site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हाजिर गर्न रोक लगाएपछि करारका कर्मचारीले लगाए गाउँपालिका कार्यालयमा ताला

अछाम । अछामको तुर्माखाँद गाउँपालिकामा करारमा कार्यरत कर्मचारीले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् । गाउँपालिकाले साउन १ गते (आज)देखि हाजिर गर्न रोक लगाएपछि उनीहरूले आज दिउँसो अनिश्चितकालका लागि कार्यालयमा तालबन्दी गरेका हुन् ।

आज कार्यालय प्रमुख (निमित्त प्रमुख प्रशासकीय अधिकृत) प्रेम बुढा र गाउँपालिका अध्यक्ष डम्बर बिसीसँग छलफल भएपनि सकारात्मक कुरा नभएको आन्दोलनरत पक्षका कमल बुढाले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"माग पूरा हुने नदेखिएपछि तालाबन्दी गरेका हौँ । सबै साथीहरू भेला हुँदैछौँ । भोलिदेखि गाडीसमेत चल्न नदिनेगरी आन्दोलनमा उत्रिने तयारी छ । वडा कार्यालयमा पनि ताला लगाउनेबारे कुरा भइरहेको छ," उनले भने ।

कार्यालय प्रमुख बुढाले भने करार अवधि थप्नेबारे आफूले प्रस्ताव गरेपनि कार्यापालिकाले कुनै निर्णय नगरेकाले निर्णय नभएसम्मका लागि हाजिर नगर्न भनेको बताएका छन् । 

"अहिले हाम्रा प्राय सबै कार्यालयहरू करारका कर्मचारीले नै चलेका छन् । सेवा नै करारका कर्मचारीले दिइरहेको अवस्था छ ।मैले गम्भीर भएर जनप्रतिनिधिलाई प्रस्ताव गरेको थिएँ । उहाँहरूले अहिले निर्णय गर्न सकिने अवस्था छैन भन्नुभयो," आइतबार आन्दोलनरत कर्मचारीसँग भएको वार्तामा कार्यालय प्रमुख बुढाले भनेका छन् ।

शनिबार राति गाउँपालिकाले एक सूचनामार्फत कार्यपालिकाले नि‍र्णय नगरेसम्म करारका कर्मचारीलाई हाजिर नगर्न भनेको थियो ।

पूर्वसूचनाविना एक्कासि हाजिर गर्न रोक लगाएकाले आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २०:१७
प्रतिक्रिया दिनुहोस्