्ताका खेलाडीहरूले सामाजिक सञ्जाल पढ्छन् र साँच्चै स्मार्ट छन् । हामीसँग के थियो, त्योभन्दा नुनेज फरक स्ट्राइकर हुन् । उनी वास्तवमै राम्रो खेलाडी हुन् ।’’
लिभरपुलले आउँदो बुधबार सिजनपूर्वको अर्को खेलमा जर्मनीकै आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि शनिबार वेम्बलीमा कम्युनिटी सिल्डका लागि लिग विजेता म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ ।