site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ब्रान्डको काम : सानो देशको ठूलो नाम

काठमाडौं । नोकिया फोन याद छ ? आजभन्दा करिब १५ वर्ष अघिसम्म मोबाइलको पयार्यवाची नाम नै नोकिया भैसकेको थियो । 

उत्तरी युरोपको फिनल्यान्ड भन्ने देशलाई धेरैले नोकियाका कारणले चिने किनभने नोकियाको मुख्य कार्यालय फिनल्यान्डमा थियो । यो कम्पनी उत्कर्षमा रहेको समयमा फिनल्यान्डको कूल कर्पोरेट करको एक चौथाई उ एक्लैले तिर्थ्यो ।

अमेरिका र युरोपमा सबैभन्दा धेरै बिक्री हुने सस्तो र राम्रो फर्निचरको नाम हो आईकिया । आईकियाको आइडिया स्विडेनबाट निस्केको हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो फर्निचर कागजको बट्टा प्याकिङ्गमा आउने र घरमा आफैले जोड्नसक्ने भएकोले विश्वभर लोकप्रिय भयो ।  गत वर्षमात्र यो कम्पनीले करिब ४६ अर्ब डलरको व्यापार गर्‍यो । यो कम्पनीले देशकै नाम संसारभर फैलायो । 

माथि उल्लेख भएका केही कम्पनीहरू बाहेक अन्य धेरै त्यस्ता ब्रान्डहरू छन् जसले देशको नाम विश्वमै फैलाएका छन् ।  जर्मन कार भनेपछि संसारभर यति लोकप्रिय छ कि यो देशमा बनेका कुनै पनि कार कम्पनीलाई आफ्नो सामान विश्वभर बेच्न कत्ति पनि गाह्रो पर्दैन । 

त्यस्तै, जापानी इलेक्ट्रोनिक्सका सामान र खेलौना अन्य देशले बनाएको भन्दा धेरै नै महंगो हुँदा पनि विश्वभर ठूलो माग छ । स्विश नाइफ र स्विश वाचका कारण आज स्विजरल्यान्डजस्तो सानो देश संसारभरी लोकप्रिय मात्र छैन आर्थिक रुपमा पनि निकै सशक्त बनेको छ । 

स्विजरल्यान्डको अर्को विश्व प्रसिद्ध उत्पादन खानेकुरा हो । यो देशको नेस्ले कंपनीले संसारभरी आफ्नो उत्पादन पुर्‍याएर विश्व बजारमा आफ्नो प्रभुत्व जमाउन सक्षम भएको छ । नेस्ले अहिले विश्वकै सबैभन्दा ठूलो खाद्य र पेय पदार्थ बनाउने कम्पनी हो । त्यस्तै स्विजरल्यान्डका चक्लेट र आइसक्रिमले पनि विश्वभर आफ्ना पारखीलाई स्वाद चखाएर पैसा कमाएको छ । 

बेलायतको क्याडबरी चक्लेट र युनिलिभरले बनाएका सामान विश्व प्रसिद्ध छन् ।  यस्ता सबै प्रकारका सामानमा अमेरिकी कम्पनीहरू पनि उत्तिकै प्रतिस्पर्धामा छन् । तर, राम्रो उत्पादन गरेर ठूला देशका सामानहरूलाई धेरै साना देशले विश्व बजारको प्रतिस्पर्धामा उछिन्न सकेका छन् । 

त्यसैले कुनै पनि देशले आर्थिक रुपमा प्रगति गर्ने हो भने उसले विश्व बजारमा आफ्ना सामानहरू निर्यात गरेर वा तिनै देशमा फ्रेन्चाइज दिएर पनि प्रभुत्व जमाउन सक्दछ । तर, यस्ता देशका सरकारहरूले पनि आफ्नो देशको ब्रान्डलाई संसारभरी फैलन सहयोग गर्नु पर्दछ । 

विश्वभर कहिँ पनि जानुस, नेपालीले आफूलाई चिनाउनु प¥यो भने अहिलेसम्म केवल दुईवटा ब्रान्ड छन्, एउटा शान्तिको अर्थात् गौतम बुद्धको जन्मभूमि लुम्बिनी र अर्को प्राकृतिक उचाईको अर्थात् संसारकै अग्लो हिमाल सगरमाथा । यस बाहेक हामीले चिनाउने अर्को वस्तु भनेको गोर्खा सैनिक मात्र हुन् । 

नेपालको कुनै पनि उत्पादनले संसारमा सशक्त उपस्थिति जनाउन सकेका छैनन् । केही उत्पादनहरू अघि बढेका छन् तर तिनलाई नेपाल बाहिर फैलन सगरमाथानै नाघ्नुपर्ने जस्ता समस्या हामी नेपालीले नै तेर्स्याएका छौं ।

नेपालले ब्रान्डिङ गर्न नसकेर खेर फालेको व्यापार ऊनी गलैंचाको हो । अहिले नेपालले तुरुन्तै ब्रान्डिङ गरेर विश्वमा फैलाउनसक्ने खाना नेपाली मोमो हो । तर, यस क्षेत्रमा कसैले ठोस कदम चालेको वा योजना बनाएको देखिएको छैन ।

नेपालले विदेशमा लगानी गर्न नदिँदा नदिँदै पनि विदेशबाटै पैसाको जोहो गरेर, विदेशमा बस्ने नेपालीको तर्फबाट लगानी गरेर एउटा ब्रान्ड विश्व बजारमा नेपाली ब्रान्डको रुपमा अघि बढ्न खोज्दैछ । त्यो ब्रान्ड हो वाई वाई ।

केही समय अघिसम्म नेपालमा वाई वाई खान बानी लागेका युवाहरूले आफू विदेशमा रहँदा नेपालबाट मगाएर भारत, अमेरिका, अष्ट्रेलिया र युरोपका केही देशमा फैलाएको वाई वाई अहिले अमेरिकाका डिपार्टमेन्टल स्टोरहरूमा सहजै पाइन थालेको छ । 

नेपाल सहित एशियाका देशहरू भारत, बंगलादेश र कजाकस्तानमा वाई वाईले उत्पादन सुरु गरिसकेको छ भने युरोपमा समेत सर्विया र इजिप्टमा वाई वाईका प्लान्ट लागेर उत्पादन भइरहेको छ । 

वाई वाईले भारतमा अहिले सात स्थानमा १२ वटाभन्दा बढी उत्पादन स्थल बनाएको छ ।  नेपालीले यो कति बृहत् भइसकेको छ भन्ने थाहा पाएका छैनन् होला तर भारतजस्तो ठूलो चाउचाउ बजारमा वाई वाईले ३५ प्रतिशत सेयर ओगटिसकेको छ । 

विश्व बजारमा वार्षिक ५अर्ब प्याकेट चाउचाउ बेच्दै गरेको वाई वाईको आर्थिक वृद्धिदर २० प्रतिशत रहेको सोही कम्पनीले जनाएको छ ।  अहिले वाई वाईले विश्वको इन्स्टेन्ट चाउचाउ बजारको ४ प्रतिशत सेयर ओगटिसकेको छ ।

संसारभरीनै आफ्ना उत्पादन पुर्‍याउन सफल भएको यो कम्पनीको वार्षिक आय २० करोड डलर भन्दा बढी छ । नेपालमा ६५ प्रतिशत बजार ओगटेको यो कम्पनीको चार स्थानमा ९ उत्पादन स्थल रहेको छ । 

वास्तवमा, नेपालले विदेशमा फैलाएको सबैभन्दा ठूलो ब्रान्ड वाईवाई चाउचाउ नै हो । हुन त यो चाउचाउको सुरुवात थाईल्यान्डबाट भए पनि वाई वाईलाई विश्वभर फैलाउने श्रेय चौधरी ग्रुपलाई नै जान्छ र आज यो चाउचाउ संसारभरी नेपाली ब्रान्डको रुपमा प्रख्यात भइरहेको छ । 

नेपालको विडम्बना विदेशमा खुलेका वाई वाईका शाखाहरू कानुनी रुपमा नेपाली कम्पनी हुन सकेका छैनन् । हाम्रो देशको नियमले यसलाई विदेशमा बस्ने नेपालीको कम्पनीको रुपमा मात्र मान्यता दिएको छ । 

वि.सं. २०४० सालमा नेपालमा उत्पादन सुरु गरेको वाई वाईले २२ वर्ष पछि २०६५ सालमा भारतमा पहिलो प्लान्ट सिक्किम राज्यमा लगाएको थियो । अहिले सो प्लान्ट लगाएको १५ वर्ष भइसकेको छ, वाई वाई विश्वभर फैलिएको छ तर नेपालको नियम परिवर्तन भएको छैन ।

व्यापार गर्नु भनेको जनतालाई ठग्नु हो र पैसा कमाउनु भनेको अनैतिक काम हो भन्ने सोच पालेर बसेका केही सर्वसाधारण तथा कानुन निर्माण र लागुगर्ने स्थानमा बसेका सीमित व्यक्तिका कारण नेपालले आफूलाई कुनै वस्तुको आधिकारिक उद्गमस्थल हो भनेर चिनाउन पाएको छैन । 

अहिले यो कम्पनी जुन तरिकाले अघि बढेको छ सोही गतिमा अघि बढ्न दिने हो भने विश्वका ठूला खाद्य निर्माता कम्पनी पेप्सी को., कोका कोला, नेस्ले, युनिलिभर, क्राफ्ट आदिसँग यो कम्पनीले सहजै प्रतिस्पर्धा गर्नसक्छ । 

भारतमा नेस्लेको म्यागी चाउचाउलाई बजारबाट विस्थापन गर्ने चरणमा वाई वाई अघि बढिसकेको छ भने विश्व बजारमा पनि यो सफलता दोहोर्‍याउन सक्छ । नेपालबाट कानुनी सहजता समेत नपाएको कारणले गर्दा यसका विभिन्न उत्पादनहरू विश्व बजारमा पुर्‍याउन वा फ्रेन्चाइज दिन गाह्रो परेको देखिएको छ । 

वाई वाई मात्र होइन, नेपालका अन्य ब्रान्ड पनि विश्व बजारमा प्रतिस्पर्धाका लागि तयार छन्, अघि पनि बढेका छन् । नेपालमा अत्यन्त चलेको हिमालयन जाभा कफी पनि विश्व बजारमा आफूलाई उभ्याउन कोसिस गर्दैछ र केही मात्रामा सफल पनि भएको छ । 

नेपालको अन्य ठूला ब्रान्डमा शेर्पा एडभेन्चर गियर्स, गोल्डस्टार जुत्ता, खुकुरी रम आदि पनि विशेष रुपमा अघि बढेका छन् । नेपालले ह्यान्डीक्राफ्ट उत्पादन र बिक्रीमा ठूलो बजार बनाएको थियो तर यसमा धेरै कम्पनीहरू समाहित भएका कारण ठूलो ब्रान्डको रुपमा अघि बढ्न सकेको छैन ।

अन्तमा, नेपालले आफूलाई विश्वमा चिनाउन, नेपालीहरूलाई विदेशमा अरु देशका मान्छेका अघि गर्व गर्नका लागि सगरमाथा र लुम्बिनीमात्र भएर पुग्दैन । हाम्रा उत्पादनहरू सबैको घर घरमा पुगेका छन्, सबैले उपभोग गरेका छन् र हरेक दिन उनीहरूको जीवनमा उपस्थित भएका छन् भने हामी प्रतिको धारणा आफै सकारात्मक हुन्छ । 

जति नेपालप्रतिको धारणा सकारात्मक भयो उति नेपाली पासपोर्टको महत्व बढ्छ, ठूला अन्तर्राष्ट्रिय कम्पनीहरूमा पनि नेपालीले जागिर पाउन र प्रमोसन पाउन सहज हुन्छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  ०८:१२
प्रतिक्रिया दिनुहोस्