काठमाडौं । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट उमेदवारी दिएकाहरूलाई कारबाही गर्न नहुने बताएका छन् ।
जारी केन्द्रीय कमिटी बैठकमा बिहीबार उनले उनीहरूलाई कारबाही नै गर्ने भए सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलबाट कारबाही सुरु गर्नुपर्ने बताए ।
“जहाँसम्म चुनावमा असहयोग गरेको कुरा छ । तिनीहरूलाई कारबाही गर्ने कुरा पनि उठेको छ,” उनले भनेका छन्, “गठबन्धन भएका ठाउँमा स्वतन्त्र उठेका र असहयोग गरेकालाई कारबाही गर्ने हो भने सबैभन्दा पहिला शेरबहादुरजी र रामचन्द्रजीलाई गर्नुपर्छ । किनभने उहाँहरूले नै हो हामीलाई अन्त भोट हाल्न सिकाएको हो ।”
उनले आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर विभाजित नहुन पनि आग्रह गरे । उनले सबैलाई मिलाएर लैजान सुझाव दिए ।