काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुनुपर्ने बताएका छन् । जारी केन्द्रीय समिति बैठकमा मंगलबार नेता पौडेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकोजस्तो गल्ती नगर्न सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।
“राष्ट्रिय समस्या छन्, त्यसलाई समधान गर्न सजग हुनुपर्छ । आर्थिक संकट, मूल्यवृद्धि रोक्नुपर्छ । सोच्नुपर्छ । भ्रष्टाचार घटाउन अख्तियार सक्रिय बनाउनुपर्छ । केपीले संविधान भत्काएका थिए,” उनले बैठकमा भनेका छन्, “त्यसलाई ट्र्याकमा ल्याउनुपर्छ । संवैधानिक परिषद्सम्बन्धी विधयेक फिर्ता हुन्छ, हुनुपर्छ । यो सरकारलाई केपी ओलीको शैली पच्छयाउने छुट छैन । त्यो हामी हुन दिँदैनौँ ।”
उनले अहिलेको सन्दर्भमा गठबन्धन आवश्यक रहेको पनि बताए ।
“अहिले सिद्धान्तको कुरा गर्ने बेला होइन, राष्ट्रिय आवश्यकताको कुरा हो । स्थायित्व चाहने हो भने गठबन्धन आवश्यक छ । कांग्रेस र कम्युनिस्ट भन्ने बेला हैन यो । यो त स्थायित्व दिने कुरा हो । त्यसकारण गठबन्धन गरौँ । मापदण्डबारे छलफल गरौँला,” पौडेलले बैठकमा भनेका छन् ।
पौडेलले भातृ संस्था पूर्ण हुनुपर्ने पनि बताएका छन् ।