site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंका घर–घरमा फोहोरको समस्या, कुहिने र नकुहिने कसरी छुट्याउने ?
SkywellSkywell

काठमाडौं । थापाथली प्रसुतिमार्गमा सुनसरीका गजेन्द्र मेहेताको फलफुल पसल छ । उनलाई आइतबार काठमाडौं महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउने पर्चा दियो । त्यसयता उनले फोहोर छुट्याउन थालेका छन् । 

उनले सोमबार फोहोर बुझाउँदा कुहिने र नकुहिने फोहोरलाई प्लास्टिकको झोलामा पोको पारेर बुझाए । महानगरले कुहिने फोहोरलाई प्लास्टिकको झोलामा नहाल्न सुझायो । तर, मेहेताले फलफुल पसलबाट निस्किएको कुहिने फोहोर राख्न प्लास्टिकको झोलाबाहेक विकल्प देखेका छैनन् । 

मेहेतालाई फोहोरको गाडी कुन समयमा आउने हो भन्नेबारे पनि यकिन जानकारी छैन । उनी भन्छन्, “महानगरले फोहोर छुट्याउन भनेदेखि छुट्याएरै बुझाउने गरेका छौँ । समय भने यकिन हुँदैन । कुहिने फोहोरलाई प्लास्टिकको झोलामा पोको नपारे दुई दिनसम्म गनाउने भइसक्छ ।”

KFC Island Ad
NIC Asia

कुहिने फोहोर धरै निस्किने पसलहरूलाई अप्ठेरो परेको मेहेताको भनाइ छ । पसलबाट बढी फोहोर उत्पादन हुने तर समयमै लिन नआउदा समस्या भएको उनले बताए । “महानगरको फोहोर छुट्याउने योजना स्वागतयोग्य छ । तर, समयमै फोहोर लैजान आएदेखि सहज हुन्थ्यो ,” उनले भने । 

बानेश्वर बुद्धनगरका पुजन राजकनिकारले पनि कुहिने र नकुहिने फोहोर छुट्याएर बुझाउने गरेका छन् । तर, दुई सातादेखि उनको टोलमा फोहोर लैजाने गाडी पुगेको छैन । 

Royal Enfield Island Ad

फोहोर उठाउने गाडी बाहिर मुख्य–मुख्य सडकमा फोहोर लैजान आउने तर भित्री गल्लीमा नआएको राजकनिकारले बताए । 

“फोहोर लिन आउने गाडी समयमै नआइदिनाले समस्या निम्तिएको छ । बाहिर मुख्य सडकमा मात्रै फोहोर उठाउन आउँछन् । भित्र गल्लीमा बोलाएपछि दुई महिनामा एकपल्ट गाडी आउँछ,” उनले भने, “फोहोर छुट्टाछुट्टै हुन्छ । नकुहिने फोहोर आफैँले पनि बेच्न सकिन्छ तर कुहिने फोहोर लामो समय राख्न सकिँदैन । फोहोर छुट्यायो तर कहिले लिन आउने हो थाहा छैन ।”

बौद्ध बस्ने विष्णु पोखरेलले महानगरको सुचनापछि पनि अधिकांशले फोहोर नछुट्याएको बताए । यसो हुनुको पछाडि यहाँको प्रणाली ठिन नहुनु रहेको उनको बुझाइ छ । 

“भाटभटेनीमा जाँदा फोहोर फाल्न डस्बिन खोज्छौँ । विदेश जाँदा त्यहाँको सिस्टम मान्छौँ,” उनी प्रणालीमाथि प्रश्न गर्छन्, “हाम्रोमा के सिस्टम छ र के मान्ने ? सिस्टम बसान्नका लागि महानगरले डस्बिन राखिदिनुपर्छ ।”

उचित प्रबन्ध बिना जरिवाना गर्ने महानगरको निर्णयप्रति उनको असन्तुष्टि छ । “महानगरले फोहोर उठाउने समय निर्धारण गरेकै छैन । सबैलाई बानी बसाल्ने कुनै पनि सिस्टम छैन,” आक्रोश छ, “उल्टै जरिवाना तिराउने रे ? ती समयमै फोहोर नउठाउने व्यवसायीलाई चाँही जरिवाना तिराउन मिल्दैन ?”

महानगरले कुहिने र नकुहिने फोहोर नछुट्याएर बुझाएमा एक पटकमा पाँच सय रुपैयाँसम्म जरिवाना ताकेको छ । 

२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने भनिएको थियो ।  

तर, तत्काल नागरिकलाई ‘फोहोर नछुट्याए कारबाही गर्छौं’ भन्ने अवस्था नरहेको महानगरले जनाएको छ । महानगरका अनुसार फोहोर छुट्याउने सूचना सबैतिर पुगेपनि कार्यान्वयन गर्न केही समय लाग्नेछ । 

थापाथलीस्थित एक सर्जिकलका सञ्चालक लक्ष्मण खतिवडा महानगरले कुहिने र नकुहिने फोहोरको प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताउँछन् ।

“महानगरपालिकाको सिस्टम राम्रो छ । यसलाई निरन्तरता दिनुपर्यो,” उनी भन्छन्, “तर, कुहिने फोहोरको विषयमा प्लास्टिक झोलाको विकल्प छैन ।” 

आफूहरू डस्विनमा खुला रूपमा फोहोर राखेर बुझाउन पनि तयार रहेको उनले बताए । तर, महानगरले आम नागरिकलाई सिकाउनको लागि चोक–चोकमा डस्विन राख्नुपर्ने उनको सुझाव छ । “महानगरले चोक–चोकमा तीन वटा डस्विन राख्नुपर्छ । कुहिने, नकुहिने र रिन्यु गर्न मिल्ने फोहोरका लागि डस्विन राखेर आम मान्छेलाई सिकाउनुपर्छ ।”

काठमाडौंका कतिपय फोहोर उत्पादकहरूले पहिलो पल्ट महानगरले कुहिने फोहोरका लागि लगानी गर्नुपर्ने बताएका छन् । केही महिनाका लागि कुहिने फोहोरका लागि कागज, कपडाको झोला र डस्विन वितरण गर्नुपर्ने राय राखेका छन् ।   

तर, महानगरले भने आफ्नो लगानीमा झोला किनेर वितरण गर्न सम्भव नभएको जनाएको छ । महानगर वातावरण व्यवस्था विभागका अनुसार संकलित फोहोर उठाउन क्षेत्र बाँडेर दुई वटा रुट बनाइएको छ । 

पहिलो रुटमा आइतबार र बुधबार तथा दोस्रो रुटमा सोमबार र बिहीबार कुहिने फाहोर उठाइनेछ । त्यस्तै दुई दिन नकुहिने फोहोर उठाइने तालिका छ । 

पूर्वाधारबिनाको तयारी ? 

महानगरले कुनै पनि पूर्वाधार तयार नपारेरै कुहिने र नकुहिने फोहोर छुट्याउने योजना कार्यान्वयन गरेको छ । 

महानगर वातावरण व्यवस्था विभागकी प्रमुख सरिता राई आम नागरिकसँग जस्तो स्रोत साधन छ त्यसैलाई प्रयोग गरेर फोहोर छुट्याउन आग्रह गरेको बताउँछिन् । तत्काल महानगरले भ्याएसम्मको पूर्वाधारबाट फोहोर संकलन गरिरहेको र फोहोर उठाउन दुई तीन वटा विकल्पमा कुरा गरिरहेको प्रमुख राईले बताइन् । 

“महानगरले नागरिकलाई प्लास्टिकका झोला वा डस्विन वितरण गर्न सक्दैन । त्यो सम्भव हुने कुरा पनि होइन । आफूसँग जति स्रोत साधन छ त्यसैमा फोहोर छुट्याउने भनिरहेका छौँ,” प्रमुख राईले बाह्रखरीसँग भनिन्, “हामीले सुरुवात मात्रै गरेका हौँ । नागरिकलाई विस्तारै बानी पर्दै जान्छ ।” 

विभागका अनुसार आउँदा दिनहरूमा बाल्टी वितरण गर्न वा कुहिने कागज वितरण गर्ने भन्नेबारे छलफल पनि भइरहेको छ । प्लास्टिक किन्ने मूल्यमा फोहोरको पैसा नलिने भन्नेबारे पनि छलफल भइरहेको प्रमुख राईले बताइन् । 

सहुलियत दरमा नागरिकलाई बाल्टी उपलब्ध गराउन सहज हुन्छ वा हुँदैन भन्ने मोडालिटी पनि रहेको जनाइएको छ ।  महानगरको फोहोर उठाउने तालिका जसरी भएपनि कार्यान्वयन गरेरै छोड्ने प्रमुख राईको दाबी छ । 

उनका अनुसार मंगलबार बिहान पनि फोहोर उठाउने निजी क्षेत्रहरूसँग महानगरले छलफल गरेको छ । अहिले महानगरभित्र फोहोर उठाउने तालिका अनुसार समयमै संकलन गर्न नसकिएको उनको भनाइ छ । 

“पछिल्लो समय पुरानै फोहोर र पूर्वाधार व्यवस्थापनको केही समस्या छ । यो स्वभाविक पनि हो,” उनले भनिन्, “तर, जसरी पनि समयमै फोहोर उठाउने तालिका कार्यान्वयन गर्र्छाैँ । समस्या समाधान गर्दै जान्छौँ ।”

पुरानै फोहोर उठाउन समस्या 

वर्षायामको समय भएकाले पुरानै फोहोर उठाउन समस्या भएको विभागले जनाएको छ । 

गत साउन १ गतेअघि धादिङ धुनीबेँसी नगरपालिकास्थित बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर अव्यवस्थित तरिकाले फालियो । त्यसको व्यवस्थापन नहुँदै साउन १ गतेदेखि महानगरले कुहिने र नकुहिने फोहोर छुट्याउन ताकेता गरेको छ । लामो समयदेखि आन्दोलनरत सिसडोल र बञ्चरेडाँडाका बासिन्दाहरूले पुनः फोहोरमा सांकेतिक अवरोध गरिरहेका छन् । 

शनिबार महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँगै धुनीबेसी नगरपालिकाका स्थानीयको चर्काचर्की नै भयो । 

महानगरपालिकाले सिसडोलजस्तै अव्यवस्थित तरिकाले फोहोर फाल्दा गनाउने समस्याले बसिन नसक्नु भएको र पुराना मागहरू पूरा नभएको भन्दै स्थानीय काठमाडौं आएका थिए । 

विभागका अनुसार अहिलेसम्म फोहोर लैजाने सडक बनेको छैन । सिसडोलको फोहोरमाथिको सडक बनिरहेको र वर्षायामले गर्दा उठ्नुपर्ने जति फोहोर उठ्न सकेको छैन । 

हाल दैनिक ६० टिपमात्रै फोहोर विसर्जनस्थलसम्म पु¥याउन सकिएको छ । विभागको कार्यालय टेकु ट्रान्सफर स्टेसनमा फोहोर छोपेर राखिएको छ । 

विभागका अनुसार अरु दिन दैनिक २००–३०० टिपसम्म फोहोर विजर्सनस्थलसम्म पु¥याउन सकिन्छ । 

यी हुन् कुहिने र नकुहिने फोहोर 

महानगरले कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै क्याटागोरी (वर्ग)मा राखेको छ । कुहिने फोहोरअन्तर्गत सागसब्जी, तरकारीका टुक्रा तथा बोक्रा, माछा मासु सडेगलेका, उब्रेको खाना, अन्न तथा गेडागुडी, फलफुल र झारपात पर्दछन् ।

त्यस्तै नकुहिने फोहोरअन्तर्गत सिसा, प्लास्टिक, कागज, धातु र छालाका सामान, लत्ता कपडा, रबर पर्दछन् । 

कुहिने र नकुहिने फोहोरलाई स्रोतमै वर्गीकरण गर्र्ने बानी बसाल्न महानगरले आग्रह गरेका छ । 

यसरी गर्न सकिन्छ फोहोर संकलन 

महानगरले आफूसँग भएको डस्विन वा स्रोत साधनले फोहोर संकलन गर्न भनेको छ । कुहिने फोहोरलाई भरसक घरमै आफै व्यवस्थापन गर्न महानगरको आग्रह छ । 

यसका लागि कागजको झोला र डस्विनबाट सिधै गाडीमा खनाउन सकिने महानगरले जनाएको छ । 

विभागकी प्रमुख राईका अनुसार फोहोरमा प्लास्टिक मिसाउदा मल बनाउन समस्या हुन्छ । प्लास्टिकको झोलाको विकल्पमा कागज र कपडाको झोला प्रयोग गर्न सकिन्छ । 

“प्लास्टिकको झोला वा अन्य जे पनि किन्न पर्छ । त्यो भन्दा सिधै डस्विनमा फोहोर राख्ने त्यसबाटै गाडीमा खनाउने उपाय राम्रो हो । तर विविध समस्याले गर्दा समयमै उठाउन सकिएको छैन । यो कुरा आम नागरिकले पनि बुझेर साथ दिनैपर्छ,” उनले भनिन् । 

महानगरले यसअघि पनि फोहोर छुट्याउने प्रयास गरेपनि कार्यान्वयनमा आउन सकेको थिएन ।  

बञ्चरेडाँडा ल्याण्डफिल साइटका सहायक इन्जिनियर सरकारदीप श्रेष्ठले ल्याण्डफिल साइटमा व्यवस्थित तरिकाले फोहोर विसर्जन गरे उपलब्धि हुने बताए । 

उनका अनुसार प्लास्टिकमा फोहोर पोको पार्दा उत्पादक, फोहोर उठाउने दुवैलाई समस्या हुन्छ । यसैले पनि आम नागरिकले फोहोर छुट्याएर मात्रै बुझाउन जरुरी छ । 

कुहिने र नकुहिने फोहोर संकलन गरी फोहोरको प्रकृतिअनुसार ल्याण्डफिल साइटमा पु¥याइ व्यवस्थापन गरिन्छ । खाल्डे मल बनाउने महानगरको योजना छ । 

महानगरका मेयर बालेनले सम्भव भएसम्म कुहिने फोहोरलाई आफै व्यवस्थापन गरेर फोहोरको भार कम गर्न सकिने बताउँदै आएका छन् । 

उनले ६०० मेट्रिक टन फोहोर आफ्नै क्षेत्रमा व्यवस्थापन गर्न सकिने गरी योजना बनाइरहेको बताउँदै आएका छन् । 

सिसडोलको कथाव्यथा बञ्चरेडाँडामा सर्दा व्यवस्थापनमा ठुलो चुनौती खडा भएको साइटमा खटिएका अधिकारीहरूले बताउँदै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ३, २०७९  २०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro