
काठमाडौं । नेपाली सेनाले खरिद गरेको नवजात शिशुमा प्रयोग हुने भिटामिन डी थ्री झोल औषधिमा डी थ्रीको मात्रा मापदण्डभन्दा चार सय गुणा बढी भएको पाइएको छ ।
सेनाले भारतीय औषधि कम्पनी जी ल्याब्रोटरीज्बाट खरिद गरी ल्याएको ‘भिटामिन डी थ्री ड्रप्स् बायोडी’ नामक औषधिमा भिटामिन डी थ्रीको मात्रा चार सय गुणा बढी देखिएको हो ।
जी कम्पनीबाट सन् २०२१ अगस्टमा उत्पादन भएको ब्याच नम्बर ६२१५४७ औषधिमा भिटामिन डी थ्री कोलिक्याल्सिफेरोलको मात्रा ८०० आईयू (इन्टरनेसनल युनिट ) प्रति एमएल हुनुपर्नेमा ४२ हजार ७१८ आईयू प्रतियुनिट भएको पाइएको हो ।
शिशुहरुको मिर्गौलामा गम्भीर असर देखिएपछि औषधिको खराबी पत्ता लाग्यो
नेपाली सेनाले आफ्नो मातहतका अस्पताल र स्वास्थ्य शिविरहरुमा प्रयोग गर्नका लागि भिटामिन डी थ्री बायोडिप खरिद गरेको थियो । भारतीय कम्पनी उत्पादक रहेको सो औषधिको नेपाली आयातकर्ता भने नेपाली नै हुन् । नवजात शिशुहरुमा यो औषधि प्रयोग गरिएको केही महिनापछि मिर्गौलामा पत्थरीको समस्या देखिएपछि वीरेन्द्र सैनिक अस्पतालले छानबिन थाल्यो । अस्पतालले भक्तपुरको ज्येस्ट ल्याब्रेटरिज्मा सन् २०२२ मार्च २२ र २४ मा परीक्षण गर्दा सो भिटामिनमा मापदण्डभन्दा झन्डै ४ सय गुणा बढी डी थ्रीको मात्रा भएको पाइएको हो ।
खराब देखिएको औषधि दर्ता नै भएको छैन : विभाग
परीक्षणपछि सैनिक अस्पतालले औषधि व्यवस्था विभागलाई औषधि मापदण्डविपरीत भएको भन्दै जानकारी तथा आवश्यक कारबाहीका लागि २०७८ चैत १६ गते पत्राचार गरेको थियो ।
तर पत्राचार गरेको तीन महिना बितिसक्दा पनि विभागले भने यसबारे कुनै छानबिन प्रक्रिया अघि बढाएन । बरु जी कम्पनी र यसका उत्पादनहरु विभागमा दर्ता नभएको भन्दै सेनाले आफ्नै माध्यमबाट नेपालमा दर्ता नै नभएको औषधि भित्र्याएको आरोप विभागले लगाएको छ ।
विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसी भिटामिन डी थ्री को बायोडी नामक औषधि विभागको दर्ता सूचीमा नभएको र सो कम्पनी दर्ताका लागि हालसम्म विभागको सम्पर्कमा नआएको दाबी गर्छन् । विभागको कुनै पनि रेकर्डमा भिटामिन डी थ्री ड्रप्स् बायोडी नामक औषधि दर्ता भएको देखिँदैन ।
बाह्रखरीबाट औषधिबारे जानकारी माग गरेपछि असार १६ गते बिहीबार विभागले सैनिक अस्पतालबाट सो औषधिको नमूना संकलन गरेको छ भने ल्याव परीक्षण गरी आवश्यक छानबिन प्रक्रिया अघि बढाइने केसीको भनाइ छ ।
विभागले रेकर्डमा नराखेको होला हामीले दर्ता भएको औषधि ल्याएका हौं : नेपाली सेना
यता बायोडीको आयातकर्ता नेपाली सेना भने आफूले दर्ता भएकै औषधि खरिद गरेको बरु विभागले दर्ताको रेकर्ड व्यवस्थित नगरेका कारण समस्या परेको दाबी गर्छ ।
“हामीले जहाँबाट जसरी औषधि खरिद गरे पनि औषधि व्यवस्था विभागमा दर्ता भएको प्रमाणपत्र खोज्छौं । प्रमाणपत्र देखाएपछि मात्रै टेण्डर स्वीकृत हुन्छ, विभागले रेकर्ड अध्यावधिक नगरेको होला तर हामीले दर्ता भएकै औषधि खरिद गरेका हौं,” नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले प्रश्न गर्दै भने, “यदी हामीले नै गलत बाटो प्रयोग गरेर औषधि खरिद गरेको भए विभागसम्म कारबाहीको निवेदन लिएर किन पुग्थ्यौं ?”
प्रवक्ता सिलवालले भिटामिन डी थ्रीमा खराबी देखिएपछि प्रयोग बन्द गरिएकाे बताए ।
यता, विभागका कर्मचारी भने विभागले आकस्मिक प्रयोगका लागि दिएको अनुमतिको रेकर्ड नराख्ने भएकाले दर्ता सूचीमा नदेखिएका धेरै औषधि बजारमा प्रयोग भइरहेको बताउँछन् ।
भिटामिन डी थ्रीको बढी प्रयोगले बालबालिकामा क्यान्सरसम्म हुन सक्छ
बायोडीजस्ता भिटामिनजन्य औषधि बालबालिकामा कुपोषण, जन्डिस् आदि समस्या हुँदा सिफारिस गरिन्छ । तर भिडामिन डी थ्री को उच्च प्रयोगले मिर्गौला, हड्डीमा गम्भीर असर पुर्याउने बताउँछिन् बाल रक्त क्यान्सर रोग विशेषज्ञ डा. अञ्जली पण्डित ।
डा. पण्डितका अनुसार भिटामिन डी थ्रीसँगै क्याल्सियमको मात्रा बढ्न जाँदा यसले बालबालिकामा क्यान्सरसम्म गराउनसक्ने सम्भावना रहन्छ ।