site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
श्रीवल्ली, आजको आकाश, चिनियाँ पत्रकारका नजरमा नेपाल र सन्चमान ज्यो ज्यो 
Sarbottam CementSarbottam Cement

आजको आकाश
(संयुक्त कवितासंग्रह : आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रह्लाद पोखरेल, रवीन्द्र आशिष शैली, राजेन्द्रप्रसाद अधिकारी)
हालसालै तेस्रोपटक प्रकाशनमा आएको संयुक्त कवितासंग्रह हो, ‘आजको आकाश’ । यही नाम बोकेर २०४२ सालमा पहिलोपटक पाँच कविको ‘आजको आकाश’ साहित्य क्षेत्रमा फैलिएको थियो । ०६३ सालमा यिनै पाँच कविहरूले फेरि आजको आकाशलाई पाठकमाझ प्रस्तुत गरेका थिए ।

पाँच कविहरू आर.के. धर्मस्थली, जीवराज घिमिरे, प्रह्लाद पोखरेल, रवीन्द्र आशिष शैली र राजेन्द्रप्रसाद अधिकारीका कविताहरू यस कृतिमा छन् ।

प्रकाशन संस्था दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले प्रकाशकीयमा लेखेका छन्, ‘...यी कविहरूको नाम वर्ण क्रमअनुसार राखिएको छ । जसमा सर्वप्रथम आर.के धर्मस्थलीको गणतन्त्र नामक लामो कविता र त्यसपछि क्रमशः जीवराज घिमिरेका सातवटा गद्य कविता, प्रह्लाद पोखरेलका वसन्ततिलका, अनुष्टुप, शिखरिणी, शार्दूलविक्रीडित, मन्दाक्रान्ता स्रग्धरा, उपचजाति आदि छन्द प्रयोग गरिएका मुक्तक शैलीका सन्ताउन्नवटा भावानूदित पद्य कविता, रवीन्द्र आशिष शैलीका सोह्रवटा गद्य कविता र डा. राजेन्द्रप्रसाद अधिकारीका आठवटा गद्य कविता समावेश गरिएका छन् ।’

Prabhu Bank
Agni Group
NIC Asia

कवि प्रह्लाद पोखरेलको गौतमबुद्धको एउटा महान् वाणीमाथि लेखिएको कविताले यसो भन्छ–
‘हाम्रो जीवनका लागि स्वास्थ्य नै उपहार हो
तृप्ति, सन्तोष, आनन्द धन सम्पति हो ठुलो !
निष्ठा, भक्ति र विश्वास, वफादारी, सुहार्दता
नाता सम्बन्ध सर्वोच्च सच्चा विश्वसनीयता ।’

यसरी विश्वका थुप्रै दार्शनिकहरूका विचारहरु भावानुवाद गर्दै पोखरेलले काव्य स्वरूपमा ढालेका छन् ।

Global Ime bank

आफ्नो भूमिकामा प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल लेख्छन्, ‘...कविता लेखन, प्रकाशनका साथै कवित्वका दृष्टिले समेत पाँच कवि समानस्तरका नभए पनि यिनीहरूको भेदभाव देखिन्न । यस सुझबुझलाई अरूले पनि अनुसरण गरे राम्रै हुन्छ ।’

दायित्व वाङ्मय प्रतिष्ठानले प्रकाशनमा ल्याएको १२४+४ पृष्ठको यस कविताकृतिको मूल्य ३७५/– रुपैयाँ राखिएको छ । 
०००
सन्चमान ज्यो ज्यो 
(कथासंग्रह : कृष्ण सुब्बा)
नेपाली कथाका क्षेत्रमा जीवनका विभिन्न भावभंगिमा बोकेर पाठकमाझ आइपुगेको कथा सँगालो हो, कृष्ण सुब्बाको ‘सन्चमान ज्यो ज्यो’ । यसपूर्व कृष्ण घायलका नामले गजल र कविताहरू लेखिसकेका उनका गजलसंग्रह र रुबाईसंंग्रह पनि प्रकाशित छ ।

यो उनको पहिलो कथाकृति हो । जसमा उनले आफूले भोगेको जीवनका यावत् तस्बिर उतार्ने प्रयास गरेका छन् ।

पुस्तकको अन्तिम पृष्ठमा साहित्यकार खगेन्द्र संग्रौला लेख्छन्, ‘...वनमा नाथे निगुरो र च्याउ टिप्दा तिनले नित्य र निर्घात कुटाइ खाए । आखिरमा अनिश्चय र भय, अपमान र दिग्भ्रम एवम् पीडा र सन्तापका बीचमा तिनले बिरानो दूरदेशबाट अस्तित्वको आधारको आश्वासन पाए । र, लागे, ती मनमा धूमिल आशा र आँखामा बलिन्द्र आँसु लिएर बिरानो दूरदेशको यात्रामा । सघन कथानक, चित्रमय वर्णन र उत्सुकतावद्र्धक नाटकीयताका माध्यमले क्रूर यथार्थको मर्मभेदी अनावरण— बस्, यी हुन् कृष्ण सुब्बाका कथाहरू ।’

कृतिमा कथाकार कृष्ण सुब्बा लेख्छन्, ‘मैले जेजति कथा लेखेको छु, ती सबै एउटा सामान्य समाजको सामान्य मान्छेको कलमबाट निःसृत भएका हुन् । बाल्यकालदेखि नै कथाप्रति मेरो आसक्ति थियो । बुज्रुक र पाकाहरूका मुखबाट सुनिने दन्त्यकथाहरूमा म सम्मोहित हुन्थेँ । सानैदेखि म कनीकुथी कथा लेख्थेँ । कथा अर्थात् कोरा भावनाहरूको सञ्चयन । बाल्यकालदेखिको कथा लेखनको त्यो आकर्षण आजपर्यन्त ममा प्रबल छ ।’

कथाकार कृष्ण सुब्बाको एउटा कथा ‘न्युटनको तेस्रो नियम’मा उनी लेख्छन्, ‘यी बूढी आमा देवकुमारी थिइन् । भुटानी शरणार्थी । आफ्नो थातथलोबाट अन्यायपूर्वक लखेटिएकी । दुःखैदुःखको पत्करेडोको बोकेर नेपाल आइपुगेकी ।’

रत्न पुस्तक भण्डारद्वारा प्रकाशित १६८+४ पृष्ठको यस पुस्तकको मूल्य ४२५/– रुपैयाँ राखिएको छ ।

०००
 

चिनियाँ पत्रकारका नजरमा नेपाल 
(टिप्पणी : चाउ शङफिङ)
चिनियाँ पत्रकार चाउ सेङपिङको नेपालका विषयमा लेखिएको टिप्पणीमूलक पुस्तक ‘चिनियाँ पत्रकारका नजरमा नेपाल’ प्रकाशित भएको छ । यो पुस्तक चाउको अंग्रेजी पुस्तक ‘मेन्ड अर इन्ड’को नेपाली अनुवाद हो । पुस्तकको अनुवाद नारायणप्रसाद दवाडीले गरेका हुन् ।

पुस्तकको प्रकाशकीयमा जनता सञ्चार गृहका अशेष घिमिरे लेख्छन्, ‘...हाम्रो छिमेकी मित्रराष्ट्र चीन तीव्र आर्थिक विकासमा दौडिरहेको र आधारभूत रूपले आजको विद्यमान विश्व व्यवस्थाभित्र समाजवादी धुरीको अगुवा भएको कारणले पनि त्यहाँको बुद्धिजीवी, पत्रकार र सिर्जनशील व्यक्तिहरूका आँखामा नेपाल कस्तो छ भन्ने कुरा हाम्रा लागि निकै महत्त्वपूर्ण कुरा हो ।...’

पुस्तकका लेखक चाउ लेख्छन्, ‘मेन्ड अर इन्ड’को नेपाली संस्करण एउटा भण्डारजस्तो बनाएको छु । यो मेरो एकल प्रस्तुति होइन, बरु सामूहिक प्रयत्नको स्वरूप हो । म ती सहलेखकहरूप्रति कृतज्ञ छु, जसमध्ये अधिकांश मेरा सहकर्मी र स्टाफ हुन् ।

पुस्तकभित्र पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईका अन्तर्वार्ता अंशसहित मदन रेग्मी, गंगाप्रसाद उप्रेती, लीलामणि पौड्याल, युवराज संग्रौलालगायत व्यक्तिका विचार प्रस्तुत छन् ।

जनता सञ्चार गृहद्वारा प्रकाशित २७२+४ पृष्ठको यस पुस्तकको मूल्य ४२५/– रुपैयाँ राखिएको छ ।

०००

श्रीवल्ली
(लघुकथासंग्रह : खेमराज पोखरेल)
साहित्यकार खेमराज पोखरलेको बसाइ अमेरिकामा भए पनि नेपाली साहित्यका विभिन्न विधामा उनको लेखनी जारी छ । कथा, लघुकथा, नियात्रा, निबन्धलगायत विधामा कलम चलाउने पोखरेल पछिल्लो समय समालोचनाका क्षेत्रमा पनि सक्रिय छन् । उनको समीक्षाहरूको संग्रह ‘पाठकीय संदृष्टि’ पनि प्रकाशित छ ।

हालै मात्र उनको लघुकथासंग्रह ‘श्रीवल्ली’ सार्वजनिक भएको छ । जसमा उनका ७१ वटा लघुकथाहरू समावेश छन् । ‘श्रीवल्ली’मा आजको समाज, विकृति, विसंगति र राजनीति विषयक लघुकथाहरू छन् ।

आफ्नो भनाइमा खेमराज पोखरेल लेख्छन्, ‘...श्रीवल्लीमा समावेश गरेका ७१ थान लघुकथाहरू सबै गुणहरूले परिपूर्ण छन् म भन्दिनँ । मेरा आफ्नै ज्ञान तथा प्रतिभा अभ्यासका सीमाहरू छन् । यो लघुकथाकृतिको गर्भ तथा प्रसववेदनामा अंशियार बन्नुभएका धेरै पक्षसँग म नतमस्तक छु ।...।’

मोलुङ फाउन्डेसनद्वारा प्रकाशित ८०+४ पृष्ठको यस पुस्तकको मूल्य ३०५/– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २५, २०७९  ०८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय