काठमाडौं । नेपालमा सेक्युरिटिज, मोटर्स र अन्य व्यवसाय चलाइरहेको केटीएम ग्रुपले संसारका ६० देशमा १ हजार ६ सय होटल संचालन गरिरहेको युरोपको प्रतिष्ठित ब्रान्ड लुभ्र होटल्स ग्रुपसँग सम्झौता गर्दै चितवनको सौराहामा भर्खरै तयार भएको एक पाँच तारे रिसोर्ट होटल संचालन गर्ने घोषणा गरेको छ । लुभ्र गु्रप संसारकै होटल संचालक मध्ये पाँचौं ठूलो मानिन्छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा केटीएम ग्रुपका अध्यक्ष तथा मुख्य कार्यकारी रामेश्वर शाह तथा लुभ्र होटल्स ईण्डियाका निर्देशक अजय के बकायाले होटल संचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे ।
आगामी वर्ष सञ्चालनमा आउने यो पाँचतारे रिसोर्ट होटलमा ६४ कोठा र उच्चतम विलासिताको सुविधा दिने वाटरफल–स्विमिङपुल, जिम, स्पा आदि हुनेछन् । ‘द फरेस्ट फ्रन्ट’ नामको बुटिक रिसोर्टको रुपमा गतवर्ष शिलान्यास भएको यो होटल अब लुभ्र ब्राण्डको उच्चतम लेभल रोयल ट्युलिप नामबाट पनि चिनिने छ । लुभ्र होटल ग्रुप्समा कूल ११ तहका ब्राण्ड होटलहरू छन् र तिनीहरू मध्ये सबैभन्दा विलासी, उच्चतम सुविधा र पाँच तारे सुविधा सहितको होटललाई रोयल ट्युलिप भनिन्छ ।
सन् १९७६ मा फ्रेन्च ब्राण्डको रुपमा स्थापित लुभ्र होटल्स गु्रप सन् २००९ मा गोल्डन ट्युलिप हस्पिटालिटीसँग मिलेपछि संसारभर फैलिन थालेको हो । सन् २०१५ मा यो होटल समूहलाई चीनको चीन चियाङ इन्टरनेशनलले खरिद गरेपछि निकै ठूलो समूहको रुपमा अगाडि बढेको छ । हालैमात्र यो समूहले भारतको सरोबर होटल समूहलाई पनि आफूभित्र समाहित गरेर भारतमा पनि ठूलो रुपमा प्रवेश गरेको छ । अहिले भारतको कूल होटल व्यवसायको ५–७ प्रतिशतमा कब्जा जमाएको यो होटलले अब यो अंक दोब्बर बनाउने तयारी गरेको छ । अहिले चीन चियाङ इन्टरनेशनलले भारतमा मात्र १३० होटल व्यवस्थापन गरिरहेको छ ।
नेपालमा रोयल ट्युलिप ब्राण्ड ल्याउने केटीएम समूहले सुरुमा आउट सोर्सिङ कंपनीबाट व्यवसायमा प्रवेश गरेको हो । सिरहाको लाहानमा जन्मिएका र भारतबाट चार्टड एकाउन्टेन्सीको अध्ययन गरेका रामेश्वर शाह अध्ययन पश्चात करिब १६ वर्ष एक बहुराष्ट्रिय कम्पनीमा रहेर मध्यपूर्वका देशमा काम गरेका थिए । उनी गैह्र आवासीय नेपाली संघका उपाध्यक्ष समेत भएका थिए । त्यसपछि नेपाल आएर आउट सोर्सिङ अनि मोटर्स, तालिम कन्सलटेन्सी, व्यवस्थापन सेवा तथा केटीएम इन्टरनेशनलको नाममा वैदेशिक व्यापारमा पनि संलग्न भएका शाहको पर्यटन् क्षेत्रमा यो पहिलो पाइला हो । सौराहामा रहेको आफ्नो जग्गामा फार्म हाउस बनाउने सोचबाट सुरु भएको उनको पर्यटन व्यवसायको यात्रा अन्ततः विलासी पाँच तारे बुटिक रिसोर्ट बनाएर सुरु भएको छ ।
तस्बिर : रामेश्वर शाहको फेसबुक पेजबाट