site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
उस्तैउस्तै पीडा
Sarbottam CementSarbottam Cement

राति अलि चाँडै सुत्ने बानी । तर, तराईको गर्मीले के सुत्न सकिन्थ्यो र । आजभन्दा भोलि तापक्रम बढ्दो । गर्मीका कारण शरीरमा लगाएको एकसरो कपडा पनि फुकालेर फालूँजस्तै लाग्दै छ ।

गर्मीले शरीर तातेको छ । ओछ्यान पनि तातेको छ । पल्टिएको छु । घडीको सुईले रातको १२ नघाइसकेको छ । कहिले दायाँ कोल्टे त कहिले बायाँ कोल्टे फेर्छु । निद्रा कोसौँ टाढा छ । खै कहाँ हो कहाँ ।

यस्तो छटपटी मलाई मात्रै हो कि ! यहाँका सबै मान्छे वर्षौँवर्षदेखि आनन्दले सुतेका छैनन् होलान् त ? आफैँसँग प्रश्न गर्छु ।

Prabhu Bank
Agni Group
NIC Asia

म निदाउन सक्दिनँ । जुरुक्क उठ्छु । म उठेको चाल पाएर खाटको कुनामा सुतेकी छोरी उठ्छे । ऊ पनि त गर्मीले निदाउन सकेकी छैन । बिचरा ! बच्चा त हो । म उसलाई लिएर खाटबाट उठ्छु । फ्यानलाई अझै तेज चलाउँछु ।

हुन त फ्यानबाट पनि तातै हावा चल्ने न हो । झ्याल पूरै खुला छ । पर्दा पनि आधा सार्छु । बाहिर हेर्छु, जुनेली रात छ । जूनको उज्यालोले बाहिर आँपको फेदमा सुतेजस्तो गरेको कुकुर पनि चलमल गर्दै छ । अनि, आँपको रुखमा गुँड बनाएर बसेको चराचुरुंगी पनि गर्मीले नै होला, चिरबिर गर्दै छन् ।

Global Ime bank

बरन्डामा हेरेँ । बज्यै बसिरहनुभएको रहेछ । कठै ! चिसो होला र निद्रा पर्ला भन्ने आसमा बसेजस्तो लाग्छ । म पनि कोठा बाहिर निस्किन्छु ।

‘निद्रा परेन बज्यै ?’ 
बज्यै मन नलागी नलागी बोल्नुभयो, ‘कसरी सुत्न सकिन्थ्यो बाबै यस्तो गर्मीमा ! हे...र..., ती खरायो र बिरालो त सुत्न सकेका छैनन् ।’ बज्यैका आँखा त्यता परेछन् ।

‘पहाड मै आनन्द थियो । यहाँ त न खाना खान मन लाग्छ न सुत्न नै सकिन्छ । जता गयो घामै मात्रै । तिमीहरूले बस्न–खान दिएनौ । के गरूँ म अब ?’ बज्यै बर्बराउन थाल्नुभयो । म भने चुपचाप काखमा च्यापेको छोरीलाई हेरिरहँे ।

जिउभरि गर्मीले आएका घमौरा । पसिना । साँच्चै गाह्रो छ, तराई–मधेसमा बालबालिका र बूढाबूढीलाई ।

जीवनको ७०औँ वसन्तसम्म पहाड गाउँमै बिताएकी बज्यैले कसरी अपनाउन सकेकी होलिन् यो सहरलाई ?

केही सोध्नुअगाडि नै बज्यै बोल्नुभयो, ‘उति बेला म मधेस झर्दिनँ भन्दा वीरेले मानेन । जिद्दी गर्यो । वीरेका बा त भन्थे नि– हेर वीरेकी आमा, म मरेपछि यहाँ गरेर खान नसके पनि तराई नझरेस् है । मैले धेरै वर्ष बिताएको छु दुःखमा । वर्षा सुरु भयो कि घरभरि पानी पस्छ । सबै डुबाउँछ । गर्मीमा उस्तै गर्मी । सर्पको त्यस्तै डर । डरैडरमा बस्नुपर्छ तराईमा । हुनेखानेलाई त महल छ । उनीहरूको कथा छुट्टै छ । तर, हामीजस्ता मध्यमवर्गीयलाई त कठिन छ बुझिस् । सम्झाउँथे बाबै ! यो सहर हामीलाई काम छैन । हामीलाई त आफ्नो गाउँ नै ठिक ।’

बज्यैको कुरा टुंगिएको थिएन । अगाडि थप्नुभयोे, ‘त्यहाँ त स्वच्छ हावा र चिसो पानी खाएरै बाँचिन्छ । पहाडमा सिंगो गाउँ नै आफन्त हुन्छ । यहाँ त एउटै घरमा बस्ने मान्छे पनि को हो, को हो ? के गर्नु छोराछोरीको मायाले एक्लै बस्न पनि नसकिने रहेछ ।’

बज्यैको कुरा म चुपचाप सुनिरहेँ । तर, उहाँको कुराले मन चसक्क भयो । बाजेले पनि त यही नियति भोगेका रहेछन् ।

बज्यैलाई पहाडबाट तराई बसाइँ सारेर ल्याउँदा खुसी हुनु हुन्नजस्तो महसुस भयो । हुन त को खुसी होला र, यो गर्मीमा बस्नुपर्दा । हामी खुसी छाँै र !

तर, बाध्यता सबैका छन् । छाक टार्नैका लागि दिनभर साइकलमा हिँड्डुल गर्ने पनि यहीँ छन् । पेट भर्नैका निमित्त असह्य रापिलो घाममा काम गर्ने मजदुर पनि यहीँ नै छन् ।

गर्मीले स्कुल बिदा भएको छ । घरै बसेका छन् नानी र बाबुहरू । आखिर यही बाध्यता त छ सबैको । सबै विवश छन् ।

आफ्नो मात्रै हैन, यहीँका बासिन्दाका पीडा र बाध्यता पनि सम्झिएँ । महसुस गरेँ । बज्यैलाई यो गर्मीको उकुसमुकुसले मात्रै हैन, गाउँको माया र आफन्तका सम्झनाले पनि सताएको रहेछ । बोल्न सकिरहनुभएको थिएन, बल्ल आज गर्मीको बहानामा मुख खोल्नुभयो ।

हुन पनि के भएको हो कुन्नि ! मौसमविद्ले ‘मनसुन सुरु’ भनेको’नि कति भइसक्यो । यहाँ धनगढीमा भने पानी परेकै छैन ।

पहाडमै पनि वर्षाका कारण बाढी र पहिरोले बाटोघाटो सबै बन्द हुन्छ । भनेको बेला अस्पताल जान सकिँदैन । त्यहाँ पनि बिजोग नै छ । अनि, यहाँ तराईमा आफ्नै किसिमका पीडा ।

रोजीरोटीको खोजी र केही सहजताले ताने पनि यहाँ पनि त बाँच्न गाह्रै छ । आजभोलि त यहाँ पानी पर्ने छाँटकाँट नै छैन । गर्मी बढेर इनारमा पानी सुकेको छ । नल्कामा हात दुखुन्जेल पानी तान्दा पनि आउँदैन ।

तातो हावा र लु चल्छ । रुखको छाहारीमा पनि शीतलता भेटिँदैन । बिचरा ! चराचुरुंगीहरूको पानी खान नपाएर बिजोग छ । यस्तोमा पहाडको सम्झना किन नआउनु बज्यैलाई ।

आफूलाई चाहिँदा र भनेको बेला पानी पर्दैन । समयमा बालीनाली लगाउन पाइँदैन । भित्र्याउने बेलामा भने पानी पर्छ । त्यो पानीले फलेको अलि–अलि पनि घरमा राखनधरन गर्न पाइन्न । आखिर यस्तै त छ समस्या सबैतिर ।

यस्तो पीडा कहिलेसम्म भोग्नुपर्ने होला ? समाधान के होला ? कसले गर्ने समाधान ? आखिर हिमाल, पहाड, तराई जहाँ बसे पनि पीडा र समस्या त उस्तै त हो नि !

सोचेँ– तराईमा यतिखेर पानी परिदिए बज्यै, केटाकेटी मात्रै हैन, यहाँका सबै मानिसको हित हुन्थ्यो । जीवजन्तुको पनि उद्धार हुन्थ्यो ।

देखेँ, बज्यै त्यहीँ भुइँमा निदाएको बहाना गर्दै हुनुहुन्थ्यो । म भने काखमा छोरी बोकेर यही सोचिरहेँ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ११:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय