काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग कागजात माग्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको पहिलो बैठकले समितिको कार्यविधि पास गर्दै पूर्व अर्थमन्त्री शर्मासँग सम्बन्धित विवरणका लागि पत्राचार गर्ने निर्णय गरेको समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।
उनले आजको बैठकले छानबिन समितिको सभापति सर्वसम्मतिबाट छान्ने निर्णय भएको पनि बताए । सचिव अर्यालले सर्वसहमतिबाट सभापति छान्न सदस्यहरूले आन्तरिक छलफल गर्ने विषयमा छलफल भएको बताए ।
आजको बैठको सभापतित्व ज्येष्ठ सदस्यका हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले गरेका थिए । अर्को बैठक बुधबार दिउँसो साढे २ बजे बस्ने छ ।
पूर्व अर्थमन्त्री शर्माले अर्थमन्त्री हुँदा २०७९/०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको थियो । त्यसपछि ११ सदस्यी संसदीय विषेश छानबिन समिति गठबन भएको थियो ।
शर्माले संसदीय छानबिन समिति बनेसँगै अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । छानबिन समितिले पहिलो बैठक बसेको १०
दिनभित्र प्रतिवेदन तयार पारिसक्नु पर्ने छ ।