
काठमाडौं । घण्टाघरसँगैको सेतो भवन, झट्ट हेर्दा कुनै परम्परागत दरबारजस्तो । फराकिलो कम्पाउन्ड घाँसै मैदानमा परिणत भएको छ । बायाँतिर पानी जमेर सानोतिनो पोखरीजस्तो बनेको छ । त्यही पानीमा प्रतिबिम्बित भएको छ भवनको जीर्ण रूप । बाहिरी पत्र उक्किएको पर्खाल, पानी चुहिएर बाक्लो लेउ लागेका कुनाकानी, आकार बिग्रिसकेका दलान सबै दृश्य भुइँको पानीमा प्रष्टै देखिन्छ ।
छैवैमा आधा भत्किएको संरचना ढलौँलाजस्तो गरी उभिएको छ । निर्जीव संरचना भए पनि केही भन्न खोजेजस्तो, कसैको सहारा मागेजस्तो, कतै आडभरोसा पाए हुन्थ्योजस्तो गरी थलिएको ।
सडकबाटै देखिनेगरी यो जीर्ण भवनमा तुल टाँगिएको छ र लेखिएको छ, ‘सेभ त्रिचन्द्र’ । भवन अगाडि एक हुल युवा छलफलमा छ, अब के उपाय लगाएर अघि बढ्ने, त्यही बीचबाट आश्चर्य र अपेक्षा मिश्रित एउटा प्रश्न सुनिन्छ– अहिलेका प्रधानमन्त्री पनि त यही कलेज पढ्नुभएको हो, उहाँलाई आफू पढेको कलेजको यस्तो हालत देख्दा मन दुख्दैन होला...?
आँखै अगाडि ढल्दै इतिहास
हो, यो कुनै सिनेमाका लागि तयार पारिएको दृश्य होइन, न यी जीर्ण भवनहरु कुनै संग्रहालयका संरचना नै हुन् । यो त नेपाली शैक्षिक विकासको खम्बा, मुलुककै जेठो क्याम्पस त्रिचन्द्र बहुमुखी क्याम्पसको पुरानो भवनको अवस्था हो । जहाँ तत्कालीन राजा महेन्द्रदेखि पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्ट, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालदेखि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च शिक्षा लिएका थिए ।
यही क्याम्पसले बालकृष्ण सम, सुवर्णशमशेर, लक्ष्मीप्रसाद देवकोटा, शंकरदेव पन्त, दशरथ चन्द, गंगालाल श्रेष्ठ, डिल्लीरमण रेग्मी, यदुनाथ खनाल, गोपालप्रसाद रिमाल, तुल्सीलाल अमात्य, विजयबहादुर मल्ल, गोविन्दबहादुर मल्ल, थिरबम मल्ललगायत मुलुकका विशिष्ट व्यक्तिहरू उत्पादन गरेको थियो ।
१०४ वर्षअघि स्थापना भएको त्रिचन्द्र बहुमुखरी क्याम्पसका भवनहरू पुराना भएसँगै जीर्ण र पठनपाठनका लागि जोखिमयुक्त हुँदै गए । त्यसमाथि ०७२ सालको महाभूकम्पले भवनका पर्खालमा २० सेन्टिमिटरसम्मका चिरा बनायो, कुनै संरचना आधा भत्किए, कुनैमा गम्भीर क्षति पुग्यो ।
सरकारले जोखिमयुक्त रहेको भन्दै प्रयोग गर्न नमिल्ने संकेतस्वरूप भवनमा रातो स्टिकर टाँस्यो । तर, सरकारमै रहेका सरोकारवालाहरूको मिागमा हरियो बत्ती बलेन परिणाम आज एउटा इतिहास आँखै अगाडि ढल्ने अवस्थामा पुगेको छ ।
जोखिम मोलेर पढाइ
जीर्णोद्धार गर्नुपर्ने अवस्थामा पुगेको क्याम्पसको घण्टाघर भवनमा ९ वटा विभाग छन् । स्नातक र स्नातकोत्तरका मेट्रोलोजी, स्टेटिक्स, साइकोलोजी, जियोलोजी, फिलोसफी, अंग्रेजी, नेपाली विभागमा झन्डै १० हजार विद्यार्थी भएको क्याम्पस प्रशासनको तथ्यांक छ ।
०७२ सालको भूकम्पपछि पनि नयाँ संरचना नबन्दा जोखिम मोलेरै जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपरेको प्रशासन बताउँछ । विद्यार्थी संगठनले जोखिम मोलेर अध्ययन नगर्ने तथा भवन जीर्णोद्धार गर्नुपर्ने माग गर्दै दबावमूलक कार्यक्रम नै गर्न थालेपछि कक्षाकोठा नयाँ भवनमा सारियो । तर, विद्यर्थी अटेका छैनन् ।
एउटै कक्षामा दुई समयभन्दा बढी विद्यार्थी पढ्नुपर्दा कहिले उभिएर कक्षा लिनुपर्ने त कहिले नियमित कक्षा नै नहुने बताउँछिन्, जियोलोजी विभागमा स्नातक दोस्रो वर्षमा अध्ययनरत छात्रा सिर्जना घिमिरे ।
त्रिचन्द्रको नयाँ भवन समेत रानीपोखरीको जग्गामा पर्ने भएकाले नयाँ संरचना थप्ने अवस्था छैन । पुरानो भवन जीर्णोद्धार नभएसम्म विद्यार्थी व्यवस्थापन कसरी गर्ने भन्ने क्याम्पस प्रशासनको टाउको दुखाइको विषय बनेको छ ।
योजनामा परेकोे महत्वमा नपरेको त्रिचन्द्र
त्रिचन्द्र बहुमुखी क्याम्पस रहेको घण्टाघर भवन पुरानो हुँदै गएपछि पुनःनिर्माण तथा पुनसंरचना गर्नुपर्ने विषय उठेको करिब ३० वर्ष अघिदेखि नै हो ।
“सुरुमा त्रिचन्द्र कलेजमा आर्ट्स मात्रै पढाइ हुन्थ्यो, पछि म्यानेज्मेन्ट र साइन्स थपियो । हाम्रो पालामा भारतका प्रोफेसरहरू आएर पढाउँथे । कुरा २०५१ सालको हो, काठमाडौंमा पीएल सिंह मेयर थिए, त्यतिबेला नै घण्टाघर भएको भवन पुनःर्निमाण गर्ने योजना बनेको थियो,” नेपाली कांग्रेसका सोही क्षेत्रका सांसद भीमसेनदास प्रधान भन्छन्, “त्रिचन्द्रको नयाँ भवन भएको ठाउँ पनि रानीपोखरीको जग्गा हो । त्यो भवन सारेर राष्ट्रिय पुस्तकालय भएको ठाउँमा राख्ने र त्यहाँ खाली गर्ने योजना बनेको थियो । भूकम्पपछि मात्रै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई जिम्मा लगाइएको हो ।”
०७२ को भूकम्पले क्षतिग्रस्त भएपछि पुनःनिर्माण प्राधिकरणले पाँच वर्षभित्र त्रिवि मातहतका ३७ वटा युनिट निर्माण गर्ने प्राथमिकतामा राखेको थियो । भवन पुनःनिर्माणका लागि वर्षैपिच्छे बजेट बनाउँदा छलफल चलिरह्यो तर पाँच वषै बितिसक्दा पनि काम भने सुरु भएको छैन । प्राधिकरणले भवन निर्माणका लागि तीन वर्ष अगाडि नै डीपीआर तयार पारेको थियो ।
सोही अनुसार आर्थिक वर्ष २०७७/०७८ को बजेटमा भवन पुनःनिर्माणका लागि तीन करोड ५० लाख रूपैयाँ छुट्याइयो । चालु आर्थिक वर्षमा पनि त्यति नै बजेट छुट्याइएको थियो । तर, आयोजना निर्माण कार्यक्रममा समावेश भए पनि स्रोत सुनिश्चित नहुँदा बहुवर्षीय योजनामा नपरेका कारण वर्सेनि सो बजेट फ्रिज हुँदै गयो । त्रिचन्द्रको सो भवन पुनःनिर्माणाका लागि करिब ५० करोड रूपैयाँ लागत लाग्ने शहरी विकास तथा भवन निर्माण विभागको अनुमान छ ।
आगामी आर्थिक वर्षमा स्रोत सुनिश्चित गर्ने अर्थ मन्त्रालयको आश्वासन
पछिल्लो पटक प्राधिकरणले तीन वर्षअघि तयार पारेको डीपीआर भवन निर्माण विभागले अपडेट गरेको छ । आगामी आर्थिक वर्षका लागि स्रोत सुनिश्चित गरेर बजेट छुट्याउने अर्थ मन्त्रालयले आश्वासन दिएको छ ।
तर, आधिकारिक पत्र भने प्राप्त नभइसकेको विभागका आयोजना निर्देशक काेषनाथ अधिकारीले बताए । अर्थको आधिकारिक पत्र प्राप्त गर्नासाथ बोलपत्र आह्वान गरेर पुनःनिर्माणको काम सुरु गरिने अधिकारीको भनाइ छ ।
भवनलाई रोक्ट्रोफिटिङ गरेर अहिलेकै ठाउँमा पहिले प्रयोग भएकै निर्माण सामग्रीबाट नयाँ भवन बनाइने अधिकारीले बताए । त्रिचन्द्रको अहिले जीर्ण भएको भवनमा ढुंगा, इँटा, चुना, सुर्की, काठ, फलामजस्ता सामग्री प्रयोग भएका छन् ।