काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको चौँथो अङ्क सार्वजनिक गरेको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्र प्रसाद बडूले उक्त प्रतिवेदन सार्वजनिक गरे ।
चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । प्रतिवेदन अनुसार दोश्रो त्रैमासको तुलनामा यस अवधिमा व्यवसायको उत्पादन क्षमता उपयोग खस्केको देखिएको छ । यस अवधिमा उद्योगहरूले आफ्नो कुल उत्पादन क्षमताको ६६.८१ प्रतिशत उपयोग गरेको देखाएको छ । दोस्रो त्रैमासमा यस्तो क्षमताको उपयोग ७१ प्रतिशत थियो ।
अध्ययन (माघ, फागुन र चैत्र) अवधिमा उत्पादनमूलक उद्योगले औसतमा १०.९६ प्रतिशत (गत वर्षको सोही अवधिमा ९.४ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औषतमा १०.९२ प्रतिशत ब्याज तिरेको पाइएको छ । उत्पादनमूलक उद्योगहरूले आफ्नो चालु पुँजीको ३१ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ । अघिल्लो त्रौमासमा चालु पुँजी ३४.४ प्रतिशत ऋण लिएका थिए ।
अध्ययनमा सहभागीमध्ये ८२.५ प्रतिशत उद्योगीले नयाँ लगानीका लागि तयार रहेको बताएका छन् ।
प्रतिवेदनले आर्थिक वर्ष २०७८/०७९ को दोस्रो त्रैमासको तुलनामा चालु त्रैमासमा उद्योगको आय वृद्धिदर १२.८२% रहेको देखाएको छ । दोस्रो त्रैमासमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत थियो ।
यस अंकको औद्योगिक अवस्थिति प्रतिवेदन यस वर्षको मौद्रिक नीतिलाई केन्द्रित गरेर तयार गरिएको छ । मौद्रिक नीति र यसको उद्देश्य, तुलनात्मक अध्ययन, नेपाल उद्योग परिसंघले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा दिएको सुझाव समेत प्रतिवेदनमा समावेश छ ।