काठमाडौं । पाटन उच्च अदालतको आदेशपछि यही असार १७ गते ललितपुरको मेडिकल कलेजमा एक महिलाको मिर्गौला प्रत्यारोपण गरियो ।
एउटै कोखबाट जन्मिएका भाइले दिदीलाई मिर्गौला दिन खोज्दा नागरिकतामा भाइ २३ दिनले जेठो देखिएपछि ती महिलाको प्रत्यारोपण प्रक्रियामा अवरोध आएको थियो ।
काठमाडौं साँखुकी ती महिलाले जन्म मिति सच्याउन प्रमाणसहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएकी थिइन् तर धेरैपटक धाउँदासमेत उमेर नसच्चिएपछि उनले २०७९ असार ७ मा किस्ट मेडिकल कलेज, जिल्ला प्रशासन कार्यालय, काठमाडौंसहित ६ जनालाई विपक्षी बनाएर उपचारको माग गर्दै अदालतमा रिट निवेदन दिइन् ।
अदालतले असार ८ गते महर्जनको पक्षमा फैसला गरेको थियो । फैसलापछि असार ८ गते नै किस्टबाट उनको मिर्गौला सफल प्रत्यारोपण गरियो ।
२०७८ साउनमा भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपणका लागि झापाकी एक महिला आइपुगिन् ।
उनलाई काका ससुराले मिर्गौला दिन सहमति जनाएका थिए । तर केन्द्रले काका ससुरा नजिकको नातामा नपर्ने भन्दै प्रत्यारोपण प्रक्रिया अघि बढाएन ।
बिरामी महिलाले काका ससुरालाई नजिकको नाताभित्र राख्न सर्वोच्चमा रिट निवेदन दर्ता गरिन् ।
अन्ततः सर्वोच्चले काका ससुरा नजिकको नाताभित्र पर्ने भएकाले मिर्गौला दाता बन्नसक्ने आदेश दियो, तर आदेश आइपुग्दासम्म बिरामी र उनका परिवारले भारत गएर मिर्गौला प्रत्यारोपण गर्ने तयारी गरिसकेका थिए ।
सर्लाहीका एक पुरुष झन्डै ६ बर्षदेखि वीर अस्पतालमा मिर्गौलाको डायलायसिस गरिरहेका छन्, आफ्नो परिवारभित्रका सबैलाई मधु मेहको समस्या छ, परिवार बाहिरका नाता पर्नेहरु मिर्गौला दिन इच्छुक छैनन्, नयाँ मिर्गौला लिएर वर्षौँ बाँच्ने धोको छ तर दाता छैनन् । भन्छन्, “डायलायसिसका लागि हप्तैपिच्छे काठमाडौंको भीडभाड छिचोल्दै वीर आइपुग्नु र ६ वर्षदेखि डायलायसिस सिट ओगट्नु रहर होइन वाध्यता हो ।” यस्ता उदाहरणीय घटनाहरु नेपालको स्वास्थ्य क्षेत्रका लागि नौला होइनन् तर गम्भीर भने पक्कै हुन् ।
यस्तो छ नेपालमा मिर्गौला रोगी र प्रत्यारोपणको अवस्था
नेपालमा प्रत्येक वर्ष ३ हजार जनामा मिर्गौलासम्बन्धी गम्भीर समस्या देखिने गरेको तथ्यांक छ । विभिन्न अस्पतालहरुको तथ्यांकअनुसार अहिले मिर्गौलाका ५ हजार बिरामी डायलायसिस गराइरहेका छन् भने हालसम्म झन्डै १ हजार ८ सय जनामा मिर्गौला प्रत्यारोपण गरिएको छ ।
नेपालमा मानव अंग प्रत्यारोपण गर्नका लागि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल र कलेज अफ मेडिकल साइन्सेस चितवन तोकिएको छ ।
यीबाहेक देशभरका ७० वटा अस्पतालबाट निशुल्क डायलायसिस सेवाको व्यवस्था गरिएको छ ।
डायलायसिसमा रहेका ५ हजार जना बिरामीमध्ये झन्डै ३ हजार जना मिर्गौला प्रत्यारोपण गर्नसक्ने अवस्थामा भए पनि विभिन्न कारणले वञ्चित भइरहेको वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. क्रृषि कुमार काफ्लेको ठहर छ ।
ऐनमा सहजता छ, तर व्यवहारमा छैन
मिर्गौला प्रत्यारोपाणलाई सहज बनाउन मानव शरीरको अङ्ग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन २०५५लाई खुकुलो बनाइएको छ ।
जसअनुसार परिवारका सदस्यसहित ५२ वटा सम्बन्धका नातेदारले कुनै पनि अंग दान गर्न सक्नेछन् ।
ऐनमा पति, पत्नी, छोरा, छोरी, बाबु, आमा, धर्मपुत्र, धर्मपुत्री, दाजु, भाइ, दिदी, बहिनी, बाजे, बज्यै, नाती, नातिनी, सासू ससुराले अंगदान गर्न पाइने उल्लेख छ । त्यस्तै धर्मपुत्र वा धर्मपुत्री राख्ने बाबु, आमा, सौतेनी बाबु, सौतेनी आमा, बाजे, बज्यै, नाति, नातिनी, दाजु, भाइ, दिदी, बहिनी, ठूलो बाबु, ठूली आमा, काका, काकी, सानो बाबु, सानी आमा, भतिजा, भतिजी, सासूससुरा, जेठाजु, जेठानी, देउरानी, नन्द, देवर, भाउजू, बुहारी, मामा माइजू, भान्जा भान्जी, साला साली, फुपू फुपाजु, आमाजु, भदा, भदै, भिनाजु, ज्वाईं र जेठानले पनि नजिकको आफन्तको रुपमा मिर्गौला दिनसक्ने व्यवस्था गरिएको छ ।
धर्मपुत्र–धर्मपुत्री र वैवाहिक सम्बन्धबाट कायम भएको नाताको हकमा भने कम्तिमा २ वर्षदेखि अटुट सम्बन्ध कायम रहेकोे हुनुपर्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।
मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ ले दुई वा दुईभन्दा बढी परिवारका सदस्यका नजिकका नातेदारलेसमेत आपसमा मिलेर अंगदान (आपसमा साट्न) गर्न पाउने व्ययस्था समेत गरेको छ ।
त्यसैगरी कसैले मृत्युअघि अंगदान गर्न चाहेमा त्यस्ता व्यक्तिलाई चिकित्सकले मस्तिष्क मृत्युको घोषणा गरेपछि अन्य व्यक्तिलाई प्रत्यारोपण गर्न सकिने व्यवस्था गरिएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि ऐनले बाटो खुकुलो बनाए पनि विभिन्न व्यवहारिक कारणले प्रत्यारोपणमा ठूलो सुधार भने नआएको अनुभव छ, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. क्रृषिकुमार काफ्लेको ।
”पहिलो चुनौती त परिवारका सदस्य होस् या आफन्त मिर्गौला दान गर्न तयार हुँदैनन्, यसमा विभिन्न अन्धविश्वासहरु बलियो कारक बनेका छन्,” डा. काफ्ले अर्को चुनौतीलाई यसरी प्रष्ट्याउँछन्, “परिवारका सदस्य राजी भइहाले पनि पछिल्लो समय बंशाणुगत रोगहरुले नेपाली परिवारमा धेरैलाई सताएको छ । मधुमेह, प्रेसरजस्ता समस्या प्रायः वंशाणुगत हुन्छन् यसले गर्दा परिवाभित्रैबाट मिर्गौला दिन चाहेर पनि कतिले दिन सकिरहेका छैनन् ।”
केही वर्गमा भने मिर्गौला अरुलाई दिए मरिन्छ भन्ने गलत बुझाइका कारण पनि दान गर्न नखोजेको डा. काफ्लेको अनुभव छ ।
“वास्तवमा अंगदान आफैँमा पुन्यको काम त हो नै, त्यसमा एउटा मिर्गौला दान गरेर खानपिन तथा जीवन शैलीलाई परिवर्तन गर्न सकियो भने दाता र ग्रहणकर्ता दुवै स्वस्थ जीवन जीउन सक्छन्,” उनी भन्छन् ।
सरकारबाट भत्ता होइन सहज उपचार चाहन्छन् बिरामी
सहिद धर्मभक्त राष्टिय प्रत्यारोपण केन्द्रमा मिर्गौलाको उपचारका लागि ४ सयजना ‘वेटिङ लिस्ट’मा छन् । वीर अस्पतालमा मात्रै निशुल्क डायलायसिसका लागि वार्षिक १ सयभन्दा बढीको निवेदन पर्ने गरेको छ ।
३ वर्षदेखि मिर्गौलाका बिरामी डायलायसिसका लागि वेटिङ लिस्टमा रहेको अस्पतालकी सिनियर नर्स सरिता रोकाया बताउँछिन् ।
“निवेदन त लिन्छौं हामी तर बिरामीको चापअनुसारको डायलायसिस मेसिन र जनशक्ति पर्याप्त छैन, फेरि पुरानै बिरामी धेरै हुँदा नयाँ बिरामी लिनसक्ने अवस्था पनि हुँदैन । ४ सिफ्टमा चलाउँदा पनि बिरामीको चाप धान्नसक्ने अवस्था छैन,” रोकाया भन्छिन् ।
सरकारले मिर्गौला सम्बन्धी समस्यालाई घातक रोगको वर्गमा राखेको छ, मिर्गौला रोगीलाई मासिक ५ हजार रुपैयाँ भत्ता प्रदान गर्दै आएको छ ।
निशुल्क डायलायसिस सेवासँगै मिर्गौला प्रत्यारोपणका लागि ५ लाख ५० हजार रुपैयाँसम्मको उपचार सहयोग गर्ने गरेको छ ।
तर प्रत्यारोपणपछि लाग्ने महंगो औषधि खर्चका कारण अधिकांसले डायलायसिस नै गराउन चाहने बताउँछन् मिर्गौला रोगी ।
प्रत्यारोपणका प्रक्रिया सहज नहुनु र त्यसपछि लाग्ने महंगो उपचार खर्चका कारण आफूले २०६६ सालदेखि नयमित डायलाइसिस गराइरहनुपरेको बताउँछन् मिर्गौला रोगी केदार पुडासैनी ।
सरकारले मासिक ५ हजार भत्ता दिनुको साटो प्रत्यारोपणपछि लाग्ने औषधि सहज रुपमा उपलब्ध गराइदिए राहत हुने उनको भनाइ छ ।
मिर्गौला प्रत्यारोपणपछि बिरामीले नियमित सेवन गर्नुपर्ने औषधिमा मासिक झन्डै २५ हजार रुपैयाँ खर्च हुन्छ, यस्ता प्रकारर्का इम्युनो सप्रेसिभ मेडिसिन’मा सरकाले निशुल्क उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने डा. काफ्लेको बुझाइ छ ।
मिर्गौला रोगीका लागि पुनर्जीवन बन्नसक्छ ‘ब्रेन डेथ’
चिकित्सा विज्ञानका अनुसार मानिसको मृत्यु प्रक्रियामा सबैभन्दा पहिले मस्तिष्कले काम गर्न छोड्छ । त्यसपछि क्रमैसँग शरीरका अन्य भागहरु निस्क्रिय हुँदै जान्छन् । मस्तिष्कले काम गर्न छोडे पनि शरीरका अन्य भागहरु भने केही समयसम्म सक्रिय रहन्छन् । यो क्रममा मस्तिष्क मरेको, मानिसको होस् गुमेको तर शरीरका अन्य महत्वपूर्ण अंगहरुले काम गरिरहेको अवस्थालाई ब्रेन डेथ भनिन्छ ।
यसरी ब्रेन डेथ भएर मृत्युको नजिक पुगेका मानिसहरुको अन्य अंग भने प्रत्यारोपण गर्न मिल्छ । विश्वभर गरिने अंग प्रत्यारोपणमध्ये ८० प्रतिशतभन्दा बढी ब्रेन डेथ भएका व्यक्तिबाट गरेको पाइन्छ ।
नेपालको मानव अंग प्रत्यारोपणसम्बन्धी ऐनले मस्तिष्क स्टेम अर्थात् मस्तिष्क मृत्युलाई ब्रेन डेथको रुपमा परिभाषित गरेको छ ।
मानव अंग प्रत्यारोपणसम्बन्धी नियमावली २०७३ अनुसार मस्तिष्क मृत्युको घोषणा बिरामीको स्वास्थ्य परीक्षणमार्फत् गरिनुपर्छ ।
स्वास्थ्य परीक्षणका लागि बिरामीको शरीरमा प्राकृतिक रूपमा श्वासप्रश्वास नरहेको हुनुपर्छ । अंगदान गर्ने व्यक्तिको मस्तिष्क मृत्युको घोषणा गर्ने चिकित्सक प्रत्यारोपण गर्ने कार्यमा संलग्न हुन पाउँदैनन् ।
त्यस्तै यदि मृतकले जीवित छँदै आफ्नो शरीरको अंगदान नगर्ने लिखित इच्छा व्यक्त गरेमा परिवारका सदस्यले उसको शरीरको अंगदान गर्न नसक्ने व्यवस्थासमेत नयाँ नियमावलीमा गरिएको छ ।
यसरी अंगदान गर्दा बिरामीको परिवारको सदस्यको अनुमनि लिनुपर्ने यदि परिवार सदस्य सम्पर्कमा नभएमा सम्बन्धित स्वास्थ्य संस्था प्रमुख वा जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरको कर्मचारीबाट स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
ऐनमा भएको यो सहज व्यवस्थालाई उपयोग गर्दै बे्रन डेथ भएका व्यक्तिहरुबाट अन्यमा अंग प्रत्यारोपणका लागि सरकाले प्रोटोकल बनाएर अघि बढे हजारौं मिर्गौला रोगीहरुलाई पुनर्जीवन दिन सकिने विशेषज्ञहरु बताउँछन् ।
वरिष्ठ न्युरोसर्जन डा. राजीव झा का अनुसार ब्रेन डेथ भएका स्वस्थ व्यक्तिको शरीरबाट मिर्गौला, कलेजो, आँखा, प्याङिक्रयाज, सानो आन्द्रा र छाला प्रत्यारोपण गर्न मिल्छ ।
तर मिर्गौला प्रत्यारोपण भने भौतिक रुपमा व्यक्तिको मृत्यु हुनअघि नै शल्यक्रिया गरी ग्रहण गर्ने बिरामीमा प्रत्यारोपण गरिनुपर्छ ।
नेपालमा अस्पतालहरुको सेवा र भौगोलिक अवस्थाका कारण ब्रेन डेथपछि प्रत्यारोपणको पर्याप्त सम्भावना भएपनि सामाजिक बुझाइका कारण प्रत्यारोपणमा समस्या भइरहेको डा. झा को बुझाइ छ ।
मृत्यअगावै एकजना व्यक्तिले गरेको मिर्गौला दानबाट २ जनाको ज्यान बच्नसक्ने भएकाले मृत्युपछिको संस्कारलाई लिएर मिर्गौला दानमा कन्जुस्याइँ नगर्न डा. झाको अनुरोध छ ।
नेपालजस्तो सवारी दूर्घटना बढी हुने मुलुकमा समयमै दूर्घटनामा परेर मृत्यु भएकाहरुको अंग प्रत्यारोपण गर्ने हो भने कम्तीमा १ जनाको मृत्यु हुँदा २ जनालाई बचाउन सकिने बताउँछन् वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ । समुदायस्तरमा अंगदानको महत्व र फाइदाबारे बुझाउन सरकारले नेतृत्व लिने हो भने अंग प्रत्यारोपणमा आत्मनिर्भर बन्नसक्ने उनको दाबी छ ।
परिवारमा कुनै सदस्यको मृत्यु भएमा निशंकोच अंगदान गर्न उनी आह्वान गर्छन् ।
कानुनी व्यवस्था सहज हुँदाहुँदै पनि सरकारले प्रोटोकल बनाएर अघि नबढ्दा नेपालमा मिर्गौला प्रत्यारोपणको अवस्था सुधार नभएको डा. क्रृषिकुमार काफ्लेको ठहर छ ।