site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालसहित विश्वमा किन बढ्दै छ तापक्रम ? छिनमै भारी वर्षा, छिनमै खडेरी !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । केही सातादेखि नेपालसहित विश्वभर गर्मी बढेको छ । काठमाडौं उपत्यका चिसो ठाउँ मानिए पनि असारको अन्त्य र साउनको पहिलो सातादेखि हपहप गर्मी बढेको छ ।

जल तथा मौसम विभागकाअनुसार काठमाडौंमा अधिकतम तापक्रम सोमबार २९.४ डिग्री सेल्सियस पुगेको थियो । तर वायुमा आद्रता हुँदा गर्मी महसुस भएको छ । यस्तै, विराटनगरमा अधिकतम तापक्रम ३४.४ डिग्री सेल्सियस पुगेको छ भने नेपालगञ्जमा ३७.७ डिग्री सेल्सियस र भैरहवामा ३६.९ डिग्री सेल्सियस तापक्रम पुगेको छ । अझै साउनको चार हप्ता र भदौ महिना बाँकी नै छ । 

उता, विश्वकै अग्लो शिखर सगरमाथा भएको खुम्बु पासाङ गाउँपालिकाका उपाध्यक्ष टासी ल्हामु शेर्पा त्यहाँ नेपालका अन्य भूभागमाजस्तो गर्मी नभएको बताउँछिन् । उनकाअनुसार त्यहाँ अझै ज्याकेट लगाउनुपर्ने अवस्था छ । तर, गत हिउँद सकेपछि एकैपटक वर्षा ऋतु आएको उनको अनुभव छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“हाम्रोमा यसपालि वसन्त ऋतु आएन । हिउदपछि एकैपटक झरी पर्न थाल्यो,” उनको प्रतिक्रिया छ ।

यता, उष्ण गर्मीले तराईतिर लु (तातो हावा बहन सक्ने) सम्भावना उत्तिकै छ । विभागकाअनुसार यस वर्ष औसतमा सरदरभन्दा तापक्रम बढेको छ । विभागकी वरिष्ठ मौसमविद् इन्दिरा कँडेलकाअनुसार तीस वर्षको तथ्यांक हेर्दा औसतमा अधिकतम तापक्रम बढेको छ । स्थानअनुसार दुईदेखि चार डिग्री सेल्सियससम्म बढेको उनको भनाइ छ ।

Royal Enfield Island Ad

“तर तापक्रम गर्मीमा मात्र बढेको होइन,” उनले भनिन्, “अन्य सिजनमा पनि तापक्रम बढेकै छ । गत जाडोका महिना पनि न्याना नै थिए ।”

नेपालमा साधारणतयाः जुन, जुलाई, अगस्ट र सेप्टेम्बरमा मनसुनी वायुको प्रभाव परेर वर्षा हुन्छ । तर यसपालि करिब दुई महिना पानी परेपछि वर्षा रोकिएको छ । यसलाई 'मनसुन ब्रेक' पनि भनिन्छ । पानी पार्ने न्यून चापीय वायु भारततर्फ मोडियो र यसले समुद्रको तातो हावाको बहाव परिवर्तन भएपछि गर्मी बढेको कँडेल बताउँछिन् । 

युरोपमा गर्मीको लहर 
तापक्रम नेपालमा मात्रै होइन, विश्वमै बढिरहेको छ । नासाले ग्लोबको एउटा तस्बिर सार्वजनिक गर्दै विश्व नै गर्मीको सिकार भएको बताएको छ । चिसा भनिएका युरोपेली मुलुकहरू बेलायत, फ्रान्स, इटली, हंगेरी र पोर्चुगलमा तापक्रम बढेर रेकर्ड ब्रेक गरिरहेका छन् ।

नेपालको तराईमा पनि गर्मी महिनामा बहने तातो हावा (लु)ले युरोपलाई नराम्ररी प्रभावित गरिरहेको छ ।

युरोपमा गर्मीको लहर बढेसँगै फ्रान्स र बेलायतमा चरम गर्मीको चेतावनी दिइएको छ । उत्तरी स्पेनमा सोमबार ४३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । भूमध्यसागरमा भयावह डढेलो फैलिएको छ । हजारौँ अग्नि नियन्त्रकहरू पोर्चुगल, स्पेन र फ्रान्सका जंगलमा लागेको आगो निभाउन प्रयासरत छन् । तर, गर्मीको लहरले स्थिति सहज हुने कुनै संकेत देखिएको छैन । पोर्चुगल अधिकारीहरूले दुई साताअघि मात्रै गर्मीबाट कम्तीमा २३८ जनाको मृत्यु भएको बताएका छन् । 

यता, फ्रान्सको अवस्था पनि केही फरक छैन । फ्रान्सको दक्षिण–पश्चिमी गिरोन्डे क्षेत्रहरूमा अत्यधिक गर्मीका कारण डढेलो लागिरहेको छ । जहाँ बस्ने १२ हजारभन्दा बढी मानिसहरूलाई अन्य सुरक्षित क्षेत्रमा लगिएको छ । त्यहाँको पश्चिमी सहर नान्टेसको तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ भने धेरै भागहरूमा अहिलेसम्मकै सबैभन्दा तातो दिन देखिएको राष्ट्रिय मौसम कार्यालयले जनाएको छ । पेरिसमा मात्रै ३८ देखि ४० डिग्री सेल्सियससम्म तापक्रम कायम रहने बताइएको छ ।

यस्तै, गत जुलाई १३ मा पोर्चुगलमा ४७ डिग्री सेल्सियस तापक्रम पुगेको थियो । जसले ग्रामीण इलाकालाई सुक्खा बनाएको छ । यो हप्ता तापक्रम घट्नुअघि ४० डिग्री सेल्सियसभन्दा माथि कायम रहने बताएका छन् । पोर्चुगलमा डढेलोले यस वर्ष त्यहाँ ३० हजार हेक्टर जमिनलाई नष्ट गरेको छ । जुन अहिलेसम्मकै सबैभन्दा ठुलो क्षेत्र हो ।

युरोपको गर्मी बढ्नुको रहस्य ?
द न्युयोर्क टाइम्समा प्रकाशित एक अध्ययनमा बढ्दो घटनाक्रमले पश्चिमी यूरोप विगत चार दशकदेखि लु बहने ‘हटस्पट’ बनिरहेको छ । अध्ययनले घटना दोहोरिरहनु र वायुको गहनतामा परिवर्तन हुँदा विश्वका अन्य भागहरूभन्दा युरोपमा द्रुत रूपमा असर देखिएको बताएको छ । पश्चिमी अमेरिका अर्को ‘हटस्पट’ बनेको छ ।

नेचर कम्युनिकेसन्समा यस महिना प्रकाशित गरिएको अध्ययनले वायुमण्डलमा विशेषगरी मध्य–अक्षांशमा जेट स्ट्रिमको कारणले पश्चिमी यूरोपमा लुको लहर बढेको जनाएको छ ।

जेट स्ट्रिम माथिल्लो वायुमण्डलमा द्रुत रूपमा पश्चिम–देखि पूर्व बहने हावाहरूको वेग हो । कहिलेकाहीँ यो दुई भागमा विभाजित हुन्छ । जेट स्ट्रिमको उत्तरी र दक्षिणी भागहरू बिचको कमजोर हावा र उच्च–दबाव हावाको क्षेत्रमा तातो लहरहरू विकसित हुन सक्छन्, जसलाई ‘ब्लकिङ हाई’ भनिन्छ । 

अनुसन्धानकर्ताहरूकाअनुसार ‘डबल जेट’ का यी उदाहरणहरूको फ्रिक्वेन्सी बढ्दै जाने र लामो समयसम्म रहने गर्छन् । यही रूपान्तर नै गर्मीको लहर परिवर्तन ल्याउन जिम्मेवार हुन्छन् । 

तर जर्मनीको पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट रिसर्चका वरिष्ठ वैज्ञानिक र अध्ययनकी प्रमुख लेखक इफी रौसीले जेट स्ट्रिम विभाजनको कारण के हो भन्ने कुरा स्पष्ट नभएको बताएकी छन् । 

लुको असर खेतबारीदेखि उद्योगसम्म 
दक्षिणी फ्रान्सलाई जुनमा तीव्र गर्मीको लहरले यति आक्रान्त पारेको थियो कि कृषक सेलिन इमार्टलाई ट्याक्टरको घर्षणले खेतमा आगो सल्काउने डरले मध्यरातमा नै बाली काट्न बाध्य पार्‍यो । लु बहेपछि रापले चर्केको सुक्खा बालीमा आफैँ आगलागी भएको फ्रान्सकै अन्यत्रका कृषकहरूले त्यहाँको प्रशासनलाई रिपोर्ट गरे । कीर्तिमानी उच्च तापक्रमले खेती किसानी गर्ने कृषकलाई नराम्ररी असर पारेको त छ नै समयअगावै गर्मी आउने, अतिवृष्टि वा अनावृष्टिले गर्दा सुख्खाको सिलसिला बढिरहको र उत्पादनमा कमी ल्याएको छ । 

अत्यधिक गर्मी र गम्भीर खडेरीहरू मौसमी घटनाको रूपमा देखा पर्दैछन् । बढ्दो जलवायु परिवर्तनले यसलाई झनै खराब बनाएको छ । यो गर्मीले युरोपको ठुलो भागलाई असर पार्नेछ । स्पेन र पोर्चुगलले एक सहस्राब्दीमा सबैभन्दा बढी सुख्खा अवस्था भोगिरहेका छन् । इटालीको सबैभन्दा लामो नदी पो ७० वर्षमा सबैभन्दा तल्लो तहमा पुगेको छ । बालीहरू ओइलाउँदैछन् र ऊर्जा संयन्त्रहरू बन्द गर्न बाध्य भइरहेका छन् । जसले खाद्य र ऊर्जाको मूल्यमा थप वृद्धिको साथ मुद्रास्फीति बढाउनेछ । 

इटालीले यस महिना देशको सबैभन्दा खराब खडेरीबाट प्रभावित पाँच उत्तरी क्षेत्रहरूमा आपतकालीन अवस्था घोषणा गरिसकेको छ । धेरै महिना विना वर्षा र पश्चिमी आल्प्समा पग्लिएको हिउँको प्रवाहमा नदीको सतह देखिएका छन् । यतिसम्म कि दोस्रो विश्वयुद्धको जर्मन ट्याङ्की हालै पुनः देखा परेको छ ।

इटालीको किसान संघले पहिलो आधा वर्ष सबैभन्दा धेरै तापक्रम बढेको र सामान्य भन्दा ४५ प्रतिशत कम वर्षा भएको बताएको छ । खडेरीले धान, मकै जस्ता मुख्य बालीको उत्पादनमा कम्तिमा एक तिहाइमा नोक्सान र अनुमानित तीन बिलियन युरोको क्षति हुने जनाइएको छ । 

रुस–युक्रेन युद्ध लुका लागि कति जिम्मेवार ?
युरोप र विश्वमै बढिरहेको गर्मीको कारण रुस–युक्रेन प्रत्यक्ष जिम्मेवार नभए पनि यसले अप्रत्यक्ष रूपमा भने भूमिका खेलेको विज्ञहरू बताउँछन् । जलवायु विश्लेषक तथा अध्येता मञ्जित ढकाल रुस–युक्रेन युद्धले जनधन क्षति भएको तर यस युद्धकै कारण पृथ्वी तात्यो भन्नु अहिले हतार हुने बताउँछन् । 

“पेट्रोल ग्याँस बाल्दा वायुमण्डलमा लगभग सय वर्ष भन्दा बढी त्यसले पृथ्वी तताइराख्न सक्ने क्षमता हुन्छ । त्यसले हिजोको आजै असर गर्ने त होइन, तर कालान्तरमा असर त गरिहाल्छ, चाहे त्यो दसौँ हजार वर्ष किन नहोस्,” उनले भने ।

तर युद्धको असर तेललगायत खाद्यान्नमा प्रभाव परेको छ । जलवायुजन्य प्रकोपवृद्धिसँगै विश्वका गरिब जनता भोकमारीतर्फ धकेलिएका छन् । तेलको अभाव र यसको मूल्यवृद्धिले कयौँ मुलुक आर्थिक संकटमा परेका छन् । त्यसको ज्वलन्त उदाहरण हो– श्रीलंका । नेपालले पनि आर्थिक संकटकै सामना गरिरहेकै छ । पछिल्लो आर्थिक संकट रुस–युक्रेनकै प्रभाव हो ।

“विश्वका धेरै मुलुकमा खडेरी भएपछि खाद्यान्नको अभाव व्यहोरिरहेका छन्,” उनले भने, “रुस युक्रेनबाट अफ्रिकी मुलुकमा खाद्यान्न जाने गर्थ्यो । अहिले त्यो रोकिदा त्यहाँका जनता मारमा परेका छन्, त्यो सत्य हो ।”

यता युरोप विनाशकारी गर्मीमा पाकिरहँदा उद्योग र घर चलाउन तापक्रम बढाउने अझै धेरै कोइला भने जलिरहेको छ । रुस–युक्रेन युद्धको परिणाम ग्यासको भोको युरोपले कोइला प्लान्टहरूलाई पुनरुत्थान गर्दै छ भने यसले जलवायु महत्वाकांक्षालाई जटिल बनाउँदै लगेको अन्तर्राष्ट्रिय समाचार संस्था ब्लुमबर्गको टिप्पणी छ ।

युरोपेली सरकारहरूले रूसी ग्यास आपूर्तिमा कमी भएपछि थप कोइला जलाएका छन् । यसले वायुमण्डलको तापक्रम बढाउन थप प्रेरित गर्नेछ । नयाँ तरल प्राकृतिक ग्यास योजना बनाएर र ग्यास पाइपलाइन नेटवर्कहरू विस्तार गरेर ऊर्जा भण्डारहरूलाई बलियो बनाउँदै कार्बन उत्सर्जनमा कमी ल्याउने युरोपको योजना थियो । तर, बेमौसमी घटनाले जलवायु परिवर्तनमा एक्सन लिन ढिलो भइसकेको नमिठोसँग सम्झाएको छ । 

उद्योगबाट उत्सर्जन घटाउन नवीकरणीय ऊर्जा, विद्युतीय कार र हरित प्रविधिहरूमा लगानीको पर्खाइमा युरोप रूसको ग्यास पाइपमा भर परेको थियो । तर युक्रेन–रुस युद्धले त्यो परियोजनालाई अस्तव्यस्त पारेको छ । युरोपलाई द्रुत रूपमा फोहोर इन्धनमा धकेलेको छ । जसको कारण जर्मनीले केही कोइला र तेलबाट चल्ने पावर प्लान्टहरू छोडेको छैन भने डचहरू कोइलाबाट बिजुली निकाल्दै छन् । अस्ट्रियाले बन्द भएको कोइला पावर स्टेशनलाई पुनर्जीवित गर्दैछ र फ्रान्सले जाडोका लागि रिजर्भको रूपमा कोइला प्लान्ट तयार गर्दैछ । धेरै देशहरूले तरल प्राकृतिक ग्यास आयात गर्न टर्मिनलहरू र पाइपलाइनहरूलाई विद्यमान सञ्जालहरूमा जडान गर्नका लागि पूर्वाधारहरू लगानी गरिरहेका छन्, जुन दसकौँसम्म रहनेछ । 

के जलवायु परिवर्तनले विश्व तातेको हो  ?
विज्ञहरू नेपालको हकमा गर्मी बढ्नुको कारण जलवायु परिवर्तनलाई मान्छन् । सय वर्षमा पृथ्वीको औसत तापक्रम बढिरहेको छ । औसतमा १ डिग्री या १.२ डिग्रीको रेन्जमा तापक्रम बढेको छ ।

तापक्रम बढ्ने बित्तिकै अचानक खडेरी पर्ने, भारी वर्षा हुने, बाढी पहिरो आउने पहिले पनि हुन्थे । तर अहिले त्यस्ता घटना दोहोरिने क्रम बढेको छ भने पहिले नघटेका घटनाहरू हुन थालेका छन् ।

अहिले युरोपमा बढेको गर्मीको लहर, विगतमा बंगलादेशमा आएको बाढी र नेपालमै पनि घटेका प्राकृतिक विपत्ति जलवायु परिवर्तनको एउटा उपज हो । जलवायु विश्लेषक ढकाल भन्छन्, “कम्तीमा ३० वर्षको अन्तरालमा अध्ययन गरी जलवायु परिवर्तन आकलन गर्न सकिन्छ ।”

यस्तै, हरित गृह ग्यासको उत्सर्जनको कारणले जलवायु परिवर्तन भई तापक्रम बढेको वायु प्रदूषण तथा ऊर्जा विज्ञ डा. भूपेन्द्र दासले बताउँछन् । अस्ट्रेलियामा भएको डढेलो, चीनमा भएको प्रदूषण, मुम्बाईमा बाढी र नेपालमै लगातार आएका बाढी पहिरो जलवायु परिवर्तनकै कारणले भएको उनको भनाइ छ । उनी भन्छन्, “९५ प्रतिशत प्राकृतिक मौसम बिग्रने मानवीय क्रियाकलापले गर्दा हुन्छ भने ५ प्रतिशत मात्र प्राकृति विपत्ति हो ।” 

जलावायु परिवर्तनले निम्त्याएको मानवीय क्षति र धनसम्पत्तिको नोक्सानीको हिसाबको कुनै रेकर्ड छैन । डा. दासकाअनुसार पृथ्वीको तापक्रम बढाउन हरित गृह ग्याँसले उत्पादन गर्ने कार्बोनडाइअक्साइड र ब्ल्याक कार्बनको मुख्य योगदान रहेको छ । जंगलमा आगलागी र फोहोरमैला बाल्दा ब्ल्याक कार्बन ऊत्सर्जन हुन्छ । 

उनकाअनुसार पृथ्वीको तापक्रम हरित गृह ग्यासले गर्दा बढिरहेको हो । नेपालमा इँटा भट्टा, कोइला र दाउरा बाल्दा तापक्रम बढेको छ । तापक्रम बढेसँगै सबैभन्दा चिसो अन्टार्टिका महादेशमा बरफ पग्लिरहेको छ । “२० वर्षअघि त्यहाँ त्यस्तो थिएन,” डा. दास भन्छन्, “जर्मनी, फ्रान्सलगातय भारतमा गर्मी बढ्नु जलवायु परिवर्तन कै कारणले हो ।” 

यस्तै, नेपालमा अहिले मनसुन प्रभावित हुनु जलवायु परिवर्तनकै कारणले भएको उनको बुझाइ छ । भन्छन्, “हरित गृह ग्याँसले वायु प्रभावित पारेको छ । यसको तापले पानी वाष्पीकरण गर्छ र तापक्रम बढाएको छ ।” 

अर्को कुरा, नेपालका हिमालतिर धुलोका कणहरू तथा ब्ल्याक कार्बन भेटिन थालेको छ । जसले सूर्यको किरण सोस्ने र हिउँ छिटो पगाल्ने गर्छ । आगलागी र गाडीको इन्धनबाट निस्कने ब्ल्याक पार्टिकल्सले हिमनदीहरू छिटो पगालिरहेको उनी बताउँछन् । विश्व बैँकले पनि गत वर्ष एक रिपोर्ट जारी गर्दै  हिमालय, काराकोरम क्षेत्रअन्तर्गत नेपालसहित छ राष्ट्रलाई यी ब्ल्याक पार्टिकल्सको खतरा भएको औँल्याएको थियो । 

यसका अलवा दिनदिनै रुस युक्रेनमा भइरहेको बमबारी, आणविक परीक्षण, नवप्रवर्तन ऊर्जाको प्ररीक्षण गर्दा निस्कने कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा सक्रिय भूमिका खेलिरहेको विज्ञहरू बताउँछन् ।

तर, विभागकी वरिष्ठ मौसमविद् कँडेल हाल नेपालमा तापक्रम बढ्नुलाई जलवायु परिवर्तनलाई मात्र कारण मान्न नहुने दाबी गर्छिन् । जलवायु परिवर्तनलाई एउटै घटनासँग जोड्न नहुने उनको भनाइ छ ।

“हाम्रो सबै सिजनमा तापक्रम बढेको छ । तापक्रमको इन्टेनसिटीलाई हेरेर समग्रमा अहिलेको गर्मीसँग जोड्न मिल्ला तर यही मात्र कारण हो भन्न मिल्दैन,” उनले भनिन् ।

मनसुनको कुरा गर्दा यस वर्ष प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश र गण्डकीको आधा भूभागमा औसतभन्दा सरदर बढी पानी परेको छ । तर, पश्चिमतिर सरदरभन्दा कम पानी परेको छ । यसको कारण त्यहाँ ढिलो मनसुन सुरु भएको उनले बताइन् । यसको असर मौसमी जलवायुदेखि खेतबारीमा पनि पर्नेछ ।

जलवायु परिवर्तनले निम्त्याएको बाढी पहिरोमा परी यस वर्ष मात्रै २० लाख मानिस प्रभावित हुने राष्टिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

समाधान के ?
पेरिस जलवायु सम्झौताले औद्योगिक क्रान्तिपूर्वको तुलनामा यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धि १.५ डिग्री सेल्सियसमा सीमित गर्नुपर्ने लक्ष्य दिएको छ । सो लक्ष्यका लागि कार्यान्वयन योजनाहरूमा सहमति गर्ने जिम्मेवारीसहितको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२६ सम्पन्न भएको थियो । तर, सम्मेलनमा गरिएका वाचा तथा प्रस्तुत भएका नीतिहरू १.५ डिग्री सेल्सियसको मार्गमा छैनन् । त्यसैको सजाय हो– अहिलेको उष्ण गर्मी । 

सन् १९९० को स्तरबाट २०३० सम्म ५५ प्रतिशतले कार्बन उत्सर्जन घटाउने युरोपले लक्ष्य लिएको छ । ग्रिन डिलमा युरोप ब्लकले १० वर्षमा कम्तीमा एक ट्रिलियन युरो दिगो लगानीमा छुट्याउने र आगामी आधा दशकका लागि आफ्नो बजेटको एक तिहाइ हरित परियोजनाहरूमा विनियोजन गर्ने बताएको छ । आफ्ना सदस्यहरूलाई कम्तिमा ३७ प्रतिशत खर्च गर्न भनेको छ । जलवायु लक्ष्यहरूलाई समर्थन गर्ने खर्चमा ७०० बिलियन युरो भन्दा बढीको महामारी–रिकभरी प्याकेज पनि घोषणा गरेको छ ।

तर वर्तमान परिस्थितिमा यी सबै योजना ऊर्जा संकट र आर्थिक मन्दीका कारण ओझेलमा परेका छन् । फेरि पनि यसको भुक्त भोगी पूरै युरोप मात्र नभई पृथ्वी नै हुनेछ ।

पृथ्वीको तापक्रम रोक्न कार्बन शुन्य बाटोमा जानुबाहेक अन्य विकल्प नभएको डा. दास बताउँछन् । उनकाअनुसार इन्डक्सन चुलो, विद्युतीय गाडी विकल्प हुन् । जंगलमा आगलागी भइरहने स्थान पहिचान गर्ने, त्यहाँ निगरानी बढाउने र जलवायु परिवर्तन र प्रदूषणबारे जनचेतना फैलाउनु आवश्यकता रहेको उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  ०७:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro