सरल अर्थमा आत्मालाई जगत्को मूल मान्ने आदर्शवादी विचारलाई अध्यात्मवाद भन्ने चलन छ । यसअनुसार आत्मा धेरै महत्त्वपूर्ण हुन्छ ।
यसको शरीरभन्दा स्वतन्त्र अस्तित्व हुन्छ । भौतिकवादले यसलाई मान्दैन । यसका दृष्टिमा प्रकृतिमा पदार्थ नै मूल द्रव्य हो । हेर्न, छुन वा अनुभव गर्न सकिने सबै वस्तुको भौतिक क्रियाहरूको परिणाम हुन्छ । यसमा मानसिक तत्त्व वा चेतना पनि पर्छ ।
जे कुरा अस्तित्वमा छ त्यो अन्ततः भौतिक हो । भौतिकवादीहरूले कुनै पनि ठोस प्रमाण या गणितीयरूपमा सिद्ध गर्न सकिने विषयमा मात्र विश्वास राख्छन् । त्यसैले दुवै थरीबीच विवाद छ ।
सैद्धान्तिक विषयवस्तुमा आफ्नो दृष्टिकोण स्पष्ट गर्न सधैँ तयार रहने बीपी कोइरालाले अध्यात्मवाद र भौतिकवादबीचको विवादमा पनि आफ्नो कित्ता स्पष्ट गर्न खोजेको देखिन्छ ।
बीपीले आफूलाई भौतिकवादी विचारकै व्यक्ति मानेका छन् । प्रसिद्ध दार्शनिक कार्ल माक्र्सको द्वन्द्वात्मक भौतिकवाद भौतिकवादी चिन्तनमा प्रख्यात रहेको छ । बीपी यसबारे प्रशस्त जानकार देखिन्छन् । तर, आफ्नो प्रवृत्ति सायद आध्यात्मिक नै हो भन्ने उनलाई लाग्छ । आफ्नो बुद्धि चक्षु भौतिकवादको जगतमा कहिले उघ्रियो भन्ने बारेमा उनी स्पष्ट छन् ।
उनी मेट्रिकका छात्र थिए । गर्मीको छुट्टि बिताएर भारतको बम्बईबाट कासी फर्कँदै गर्दा रेलमा उनको परिचय एकजना कम्युनिस्टसँग हुन गयो । ती कम्युनिस्ट बम्बईबाट मेरठ आइरहेका थिए । उनले बीपीसँग आफूलाई डाँगे भनेर चिनाएका थिए । उनीसँग कम्युनिस्ट पार्टीको सदस्य भएको प्रमाण पनि थियो ।
एउटा कलिलो छात्रकै रूपमा भएपनि त्यस बेलासम्ममा भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख राजनीतिक तथा आध्यात्मिक नेता महात्मा गान्धीको विचारबाट बीपी प्रभावित भइसकेका थिए । उनी टोल्सटोय, जन रस्किन जस्ता लेखक तथा ‘रोमान्टिक एनार्किस्टिक’ का विचारहरूप्रति पनि आकर्षित थिए । बाल्टर स्कट तथा लर्ड बायरनजस्तै प्रसिद्ध रोमान्टिक लेखक मानिने भिक्टर ह्युगो बीपीका प्रिय उपन्यासकार थिए ।
स्कुलको विद्यार्थीका रूपमा उनले यी सबै लेखक र रहस्यवादी ग्रन्थकारहरूको विचार कति बुझेका थिए वा थिएनन्, त्यो आफ्नो ठाउँमा छ । तर, बीपीले भनेका छन् – “म जुन पारिवारिक वातावरणमा तबसम्म हुर्किँदै आएको थिएँ त्यसमा यिनीहरूले भनेका कुराहरूले मेरो हृदयको तारबाट सहानुभूतिको ध्वनि झिक्थे ।”
यद्यपि, यो सानो भेटमै डाँगेले बीपीलाई प्रशस्त प्रभावित गरे । उनले लेखेका छन्ः “डाँगेले मेरो आँखाबाट गान्धीवादको जालो झिकिदिएर फ्याँकेको जस्तो गर्यो । मलाई लाग्यो, मैले समाज र मानिसलाई एउटा नूतन र वास्तविक प्रकाशमा फेरिदेखि देख्न थालेँ – कुइरो काटिएपछि छर्लङ्ग भएको पृथ्वीजस्तो ।”
यसरी रेलगाडीबाट बीपीको साम्यवादी चिन्तन सुरु भएको थियो । डाँगेकै सूत्रका कारणले बीपी कासीको हिन्दु विश्वविद्यालयको कम्युनिस्ट सेलका मानिसहरूसँग आबद्ध हुन पुगेको बीपीको भनाइ छ ।
उनी भन्छन्– “त्योभन्दा पहिले म पनि गान्धीवादी थिएँ । कम्युनिस्टहरूको संगतले हठात् एउटा नयाँ लोकमा मेरो आँखा खुल्यो, जुन लोकमा मानौ यावत् कुराहरू स्पष्ट र धूममुक्त थिए । बुद्धिले बडो उत्साहकासाथ भौतिकवादलाई ग्रहण गर्यो । र, त्यसरी म भौतिकवादी हुँदै गएँ । र आज म आफूलाई द्विविधारहित मनले भौतिकवादी भनी स्वीकार गर्छु ।”
सन् १९६३ को मध्यमा आइपुग्दा बीपीमा आध्यात्मिकताको पहुँच बढी सकेको देखिन्छ । भौतिकवादी भए पनि अब बीपी सायद संस्कारबाट मुक्त हुन नसकेर हो या अरू कुनै कारणबाट होस् वा उमेर छिप्पिँदै गएकोले होस्, आफ्नो प्रवृत्ति आध्यात्मिक नै भएको उल्लेख गर्छन् ।
“म आध्यात्मवादी (आत्मवादी) छैन; तर आध्यात्मिक प्रवृत्तिको निश्चय नै छु । चेतन मन र बुद्धिले स्वीकार नगरे पनि जीवनका कष्टमय घडीमा मलाई आफ्नो नियतिमाथि भर हुन्छ । अन्धकार रात्रिमा साँपहरू भएको बाटोमा हिँड्दा मृत्युभयले मलाई चिन्तित पाथ्र्याे । तर म मरी नै हाल्छु भन्ने विश्वास मलाई हुँदैन थियो । क्यान्सरको रोगले पीडित हुँदा पनि, मृत्युको सामीप्य बोध हुँदाहुँदै पनि, म वास्तवमा मर्दिन भन्ने विश्वास जबरदस्त किसिमबाट ममा जागिरह्यो । राजनीतिमा कठिन घडीमा त्यस्तै विश्वास मलाई आफ्नो नियतिमा हुन्छ । परिणाम असल छ भन्ने विश्वास – जब कि परिस्थिति कुनै प्रकारले पनि अनुकूल देखिँदैन, तर्कसंगत लाग्दैन– आध्यात्मिकताको लक्षण हो मानिसको प्रवृत्तिमा ।”
बीपीको प्रवृत्तिमा देखिएको यो कमलोपना केबल प्रवृत्तिमात्र हो या अध्यात्मवाद ? अझ बुझ्नुपर्ने हुन्छ ।
‘जेल जर्नल’मा बीपीले मदालसा र पिनाकीबाबुलाई स्नेहवत सम्झिएका छन् । दुवैको सम्बन्धमा गहिराइ छ । आफूलाई आध्यात्मिकतापट्टि दोस्रो चोटि चाख लगाउने व्यक्ति मदालसा भएको बीपीको भनाइ छ ।
मदालसाले जेलभित्र एक्लो हुनुको अवसरका बारेमा पनि टिप्पणी गरेकी थिइन् । बीपी भन्छन्ः “उनको तर्कले त्यसबखतको मेरो उनीप्रतिको अत्यन्त अनुकूल मनस्थितिमा, स्वाभाविकतासँग मलाई प्रभाव पार्यो र मेरो विचारमा एकचोटि फेरि हलचल ल्यायो । यहाँ जेलमा एक्लै बसेर यी सब कुराहरू सम्झिन्छु र मनमा द्वन्द्व हुन्छ भौतिकवाद र अध्यात्मवादको बीच । म अहिले पनि भौतिकवादी नै छु, तर अब अध्यात्मवादप्रति उपेक्षाको भाव ममा छैन जस्तो कि पहिलेपहिले थियो ।”
उनि फेरि थप्छन् – “पिनाकीबाबुलाई अनन्तबुद्धिको व्यक्ति भन्थेँ म । अब ममा विनीतता र विनयको भाव उदय भएको छ । यो बाद्र्धक्यको परिणाम त होइन ? यो जेल जीवनको निराशावादको लक्षण त होइन ? कि यो मेरो पूर्णतापट्टिको अग्रगति हो ?”
यहाँ पनि प्रश्नहरूले बलियोसँग आफैँ जवाफ दिन खोजेको देखिन्छ । भौतिकवाद जतिसुकै प्रामाणिक भए पनि अध्यात्मवादले जीवन चिन्तनमा गम्भीर अर्थ राख्छ ।