काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले नेपालमा जन्म भएकाले नेपाली नागरिकता पाउनुपर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद रिजालले ‘एउटा अनुहारका नागरिकले सहजै नागरिकता पाउने, अर्काे अनुहारका मानिसहरूलाई मधेसी होइन विदेशी हो’ भनेर नागरिकता नदिने बाटोबाट देशको उन्नति नहुने दाबी गरे ।
“कुनै पनि विशेष खालको अनुहारलाई नेपालको नागरिक होइन भन्ने कुनै पनि अधिकार छैन । यहाँ बस्ने सांसद होउला, जनताका प्रतिनिधि होउला,” उनले भने, “तर, नेपालमा जन्मेको, नेपालमा नागरिकता पाउने अधिकार भएको कुनै पनि व्यक्तिलाई नागरिकताबाट बन्चित गर्ने अधिकार छैन ।”
नेपाली नागरिकले नेपालको नागरिकता पाउनुपर्छ भनेर संविधानले लेखेको भए पनि अहिलेसम्म सबै नेपाली नागरिकले नागरिकता प्राप्त गर्न नसकेको उनले बताए ।
“साढे पाँच वर्षदेखि मान्छेहरू पर्खिएर बसेका छन् । सर्टिफिकेट, रोजगारी, विदेश जान पाएको छैन । त्यसलाई कति दिनसम्म रोक्ने ?,” रिजालले भने, “यो गलत छ । यसको अन्त्य हुनुपर्छ ।”
रिजालले अहिलेको नागरिकता विधेयकले नै सबै समस्या समाधान नगर्ने पनि बताए ।
उनले कुनै पनि विदेशीले नागरिकता पाउन नहुने बताए । “एउटा कुनै पनि विदेशीले नेपालको नागरिकता पाउनु हुँदैन,” उनले भने, “एउटा कुनै पनि नागरिकको कुनै पनि नाममा नागरिकता रोकिनु हुन्न ।”