site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै
प्रतीकात्मक तस्बिर ।

वासिङटन । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्त तथा साथीभाइकामा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारीसाधन हुँइक्याएर टाढाटाढासम्मको यात्रालाई पनि अहिले थाती राखेका छन् ।

घरमै पर्याप्त मात्रामा खानेकुरा पकायो, सम्भव भएसम्म रेस्टुराँ नगयो, घरै बस्यो । छोटो दूरीमा मात्र यात्रा गर्‍यो । खर्च जोगाउन यस्तै दैनिकी बनेको छ, अमेरिकीको हिजोआज ।

उत्तरी भर्जिनियास्थित एउटा सुपथ मूल्य खुद्रा पसलमा भेटिएका जोन खाद्यवस्तुको चर्को मूल्यवृद्धिका कारण घरमा आफैँ विविध परिकार पकाउन थालेका छन् । आफ्नो पहिलो नाम मात्र बताउन चाहने उनी विरलै रेस्टुराँतिर जान्छन् । सरकारी कर्मचारी उनी एक झोला कुखुराका साँप्रा र १० टुक्रा कुखुराका पखेटाको मूल्य उस्तै भएको बताउँछन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

दशकौँपछि अमेरिकामा महँगी अचाक्ली बढेको छ । खर्च जोगाउन धेरै अमेरिकी नागरिकले विविध उपाय अवलम्बन गरेका छन् । अमेरिकी उपभोक्ता मूल्य सूचकांक चार दशकपछि पहिलोपटक गएको जेठमा ९.१ प्रतिशतले बढेको थियो । त्यसयता खाद्य सूचकांक १०.४ प्रतिशतले बढ्दा मध्यमवर्गीय अमेरिकीलाई हातमुखजोर्न धौधौ भएको छ ।

मूल्यवृद्धि नभएका कुनै वस्तु छैनन् । दशौँ लाख अमेरिकी इन्धनको मूल्य बढेपछि थप पिरोलिएका छन् ।

चर्को मूल्य चुकाएर हवाईजहाजबाट यात्रा गर्ने चाहना पनि अब धेरैको रहेन । न्युयोर्क महानगरका सेवा निवृत्त शिक्षिका ग्लोलिया ब्रान्डम्यानले हवाईजहाज नचढेको धेरै भयो । भाडा महँगो भएकाले जहाजको सट्टा मोटरकारमा यात्रा गर्दै आएको बताउने उनले पेट्रोलको बढेको मूल्यले अब त्यसमा पनि यो वर्ष कटौती गर्ने तरखरमा आफू रहेको सुनाइन् । पुरानो कारलाई मर्मत–सम्भार गरेर दौडाइरहेको उनले बताइन् । उच्च मूल्यकै कारण नयाँ कार किन्न नसकेको उनको कथन छ ।

उत्तरी भर्जिनियाका स्थायी बासिन्दा जेम्स पेट्रोलको मूल्यवृद्धिले तनाव बढाएको दुःखेसो गर्छन् । हरेकपटक कारको इन्धन ट्यांक भर्दा उनले थप ३० डलर तिर्नुपर्छ । पाएसम्म र भ्याएसम्म सार्वजनिक यातायात सेवा प्रयोग गर्ने गरेको उनले बताए ।

घरभाडा पनि अनपेक्षित रूपमा बढेको छ । त्यो अहिले १२ देखि २० प्रतिशतले वृद्धि भएको छ । केन्टकीको किराना पसलमा काम गर्ने आफ्नी भतिजी घरभाडा तिर्न नसकेर आफूसँगै बस्न आएकी आर्था फक्स जोन बताउँछिन् ।

बढ्दो आवास भाडाले घरबारविहीनको संख्या बढ्ने चिन्ता पनि अमेरिकामा बढेको छ । देशको अर्थतन्त्रसँग पनि अमेरिकी नागरिक खुसी नभएका अन्तरराष्ट्रिय मुद्रा कोषका एकजना पूर्वअधिकारीले बताएका छन् । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९  १८:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro