काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि हमला गरेको अभियोग लागेका योगेन्द्र रावल फेरि त्रिवि राजनीतिमा सक्रिय बन्न थालेका छन् ।
आइतबार उनले त्रिवि सेवा आयोगलाई अहिले भइरहेका परीक्षा, अन्तरवार्ता र नतिजा प्रकाशनको कार्य रोक्न चेतावनी दिएका छन् । नेविसंघका नामबाट दिइएको विज्ञप्तिमा उनले चेतावनीयुक्त भाषाको प्रयोग गरेका छन् ।
"त्रिवि सेवा आयोगका हालै र विगतमा भएका शिक्षक कर्मचारीको समग्र मूल्यांकन र नतिजाको आवश्यक छानबिन नगरी मूल्यांकन, छनौट र सिफारिसका कार्यलाई निरन्तरता दिने दुष्प्रयास भएमा नेविसंघ आन्दोलनको आँधीबेहरी सृजना गर्ने त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी त्रिवि सेवा आयोग स्वयम्ले लिनुपर्ने पनि जानकारी गराउँदछौँ," उनले दिएको विज्ञप्तिमा भनिएको छ ।
तर, रावलले सिनियरलाई बाइपास गरेर आफू निकट जुनियर व्यक्तिलाई प्राध्यापक नियुक्तिका लागि दबाब दिने गरेको स्रोत बताउँछ ।
उनी उच्च अदालत पाटनबाट ज्यान मार्ने उद्योगमा धरौटीमा छुटेका थिए । अहिले चलाउनेको मुद्दा जिल्ला अदालत काठमाडौं र सर्वोच्च अदालतमा विचारधीन छ ।
उनी त्रिविमा सक्रिय नेविसंघका चारवटा गुटमध्ये कृष्प्रसाद सिटौला गुटको स्वघोषित सचिव हुन् ।