site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्त्री नपाएर चुनाव नलड्ने घोषणादेखि हिन्दु भोट तान्नुपर्नेसम्मको माग

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा दोस्रो दिन (मंगलबार) पनि स्थानीय चुनावको समीक्षा, गठबन्धनको औचित्य, सरकारको कामकारबाहीदेखि आगामी संघीय चुनावमा पार्टीको रणनीतिसम्मको चर्चा भयो ।

आजको बैठकमा ३३ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए । बोल्नका लागि प्रत्येक केन्द्रीय सदस्यलाई पाँच मिनेटको समय दिइएको थियो । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले आगामी निर्वाचानमा गठबन्धन गर्नुपर्नेमा जोड दिए ।

बैठकमा देउवा निकट केन्द्रीय सदस्य मोहन बस्नेतले आगामी निर्वाचनमा गठबन्धन गर्न सकिने तर आफ्नो निर्वाचन क्षेत्रमा भने लागु नहुने बताए । उनले अहिले नै आफ्नो निर्वाचन क्षेत्र माओवादी केन्द्रको भागमा पारे विद्रोह गर्ने चेतावनी दिएका छन् । बैठकमा उनले आफू समानुपातिकतर्फबाट सांसद कुनै पनि हालतमा नबन्ने घोषणा नै गरेका छन् ।

“१० करोड दिएपनि म समानुपातिक बस्दिनँ । गएको निर्वाचनमा पनि खासै गठबन्धन भएन,” बस्नेतको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “म गठबन्धनको विपक्षमा छैन । अरू ठाउँ गर्नुहोस् । मेरो निर्वाचन क्षेत्रमा माओवादीलाई छाड्दिनँ । मैले टिकट छाड्न परे विद्रोह हुन्छ ।”

बस्नेत अघि बोलेका केन्द्रीय सदस्य तथा सांसद जिपछिरिङ लामाले भने आफू अब दोलखाबाट प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरे । आफूभन्दा जुनियरलाई मन्त्री तथा अन्य लाभदायक पद दिएको उनको गुनासो थियो ।

“म एक चुनाव लड्दिनँ, दुई लड्दिनँ । आफूभन्दा जुनियरले अवसर पाए हामीले पाएनौँ भनेर उहाँले बैठकमा कुरा राख्नुभयो,” अर्का एक केन्द्रीय सदस्यले भने, “समानुपातिकमा सिट सुरक्षित गर्नेगरी बोल्नुभएको जस्तो छ । उहाँले प्रत्यक्ष नलड्ने भन्नुभएको हो ।”

बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरू गठबन्धनको पक्षमा खुलेका छन् । अर्थात् उनीहरूले देउवालाई साथ दिएका छन् । गठबन्धनको विपक्षमा रहेका नेताहरूले भने यसलाई 'टिकट पाउन देउवालाई फकाउने रणनीति'को रूपमा अर्थ्याएका छन् ।

केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गठबन्धन गर्दा नेकपा (एकीकृत समाजवादी)ले पाउने हैसियतको मोडालिटी अहिले स्पष्ट हुनुपर्ने माग गरे ।

प्रदेश सभापतिहरूको माग– हाम्रो वरीयता केन्द्रीय सदस्यभन्दा माथि हुनुपर्छ
बैठकमा पार्टीभित्रको मर्यादाक्रमबारे विवाद भएपछि कांग्रेसमा नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी छ । बैठकमा नयाँ मर्यादाक्रम निर्धारणका लागि मस्यौदा पनि प्रस्तुत भएको छ ।

यसअघि वरीयताको माथि वा तल हुने भन्नेबारे नेताहरूबीच विवाद भएपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए । उनीहरूले तयार पारेको वरीयताको मस्यौदा केन्द्रीय कार्यसमितिको बैठकमा पेस भएको छ ।

सहमहामन्त्री पाण्डेले छलफलका लागि मर्यादाक्रमको मस्यौदा बैठकमा प्रस्तुत गर्दै विधानले व्यवस्था गरेको तहगत संरचनाको आधार, पदाधिकारी, सदस्यको मर्यादाक्रम, सरकारको मर्यादाक्रम र वर्तमान तथा भूतपुर्व पदको आधारमा मस्यौदा तयार पारेको बताए ।

मस्यौदामा कांग्रेसमा वरिष्ठ नेता हुने व्यवस्था हटाइएको छ । अहिले सभापति देउवाले महाधिवेशनमा सहयोगी बनेका नेता रामचन्द्र पौडेललाई वरिष्ठ नेताको रूपमा दोस्रो वरीयतामा राखेका छन् ।

प्रस्तावित मस्यौदामा वरीयताको सबैभन्दा माथि केन्द्रीय सभापति त्यसपछि क्रमशः पूर्वकेन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलको नेता हुने व्यवस्था छ । त्यसपछि पार्टीका केन्द्रीय पदाधिकारी राख्ने प्रस्ताव गरिएको छ । 

प्रस्तावित मस्यौदामा प्रदेश सभापतिहरूले भने आपत्ति जनाए । उनीहरूले बैठककै बिचमा छुट्टै छलफल नै चलाए । आफूहरूको हैसियत पूर्व केन्द्रीय पर्दाधिकारीपछि हुनुपर्ने उनीहरूको माग छ । मस्यौदामा उनीहरूको हैसियत ११ नम्बरमा राखिएको छ ।

गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मर्यादाक्रम नमिलेको बताए । “मर्यादाक्रम मिलेन, विधान र परम्परा बस्ने भएन । मैले यति काम गर्दा यो मर्यादा पाउँछु भनेर यकिन गर्ने ठाउँ हुनुपर्‍यो । यो अत्यन्तै ठूलो महत्वको विषय हो,” उनले भने ।

उनले पूर्व पदाधिकारी भन्दा तल प्रदेश सभापति रहनुपर्ने माग राखका छन् ।

“पूर्व पदाधिकारी भन्दा तल प्रदेश सभापति रहनुपर्छ भनेर लिखित रूपमा राखेका छौँ । केन्द्रीय सभापतिको सरह हैसियत चाहिन्छ । केन्द्रीय सदस्य भन्दा हामीमाथि हुनुपर्छ,” उनले भने ।

प्रकाश स्नेहीको माग– हिन्दु धर्मावलम्बीको भोट हामीले तान्नुपर्छ
बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले ‘कांग्रेसको भोट बैंक के हो ?’ भन्दै प्रश्न गरे । उनले हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजानेबारे पनि छलफल हुनुपर्ने बताए । 

“धर्म नमान्ने कम्युनिस्ट हुने, धर्म मान्ने राप्रापा हुने, कांग्रेको भोट बैंक के हो ?,” उनले भने, “हिन्दु धर्मको विषय लिएर निर्वाचनमा जाने कि नजाने ? छलफल गरौँ ।” उनले धर्मनिरपेक्षताको विषय पुनरवलोकन गर्न जरुरी रहेको पनि बताए ।

समानुपातिक निर्वाचन प्रणाली खारेज गर्नुपर्ने उनले उल्लेख गरे । संघीयताका बारेमा बहस चलाउनुपर्ने उनको भनाइ छ । “संंघीयता आएको यत्रो वर्ष भयो, संघीयताका बारेमा छलफल र बहस चलाउनुपर्छ,” उनले भने, “तीन करोड जनसंख्यालाई सात प्रदेश छ, प्रदेशका मन्त्रीलाई, नेतालाई यति थोरै अर्थ व्यवस्थाले कसरी धान्ने ?”

शेखरलाई जितजंगको काउन्टर !
केन्द्रीय सदस्य जितजंग बस्नेतले नेता शेखर कोइलाले आफूमाथि पार्टी सभापति शेरबहादुर देउवाले सुराकी खटाएको भनेर प्रोपोगान्डा गरेको आरोप लगाए । बैठकमा बस्नेतले सुराकी खटाएकोबारे पहिले नै भन्नुपर्ने बताए । 

“उहाँले (शेखर कोइराला)ले आफूमाथि सुराकी लगाएको भनेर त्यतिबेला किन नभनेको ? त्यही बेला भनेको भए अर्कै कुरा हुन्थ्यो । अहिले किन प्रोपोगान्डा गर्नुभयो ? त्यही बेला भनेको भए हामी पनि तपाईंको पत्रकार सम्मेलनमा आउँथ्यौँ,” उनले भने ।

शेखरले सोमबारको बैठकमा निर्वाचनका बेला आफूमाथि सुराकी खटाएको आरोप लगाएका थिए ।

पार्टीको केन्द्रीय सदस्य बैठक बुधबार पनि जारी रहने छ । बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १९:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro