काठमाडौं । सेनेगलका फरवार्ड सडियो मानेले बिहीबार राति मोरोक्कोको राजधानी रबातमा अफ्रिकी वर्ष पुरुष खेलाडीको अवार्ड जितेका छन् ।
सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जित्दा फाइनलमा मानेले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेका थिए । सेनेगलले अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको त्यो पहिलोपटक थियो । त्यस्तै मानेकै प्रेरणादायी प्रदर्शनमा सेनेगलले कतार विश्वकप २०२२ मा पनि स्थान सुरक्षित गरेको थियो ।
६ हप्तापछि, भएको विश्वकप छनोटको खेलमा पनि मानेले इजिप्टविरुद्ध नै निर्णायक पेनाल्टी प्रहार गरेका थिए । मानेले दुवै अवसरमा सालाहलाई ओझेलमा पारे । यद्यपि, माने र सालाहको जोडीले लिभरपुलबाट एफए कप र लिग कपको उपाधि जितेको थियो भने यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाउन बनाउन सफल भएको थियो ।
मानेले अवार्डमा भएको मतदानमा लिभरपुलका पूर्व सहकर्मी इजिप्टका फरवार्ड मोहम्मद सालाह र सेनेगालका गोलपिकर एडवार्ड मेन्डीलाई पछि पारेका थिए ।
लिभरपुलबाट गत महिना जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग अनुबन्ध भएका ३० वर्षे मानेले दोस्रो पटक यो अवार्ड जितेका हुन् । मानेले २०१९ मा पनि अवार्ड जितेका थिए ।
कन्फेडेरेसन अफ अफ्रिकन फुटबल (काफ)ले कोभिड–१९ महामारीका कारण पछिल्ला दुई वर्ष अवार्ड कार्यक्रम गर्न सकेको थिएन । अवार्डमा मानेका प्रतिद्वन्द्वी ३० वर्षे सालाहले २०१७ र २०१८ मा अवार्ड जितेका थिए । उक्त दुवै अवसरमा माने दोस्रो भएका थिए ।
“यो अवार्ड सेनेगलका युवालाई समर्पित गर्दछु । म धेरै भावुक छु र कस्तो महसुस गरिरहेको छु भनेर व्यक्त गर्ने शब्द छैन,’’ मानेले अवार्ड कार्यक्रममा भने । मानेले बुधबार आफ्नो नयाँ क्लब बायर्नका लागि सिजन पूर्वको मैत्रीपूर्ण खेलमा गोल गरेका थिए ।
नाइजेरियाकी असिसात ओशोलाले महिलातर्फको अवार्ड जितिन् । उनले २०१९ मा यो अवार्ड जितेकी थिइन् । पुरुषतर्फको कुल सातमध्ये पाँच विधामा सेनेगलका खेलाडीले अवार्ड जिते ।
सेनेगालका प्रशिक्षक अलिउ सिसले उत्कृष्त वर्ष प्रशिक्षकको अवार्ड जिते । उनको टिम सेनेगल उत्कृष्त वर्ष पुरुष टिम घोषित भयो । पापे सार उत्कृष्ट वर्ष युवा खेलाडी घोषित भए । सेनेगलकै पापे उस्माने साखो उत्कृष्ट गोल गर्ने खेलाडी घोषित भए । उनले तान्जानियाविरुद्ध ओभरहेड किकमा गरेको गोल उत्कृष्ट घोषित भएको थियो ।