झापा । बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियमविपरीत पालिकाको कोषबाट किनेको स्मार्टफोनको रकम फिर्ता गर्नुपर्ने भएको छ ।
महालेखापरीक्षकको कार्यालयले २०७८/७९ को प्रतिवेदनमा पालिकाको कोषबाट मोबाइल फोन किन्न खर्च भएको रकम १३ लाख नौ हजार नियमविपरीत ठहर गरेको हो । सो रकम पालिकाको कोषमा फर्काउन समेत कार्यालयले निर्देशन दिएको छ ।
२०७४ सालको स्थानीय तह निर्वाचनपश्चात् बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा रमेश भुजेल र उपाध्यक्षमा मीरा भुर्तेल निर्वाचित भएका थिए ।
महालेखाको प्रतिवेदनमा प्रदेश नम्बर–१ को गाउँ तथा नगरसभाका सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ ले हरेक पदाधिकारी तथा सदस्यलाई सञ्चार सुविधासम्बन्धी व्यवस्था गरेको जनाउँदै स्मार्टफोन किन्ने सुविधा ऐनमै नभएको उल्लेख छ । ऐनमै नभएको सुविधाबापत खर्च रकम असुल गरिनुपर्ने प्रतिवेदनमा प्रस्ट उल्लेख गरिएको छ । रासस