काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीलाई नि:शुल्क विद्युतीय चुल्हो उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।
बुधबार एक विज्ञप्तिमार्फत अनेरास्वियूले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय साधन प्रयोग गर्न प्रोत्साहन गर्न सरकारले विद्यार्थीलाई नि:शुल्क रूपमा विद्युतीय चुल्हो दिनुपर्ने माग गरेको हो । साथै उसले पेट्रोलियम पदार्थमा कर छुट गरी नेपाल आयल निगमलाई मूल्य वृद्धि तत्काल फिर्ता लिन निर्देशन गरी जनजीवन सहज बनाउन पनि सरकारसँग माग गरेको छ ।
"निरन्तर रूपमा हुने मूल्यवृद्धि र यसबाट सिर्जित महँगीको मारबाट जोगिन अब राज्यले वैकल्पिक बाटो अपनाउनु अत्यन्त जरुरी छ । विद्युतीय खपत र पेट्रोलजन्य पदार्थ महँगीको दीर्घकालीन समाधानका लागि विद्युतीय साधनहरूको प्रयोगमा जोड दिनु पर्ने अनेरास्ववियूको निष्कर्ष रहेको छ । त्यसकारण विद्युतीय साधनको प्रयोगलाई प्रोत्साहन गर्न विद्यार्थीहरूलाई निःशुल्क विद्युतीय चुलो उपलब्ध गराई विद्युतीय शुल्कमा सहुलियत समेतको व्यवस्था गर्न अनेरास्ववियू सरकार समक्ष जोडदार माग गर्दछ," विज्ञप्तिमा भनिएको छ ।
साथै अनेरास्ववियूले नेपाल खुला विश्वविद्यालयमा अनियमितता भइरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।