काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणप्रति टिप्पणी गरेका छन् ।
सोमबार बिहान ट्विट गर्दै रावलले प्रचण्डको दिल्ली भ्रमणक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसित भेट नभएको प्रसंगलाई ‘कच्चा कूटनीति’को संज्ञा दिएका छन् । उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुने उनले उल्लेख गरेका छन् ।
“उच्च तहको भ्रमणमा भेटवार्ता र विषयवस्तु पहिल्यै निर्धारण हुन्छन् । पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिल्ली भ्रमणमा भारतीय प्रमसँग अन्तिममा भेट हुन सकेन भनी स्वयं प्रचण्डजीले भनेको सुनियो,” उनले लेखेका छन्, “कति निरीह, स्वाभिमानहीन र कच्चा कूटनीति ! यस्तो प्रवृत्तिबाट नेपालको राजनीति र कूटनीतिलाई जोगाऔँ !”
भारतीय कांग्रेसको पछाडि लाग्दा भारतीय कम्युनिस्ट पार्टीको अवसान भएको भन्दै त्यसबाट नेपाली कम्युनिस्ट नेताले पाठ सिक्नुपर्ने उनको भनाइ छ ।