
काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टीले विभाजनको रेखा कोरेको छ । संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवबीचकोे विवादले जसपा दुर्घटना नजिक पुगेको जसपाका दोस्रो तहका नेताहरुको बुझाइ छ । यो विवादमा वरिष्ठ नेता अशोक राई भने मौन बसेका छन् ।
विवाद कतिसम्म गहिरिएको छ भने कार्यकारिणी अध्यक्ष यादवले सोमबार साँझ काठमाडौंको एक होटलमा बोलाएर आफू निकट कार्यकारिणी सदस्यहरुको बैठक गरे । उक्त बैठकले वर्तमान सरकारमा रहेका मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने र मन्त्री छान्ने एकल अधिकार यादवलाई दिएको छ । यस्तै, असारभित्रै केन्द्रीय समितिको बैठक डाक्ने र पार्टी विरोधी गतिविधि गर्नेहरुलाई कारवाही गर्ने अधिकार पनि यादवले नै लिएका छन् ।
३३ मध्ये १९ जना कार्यकारिणी सदस्य उक्त बैठकमा उपस्थित रहेको यादव निकट नेता मृगेन्द्रकुमार सिंह यादवले जानकारी दिए ।
बैठकको मुख्य उद्देश्य संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई कमजोर बनाउनै रहेको यादव निकट नेताहरु बताउँछन् ।
पार्टीभित्र अहिले यादव वा भट्टराई को शक्तिशाली भन्ने ‘जुँगा’को लडाईँ छ । अझ स्थानीय तह निर्वाचन पश्चात् विवादले अझ बढी स्थान लिएको छ । सांसदसमेत रहेका केन्द्रीय नेता मृगेन्द्रकुमार सिंह यादव अध्यक्ष भट्टराई पार्टी विरोधी गतिविधिमा सक्रिय भएकाले कठोर कदम चाल्ने स्थितिमा आफूहरु पुगेको बताउँछन् ।
“पार्टी विभाजनका लागि हस्ताक्षर अभियान सञ्चालन गरिरहेको मिडियामा समाचारहरु आएका छन् । यो पार्टी हित विपरीतको कदम हो,” यादवले बाह्रखरीसँग भने, “यदि आधिकारिक डकुमेन्ट हामीले प्राप्त गर्यौँ भने उहाँलाई कारवाही गर्नुको विकल्प छैन ।”
यता, डा. भट्टराई आइपरे पार्टी विभाजन गर्न भन्दै केन्द्रीय समितिको हस्ताक्षर संकलनमा जुटेको भट्टराई निकट नेताहरु बताउँछन् ।
भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगसँग पनि दल विभाजनका लागि छलफल गरिसकेको स्रोतको दाबी छ ।
के हो जसपा भित्रको विवाद ?
जसपाभित्रको रडाको सोमबार उपेन्द्र समूहको बैठकपश्चात् बाहिरिए पनि विवाद धेरै अघिदेखि जकडिँदै आएको छ । भट्टराई निकट एक नेताले डा. भट्टराई, उपेन्द्र यादव र अशोक राईबीचको शक्ति संघर्ष विवादको मुख्य कारण भएको बताउँछन् ।
अहिले जसपाका तीन शिर्ष नेताहरु एकअर्काको कार्यप्रति सन्तुष्ट छैनन् । असन्तुष्ट हुनपर्ने यथेष्ट कारणहरू पनि आफू निकट नेताहरुलाई दिन सकेका छैनन् । तर, पनि तीनजना एक अर्कासँग बस्न नसकिने भयो अब विकल्प खोज्नुपर्छ भन्दै हिँड्ने गरेका छन् र त्यसैले उनीहरुको प्राथमिकता दोस्रो तहका नेताहरुलाई आफ्नो प्रभावमा पार्नु छ ।
“चोइटिने अवस्थामा पुग्नुपर्ने कारण नै केही छैन । खाली तीनजना सँगै बस्न सकिँदैन भनेका छन् । कार्यशैली भएन भनेका छन्,” भट्टराई निकटका ती नेताले बाह्रखरीसँग भने, “तर, मुख्य कारण दिनै सकेका छैनन् । हामीलाई त हैरान बनाइसके ।”
ती नेताका अनुसार बाबुराम भट्टराई र उपेन्द्र यादव को बलियो र कसको निर्णय चल्ने भन्ने लडाईँ नै विवादको मुख्य कारण हो । जसमा अशोक राई भने मौन छन् । केही समयअघि बाबुराम निकट देखिएका राईको झुकाव पछिल्लो समय उपेन्द्रतर्फ बढेको उनको बुझाई छ ।
“बाबुराम भट्टराईले नयाँ शक्ति खोलेकै हो । तर, दल सफल भएन । अनि हामीले उपेन्द्रजीको फोरमसँग एकता गरेर राजनीतिलाई अघि बढाएको हो,” बाबुराम निकट ती नेताले भने, “बाबुराम भट्टराईमा म प्रधानमन्त्री भइसकेको मान्छे किन उसले भनेको मान्ने, किन तल परेर बस्ने भन्ने इगो देखिन्छ । उपेन्द्रलाई पनि दलमा आफ्नै प्रतिनिधिको बहुमत छ, भोट र जनप्रतिनिधि आफू निकटकै बहुमत छ भने किन तल परेर बस्ने भन्ने छ ।”
हुन त राष्ट्रिय पार्टी दाबी गरिए पनि जनता समाजवादी पार्टीको मुख्य राजनीतिक धरातल मधेस प्रदेश हो । कम्युनिस्ट राजनीतिमा छँदा बाबुरामकै मातहतमा काम गरेका भए पनि उपेन्द्र यादवको वर्तमान राजनीतिक धरातल मधेसबाटै बनेको हो । सोही धरातलले विगतको नयाँ शक्ति पार्टी र नेतृत्वलाई स्वीकार गरे पनि समान अधिकार र हैसियतको दाबीका कारण बाबुरामलाई यो प्रदेशको जनमतले स्वीकार गर्न नसकेको ती नेताको दाबी छ ।
तर, विगतमा उपेन्द्रका विश्वासपात्र मानिने नेताहरु मोहम्मद इश्तियाक राइ, महीन्द्रराय यादव, राजकिशोर यादवलगायत नेताहरु भट्टराई खेमामा छन् । भट्टराई निकट एक नेता विगतमा उपेन्द्रसँग रहेकाहरु उपेन्द्रको कार्यशैलीकै कारण सँगै बस्न नसक्ने अवस्थामा रहेको बताउँछन् ।
एकलौटी निर्णय हुन थालेकाले पार्टी बचाउन भन्दै डा. भट्टराईलाई हस्तक्षेप गर्न उनीहरुले नै पटक–पटक अनुरोध गरेका थिए । भट्टराईले मधेस राजनीतिको धरातल बोकेका नेताहरुको अनुरोधका कारण उपेन्द्रसँग अधिकार दाबी गरेका थिए । तर, अन्तिम समयमा पुनः नेताहरुले साथ दिन खुट्टा कमाएका कारण बाबुराम समस्यामा परेको ती नेता बताउँछन् ।
“एकलौटी भएको र उपेन्द्र यादवले पार्टीलाई विर्गान लागेको भन्दै हस्तक्षेपकारी भुमिका निर्वाह गर्न उहाँहरुले अनुरोध गर्नुभयो ,” ती नेताले भने, “सोही बमोजिम भट्टराई अघि बढ्नुभयो तर, अन्तिममा उहाँले नै साथ छोड्नुभयो ।” पार्टीभित्र बैचारिक तथा मुद्दागत मतभेद भने नभएको ती नेताको दाबी छ ।
यादव निकट एक नेताका अनुसार जसपाभित्रको विवाद राष्ट्रियसभा निर्वाचनबाटै सुरु भएको हो । प्रदेश १ र मधेस प्रदेशमा मात्र होइन कर्णाली प्रदेशमा राष्ट्रिय सभामा उमेदवार बनाउनेगरी गठबन्धन गर्नुपर्ने माग भए पनि पार्टीभित्र राजदूत बनाउने नयाँ बहस सुरु भयो ।
डा. भट्टराईले आफू निकट नवराज सुवेदीलाई राजदूत बनाउन खोजेपछि पार्टीभित्र असहज परिस्थिति सिर्जना गरेको थियो ।
यस्तै स्थानीय तहमा टिकट वितरण गर्ने विषयले पनि पार्टीभित्र झगडाले उग्र रुप लिएको ती नेता बताउँछन् ।
“खै त गोर्खामा बाबुरामले जित हासिल गर्न सके ? हामीले हाम्रो आधारभूमिमा त जित्यौं,” यादव निकट नेता मृगेन्द्र भन्छन्, “अनि आफू चाहिँ बराबर शक्ति खोज्ने, पार्टी विभाजनका लागि अघि बढ्ने । कसरी सम्भव हुन्छ सहमतिमा अघि बढ्न ?”
नेता सिंहका अनुसार रेशम चौधरीलाई रिहा गर्ने विषयमा पनि बाबुराम पक्ष सकारात्मक छैन । बाबुराम पक्ष यसलाई विषय नै मान्न तयार नभएको उनको भनाइ छ ।
परिस्थिति यस्तै रहे पार्टी विभाजनमै गएर टुंगिने भट्टराई निकट नेताहरुको बुझाई छ । “हदै भए पार्टी विभाजन होला, हिजो नयाँ शक्ति पनि बनेकै हो अब अर्को नयाँ एउटा दल जन्मिएला । खासै फरक पर्दैन,” ती नेताले बाह्रखरीसँग भने, “तर, अहिले दल विभाजन भए राष्ट्रिय पार्टी जसपा पनि बन्दैन नयाँ बन्ने दल पनि बन्दैन । तीन नेताको क्लब बन्यो पार्टी ।”
उनका अनुसार उपेन्द्र, बाबुराम र अशोक राईबाहेक नेता नै छैनन्जस्तो व्यवहार हुँदा धेरै दोस्रो–तेस्रो तहका नेताहरु चिन्तित रहेको ती नेताको टिप्पणी छ ।
जसपा नेता अर्जुन थापा यसअघि बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले डा. भट्टराईलाई सच्चिने कि सकिने भन्ने सन्देश दिएको बताउँछन् ।
“अब उहाँसँग सच्चिने कि सकिने भन्ने विकल्पमात्रै बाँकी छ,” थापाले भने, “उहाँसँग ४० प्रतिशत मत छैन । भट्टराईकै लागि प्रधानमन्त्रीले अध्यादेश जारी गरिदिने अवस्था पनि छैन । त्यसैले अब समयमै निर्णय गर्नुपर्छ ।”