site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शेखर समूहको चर्को आलोचना, फेरि सभापति बन्ने देउवाको रहर !

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बुधबार ४८ जना केन्द्रीय सदस्यले बोले । बैठकमा अधिकांशले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आलोचना गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

बैठकमा केन्द्रीय सदस्य रमेश रिजालले दुवै महामन्त्री मिडिया केन्द्रित भएको आरोप लगाए । महामन्त्रीद्वय ट्विटर र स–साना गुट भेला गरेर मिडियामा रमाएको उनको आरोप छ । 

“तपाईंहरू अतिवादमा जाँदै हुनुहुन्छ यो राम्रो भएन । मिडियामा जाने अनि कुरा गर्ने, छुट्टै गुट भेला गर्ने यो राम्रो भएन,” रिजालको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने । 

अर्का केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले त महामन्त्रीद्वयले 'केटाकेटी हर्कत' जारी राखे आफूहरू बहिस्कार गर्न बाध्य हुने चेतावनी नै दिए । ती केन्द्रीय सदस्यका अनुसार बुढाथोकीले शेखर कोइराला समूहलाई गुट बैठक राख्न पार्टी कार्यालयमै कोठा दिन व्यंग्यात्मक प्रस्ताव राखेका थिए ।

“शेखरजीहरूलाई गुट भेला गर्न यहीँ एउटा कोठा दिनुपर्‍यो । बाहिर गुट भेला गरेर पार्टीलाई फाइदा हुँदैन,” बुढाथोकीले भनेका थिए, “महामन्त्रीहरू नेता हुन्, अहिले प्रस्तुत गरेको व्यवहार केटाकेटीको जस्तो भयो । यस्तै हो भने हामी बहिस्कार गर्छौं ।”

जवाफमा सभापति शेरबहादुर देउवाले पनि शेखर समूहलाई सधैँ पार्टीका बैठक नहुने भएकाले गुटगत भेला केन्द्रीय समिति बैठक बसेको हलमै गर्न आग्रह गरेका थिए ।

अर्का केन्द्रीय सदस्य राजीव ढुंगानाले महामन्त्रीद्वयले केन्द्रीय समितिमा कुरा नराख्ने तर बाहिर अर्कै गतिविधि गर्ने गरेको भन्दै प्रश्न गरेका थिए । विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने विषय पहिले केन्द्रीय समितिमा छलफल हुनुपर्नेमा महामन्त्रीद्वय छलफलै नगरी  निर्वाचन आयोग गएकोप्रति उनले आपत्ति जनाए ।

“पार्टीको निर्णय संस्थागत हुनुपर्छ । आफू खुसी गएर कुरा गर्दै जाने हो भने भोलि अर्को पदाधिकारी कोहीसँग कुरा गर्लान् । त्यसलाई पार्टीको निर्णय कसरी मान्न सकिन्छ,” ढुंगानाले बैठकमा भनेका थिए, “जे कुरा गर्नुपर्छ केन्द्रीय समितिको बैठकमा गरौँ । पार्टी प्यालेसमा बोलेर पार्टी सुध्रिने हो भने किन पार्टी कार्यालयमा बैठक गर्ने ? पार्टी प्यालेसमानै गरौँ ।”

केन्द्रीय सदस्य रामजनम चौधरीले महामन्त्रीहरूले मिडियामा जनता र कांग्रेसीप्रति हौसला दिने विषयमा बोल्नुपर्ने धारणा रोखका थिए । उनले महामन्त्रीहरूबाट निराशाका अभिव्यक्ति मात्र आएको उनको गुनासो थियो ।

सञ्जय गौतमसँग देउवाको आक्रोश– मलाई धेरै नजिस्काउनू, विधान संशोधन गरेर फेरि सभापति बन्छु 
बैठकमा शेखर समूह निकट केन्द्रीय सदस्य सञ्जय गौतमले स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर केही सिट बढेको देखिएपनि कांग्रेस पार्टी भने पराजय भएको बताएका थिए । उनले फेरि गठबन्धन गरेर चुनाव जितिए पनि कांग्रेस हार्ने बताएका थिए ।

त्यसपछि देउवा आक्रशित बने । आक्रोशमा उनले काम गर्न नदिए आफू विधान संशोधन गरेर फेरि सभापति बन्न सक्ने चेतावनी दिएका थिए । 

“मलाई धेरै नजिस्काउनुहोस् तपाईंहरू, म राम्रो पार्टी बनाएर योग्य नेतालाई संगठन बुझाउन चाहान्थे । यस्तै तपाईंहरूले गर्ने भए विधान संशोधन गरेर फेरि सभापति हुन सक्छु,” देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।

देउवाले गौतमलाई 'बर्दियामा कहिलेदेखि हारेको थाहा छ नि ?' भन्दै प्रश्न गरेका थिए । 

अर्का सदस्य रामशरण महतले जित्ने ठाउँमा गठबन्धन गर्न नहुने बताए । कांग्रेस नजित्ने ठाउँमा मात्र गठबन्धन गर्नुपर्ने उनको तर्क थियो ।

यस्तै केन्द्रीय सदस्य चन्द्रमोहन यादवले गठबन्धनका कारण आफूहरूले चुनाव जितेको कुरामा सत्यता नभएको बताए । उनले नेकपा फुटेर मात्र कांग्रेसले चुनाव जित्न सकेको बताए ।

बोल्न समय अपुग भएको गुनासो
सोमबारबाट सुरु भएको बैठकमा बोल्ने प्रत्येक केन्द्रीय सदस्यहरूलाई पाँच मिनेटको समय छुट्याइएको छ । तर, धेरै केन्द्रीय सदस्यहरूले समय अपुग भएको गुनासो गरेका छन् ।

“सबै कुरा कार्यसम्पादनमा निर्णय गरेर आउँछन् । पाँच मिनेट बोल्न दिन्छन्, कति कुरा राख्ने के बोल्ने ?  बोल्न नदिने भए किन यत्रो कमिटी बनाएको ? सानो बनाएको भए हुन्थयो नि !,” केन्द्रीय सदस्य गोविन्द भट्टराईले गुनासो गरे । 

देउवाको हस्तक्षेप
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी बोलिरहेका देउवाले हस्तक्षेप गरेका थिए । शिवाकोटीले दुई मिनेट बोलेपछि देउवाले 'अर्को अर्को' भन्दै हस्तक्षेप गरे ।तर उपसभापति पूर्णबहादुर खड्काले अझै टाइम छ भनेपछि शिवाकोटीले थप बोल्न पाएको एक सदस्यले जानकारी दिए । 

बैठक बिहीबार पनि जारी रहने छ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा मन्त्रीहरूले सरकारको एक वर्षको कामको बारेमा जानकारी दिनेछन् । यस्तै, पदाधीकारीहरूले आ–आफ्नो धारणा राख्नेछन् ।

बैठक बिहीबार नै सक्ने तयारी कांग्रेसको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २९, २०७९  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro