
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बिहीबार (आज) २३ जनाले धारणा राखे । उनीहरूमध्ये केही निर्वतमान तथा पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्य थिए ।
बैठकमा केन्द्रीय सदस्यहरू बलबहादुर केसी, अर्जुननरसिंह केसी, मिनाक्षी झाले पार्टी सभापति शेरबहादुर देउवाको विपक्षमा आवाज उठाए । बलबहादुर केसीले गठबन्धनको पक्षमा उभिनेहरूमात्र 'देउवाको मान्छे हो ?' भन्दै प्रश्न गरे । संविधान जोगाउन गठबन्धन गर्नुपर्छ भन्दा देउवा भागेको तर आफूहरूले गठबन्धन गर्न बाध्य पारेको उनको दाबी छ ।
“अहिले गठबन्धनका कारण सत्ता पाएपनि पार्टी कमजोर भएको छ । सभापतिले बलियो छ भन्दैमा म मान्दिनँ । गाउँगाउँमा गठबन्धनका कारण पार्टी अनुशासनभन्दा बाहिर गएको छ,” उनले भने, “नेपाली कांग्रेसको हालत असनमा साँढे छोडेजस्तो भएको छ । यो बैठकमा हप्काएजस्तो गाउँमा स्थिति छैन ।”
नेता केसीले कांग्रेससँग ४० प्रतिशत मत भएको र गठबन्धनको विपक्षमा रहेको मतलाई बाइपास गरेर अर्को निर्वाचनमा गठबन्धन गरे परिणाम घातक हुने बताएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए । उनले 'पार्टी कहाँ र कुन पैसाबाट चलिरहेको छ ?' भन्दै प्रश्न गरेको पनि ती केन्द्रीय सदस्यले बताए ।
“पार्टी कहाँ कुन पैसाले चलेको हो ? विदेशी पैसाले हो कि कालो पैसाले हो कि ? कहाँको पैसाले चलेको हो ?,” उनले प्रश्न गरे, “पार्टी सिद्धान्तले चलेको छ ? विचारले चलेको छ ? कांग्रेसकै सिनियर मान्छेलाई सिध्याउने प्रयास भइरहेको छ ।”
नेता केसीले सभापति देउवालाई बाँचुन्जेल सभापति बन्ने रहर भए बन्न तर गुट र सीमित व्यक्तिको घेराको सभापति नबन्न आग्रह गरे । उनले विचार र सिंगो कांग्रेसको सभापति बने सबै साथ दिने बताए ।
सिटौलाले डर– वाम एकता भए कांग्रेसको बिजोग हुन्छ
बैठकमा पूर्वमहामन्त्री तथा वर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले आउँदो चुनावमा वाम गठबन्धन भए पुनः कांग्रेसको हैसियत खोसिने बताए । उनले माओवादी केन्द्र बोकेर पार्टी सभापतिले उपयुक्त कदम चालेको र यसलाई निरन्तरता दिनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए ।
गएको स्थानीय चुनामा वाम एकता भए अहिलेको नतिजा नआउने उनको बुझाइ छ । अब संघीय चुनावमा पनि वाम एकता हुन नदिन कांग्रेसको भूमिका हुनुपर्नेमा उनले जोड दिएको बैठकमा सहभागी अर्का एक केन्द्रीय सदस्यले बताए ।
“स्थानीय चुनावमा वाम गठबन्धन भएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो,” उनले प्रश्न गरे, “भोलि वाम एकता भयो भने हाम्रो हालत के हुन्छ ?”
सिटौलाले आउँदो प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा गठबन्धनको बारेमा अहिले नै टुंगो लगाउन आवश्यक नभएको पनि बताएका थिए । “गठबन्धन यसरी गर्नुपर्छ भन्ने अहिले टुंगो लगाउन आवश्यक छैन । देश जता जान्छ त्यतै जाने हो, धेरै साथीहरूले गठबन्धन गरौँ नगरौँ भन्नुभयो । तर, त्यो परिस्थितिले भन्ने कुरा हो,” सिटौलाको भनाइ उद्धृत गर्दै ती केन्द्रीय सदस्यले भने ।
गठबन्धनका कारण केन्द्र, प्रदेश र स्थानीय तहमा कांग्रेसको सरकार बनेको र जनताका कुरा सुनिन थालेको सिटौलाको भनाइ थियो । सिटौलाले अहिलेको आर्थिक संकट आउनुको कारण आफूहरू नभएको पनि बताएका थिए ।
“अहिलेको आर्थिक संकट हाम्रो कारणले आएको होइन । हामीले गरेर पनि केही सक्दैनौँ । तर, जनताको नजरमा सरकारले केही गर्दैछ भन्ने त पर्नु पर्यो नि ! भरोसा जनतालाई दिनु पर्यो नि ! म ध्यानाकर्षाण गराउँछु,” सिटौलाले भनेका थिए ।
कांग्रेसको सिट घट्नुमा निर्वाचन आयोग दोषी !
बैठकमा केन्द्रीय सदस्य सुनील थापाले निर्वाचन आयोगको असावधानीका कारण स्थानीय निर्वाचनमा सिट गुमाएको धाराणा राखे । निर्वाचन आयोगको मतपत्र छपाइ अन्तर्राष्ट्रिय मान्यताविपरीत भएको भन्दै उनले त्यसको असर कांग्रेलाई परेको बताए ।
“नेपाली कांग्रेसले स्थानीय तहमा धेरै सिट जित्थ्यो । तर हामीले केही प्राविधिक त्रुटिका कारण हार्यौँ,” थापाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “हाम्रो दोष यसमा छैन । मतपत्र जसरी छापियो त्यो अन्तर्राष्ट्रिय मान्यताविपरीत भयो ।”
निर्वतमान सहमहामन्त्रीसमेत रहेका थापाले उमेदवार नै नभएको ठाउँमा पार्टीको चुनाव चिह्नसहितको मतपत्र आयोगले छाप्दा मत बदर भएको र परिणाम उल्टो आएको बताए ।
साथै उनले राप्रपा परित्याग गरेर आफूसँगै आएका नेताहरूले जिम्मेवारी नपाएको गुनासो गरेका थिए । बैठकमा उनले राप्रपाबाट आएका नेताहरूलाई भूमिका दिन आग्रह गरे ।
“राप्रपाबाट त्यत्रो पद र हैसियत छोडेर धेरै साथीहरू आउनुभयो, मेरो विश्वासमा आउनुभयो । तर, अहिले उहाँहरूलाई खै भूमिका ? भूमिका दिनुपर्दैन ?,” थापाको भनाइ थियो ।
मधेसमा संगठन सिध्याउन देउवा सक्रिय भएको आरोप
बैठकमा निर्वतमान उपसभापति विमलेन्द्र निधिले पार्टीविरुद्ध बागी उठेर स्थानीय तह निर्वाचन जितेकाहरूलाई कांग्रेसले ससम्मान फिर्ता बोलाउनुपर्ने माग गरे । निधिले बर्दिवासका मेयर प्रह्लाद क्षेत्री र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाहलाई सम्मानसहित पार्टीमा फिर्ता बोलाउनुपर्ने माग गरे ।
अर्को प्रसंगमा उनले पार्टीबाहिर मात्र नभएर पार्टीभित्र पनि गठबन्धन गर्नुपर्ने धारणा राखे । उनले पार्टीमा देउवाबाहेक शेखर कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेल–शशांक कोइराला र आफ्नो पनि छुट्टै गुट भएकाले उचित व्यवस्थापन गर्नुपर्ने धारणा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
उनी निकट केन्द्रीय सदस्य मिनाक्षी झाले भने मधेसमा कांग्रेस सिध्याउन सभापति शेरबहादुर देउवा नै लागिपरेको आरोप लगाइन् । जनकपुरजस्तो रणनीतिक ठाउँमा प्रमुख पद नै जसपालाई दिएकोमा आक्रोश पोख्दै उनले मधेसमा 'संगठन सिध्याउन खोजेको हो ?' भन्दै प्रश्न गरेकी थिइन् ।
“हाम्रो प्रतिष्पर्धा गर्ने पार्टीलाई टिकट दिएर कांग्रेस सिध्याउन खोजेको हो ?,” झालाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने, “तराईमा कांग्रेस चाहिँदैन सभापतिज्यू ? किन महत्व बोकेको जनकपुरमा हामीलाई टिकट दिइएन ?”
झाले जसपालगायत क्षेत्री पार्टीहरूसँग भिड्नुपर्ने अवस्थामा उसैलाई टिकट दिएपपछि कांग्रेस कसरी संगठित र बलियो हुन्छ भन्दै प्रश्न गरेकी थिइन् । “कांग्रेस बनाउन हो कि सिध्याउन ? हामी लगातार बनाउन लागेका छौँ, पार्टीको मूल नेतृत्व सिध्याउन,” झाको आक्रोश थियो ।
देउवाले भने– हतियार किन्ने कुरै छैन
प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बैठकको अन्तिममा बोलेका थिए । केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र गोपालमान श्रेष्ठले देउवालाई सरकारले प्रहरीलाई हतियार किन्न तयारी गरिहेको भन्नेबारे प्रश्न गरेका थिए । उनीहरूले देशको अर्थतन्त्र कमजोर बनेका बेला कि हतियार खरिद गर्नुपर्यो भनेर देउवालाई प्रश्न गरेका थिए ।
जवाफमा देउवाले हतियार किन्ने कुनै योजना नभएको बताए । उनले आफूले यस विषयमा गृह मन्त्रीलाईसमेत निर्देशन दिने बताए ।
“प्रहरीलाई हतियार किनिँदैन । अहिले आवश्यक पनि छैन । त्यो निर्णय होइन । त्यो हतियार अहिले किन्दैनौँ,” देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
बिहीबारको बैठमा विभागीय मन्त्रीहरूले मन्त्रालयले गरेको एक वर्षे उपलब्धिबारे जानकारी गराएका थिए ।
केन्द्रीय समितिको अर्को बैठक शनिबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।