site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिउँको पृथ्वी यात्रा

काठमाडौं । जोडले हावा चलिरहेको छ । हावाको वेग सुन्दा लाग्छ– गगनचुम्बी सेता हिमालमा लागिरहेको सिरेटो हो । नभन्दै हावा मत्थर हुन्छ । हिमालको हिउँ पग्लिएर बग्न थाल्छ । 

बगिरहेका हिउँ–हिँउबीच वार्तालाप हुन्छ । उनीहरू एक अर्कालाई भन्छन्, “हिमालमा मेरो विश्राम सकियो अब यात्रा फेरि सुरु हुने छ ।”

पंख फिजाए जस्तोगरी स्वतन्त्र रूपमा आफ्नो शरीर फिजाएर बगिरहेको अर्कोले थप्छ, “पग्लिएर फेरि बग्दैछु, फेरि नयाँ बाटो लिने छु ।”

आफ्नो अनन्त यात्राबारे पग्लिएर बगिरहेको अर्को हिँउले भन्छ, “यो यात्रा कति लामो र रोचक हुने छ । कहिले नसकिने अन्तत एउटा चक्रजस्तै ।”

बत्तिसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा मञ्चन भइरहेको ‘हिउँको पृथ्वी यात्रा’ले हिउँको यही रोचक र अनन्त यात्रालाई पस्किएको छ ।

हिउँको यात्रा साँच्चै अनन्त हुन्छ । घाँमसँगै पानी बनेर बग्छ । खोला, खोल्सा, नदी हुँदै समुद्रमा गएर मिसिन्छ । यात्रा अझै रोकिँदैन । फेरि बाफ बनेर आकाशमा उड्छ र बादल बनेर कहिले हिँउ त कहिले पानी बनेर बर्सिन्छ । प्रक्रिया फेरि दोहोरिन्छ । दोहोरिरहन्छ ।

नदी सजीव हो वा निर्जीव ? के नदीमा जीवन हुन्छ ? यसको उत्तर मान्छेपिच्छे फरक हुन सक्ला ।

तर, रंगकर्मी तथा निर्देशक घिमिरे युवराजले नदीमा जीवन भेटाएका छन् । ‘हिउँको पृथ्वी यात्रा’ नाटक गर्ने तय भएपछि नै उनले नदीमा जीवन भेटाएका हुन् । 

“नदीमाथि रंगमञ्च गर्ने क्रममा मेरै अज्ञानता झन् महसुस भयो । नदी त मान्छे र अरू प्राणीहरूझैँ जीवन युक्त रहेछ,” ‘हिउँको पृथ्वी यात्रा’ लेखक तथा निर्देशक घिमिरे भन्छन्, “नदीको जीवनक्रलाई उतार्न अलिकति दर्शन, अलिकति कला, अलिकति जीवन बुझ्नु पर्नेरहेछ । यो नाटकको निर्माण नदीको जीवनलाई बुझ्ने प्रक्रिया हो, मेरा लागि । नदीलाई कलाकारको शरीरमा ल्याएर उसको यात्रा, संघर्ष र अनुभूति देखाउने जटिल प्रक्रिया थियो ।”

नाटकको लेखन तथा निर्देशनमा घिमिरेलाई उनका साथी अमजद प्रवेजले सहयोग गरेका छन् ।

कलाकारहरूले संगीतको वेगसँगै आफ्नो वेगलाई हिँउकको स्वरूपमा ढाल्ने कोसिस गरेका छन् । घिमिरे युवराजले हिमालको कथालाई मनुष्यजाति र प्रकृतिमा पाइने अन्य सजीव वस्तुहरूसँग जोडेका छन् ।

बारम्बार आकाश बेजोडले गर्जिन्छ । कहिलेकाहीँ पानीका छिटाहरू पर्छन् । उनीहरू खुसी र उमंगसहित घरभित्रबाट ठुलो पानी भर्ने भाँडादेखि स–साना थाल ल्याएरपानी थाप्छन् ।

तर, फेरि बिलाएर कालो बादलको घुम्टो विस्तारै उघारेर निलो आकाश जगमग हुन्छ । त्यसपछि लाग्छ, आकाशले उसकै सहारामा जीविकोपार्जन गर्ने निम्नवर्गीय एक परिवारलाई गिज्याइरहेको छ ।

यो माछा मारेर जीविकोपार्जन गर्ने परिवार चितवन राष्ट्रिय निकुञ्ज वरिपरिका निम्नवर्गीय आदिवासी समुदायको प्रतिनिधित्व गर्ने एक  थारू परिवार हो । जो विकासको नाममा भइरहेको प्रकृतिको दोहनका प्रत्यक्ष भुक्तभोगी हुन् । 

आकाश गज्रिरहन्छ तर पानी पर्दैन । खोलानाला सुकिसके, जमिन पानी पिउन नपाएर उजाड बनिसक्यो । न बाली लगाउनलाई पानी छ, न त माछा मार्ने पोखरी र नदीहरू नै बाँकी छन् । 

झलमल बत्ती बाल्न नदीहरू सबैलाई थुनेर बाँध बनाइएको छ । यसले गर्दा मानिस जीवनलाई मात्रै होइन, चराचुरुंगीदेखि नदीमा बस्ने माछा, जंगलमा बस्ने जीवजनावरदेखि स्वतन्त्र बग्ने खोलाहरू पनि विपदमा छन् । 

पछिल्लो समय निरन्तर प्रकृतिको दोहन भइरहेको छ । हिमालको हिउँ निरन्तर पग्लिरहेको छ । जलवायु परिवर्तनलाई लिएर विश्वभर चिन्ता छ । 

अव्यवस्थित विकासले विपद् निम्त्याउँदै छ । न्यून आय भएकाहरूको बिचल्लीमा परिरहेका छन् । समाधान के हो ? विनासविना विकास सम्भव छैन ? यी यस्ता यावत प्रश्नहरूको उत्तर हो– नाटक ‘हिउँको पृथ्वी यात्रा’ । 

नाटकले प्राकृतिक विपद्ले निम्त्याएको विनाशसँगै राजनीतिक चलखेल, शक्तिको दुरूपयोग र समाजसेवाको नाममा गरिने सस्तो प्रचारबाजीलाई पनि व्यंग्य गरेको छ । 

मञ्चमा पवित्रा खड्का, संगीता उराँव, झकेन्द्र बि.सी., ज्योति पोखरेल, रविन परियार, गोविन्द ओली, हिमाल भुजेल, सुशिला लोहार, अनि ज्याक बरालको अभिनय देख्न सकिन्छ । नाटकमा अनुप तिमिल्सिना र स्मारिका फुँयालले प्रत्यक्ष संगीत भरेका हुन् । 

कालेबुङ अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा मञ्चन भइसकेको र काठमाडौं बाहिर १२ पटक मञ्चन यो नाटक साउन १ गतेदेखि १५ गतेसम्म शिल्पीको गोठाले नाटकघरमा मञ्चन हुँदै छ । मंगलबार बाहेक हरेक दिन साँझ ५ः३० बजे र शनिबार अतिरिक्त सो पनि हुने छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १७:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro