काठमाडौं । प्रदेश नम्बर–१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशको पहाडी भू–भागका धेरै स्थानमा र अन्य भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम र प्रदेश–१ का एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
काठमाडौंका केही स्थानमा गएराति भारी वर्षा भए पनि आज दिउँसो भने त्यो सम्भावना नरहेको मौसमविद् समीर श्रेष्ठ बताउँछन् । “आज दिउँसो काठमाडौंमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । काठमाडौंमा आज भारी वर्षा हुँदैन,” उनले भने ।
विभागले आजराति देशका पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । देशको पहाडी भू–भागका केही स्थानमा र अन्य भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जनजीवन प्रभावित हुनसक्ने भएकाले सामान्य सतर्क रहन विभागले आग्रह गरेको छ ।
मौसमविद् श्रेष्ठले केही दिनयता देशका विभिन्न भागमा भारी वर्षा भए पनि यो आज साँझबाट क्रमश घट्दै जाने बताए । “आज दिनभर वर्षाको सम्भावना छ । आज साँझबाट वर्षाको सम्भावना कमजोर हुँदै जानेछ,” उनले भने, “मनसुन साउथतर्फ सर्दै जाने भएकाले मनसुन कमजोर हुँदा पानी पनि कम पर्ने हुन्छ ।”