काठमाडौं । सहरी विकास मन्त्रालयले आयोजना गरेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी छन् ।
मन्त्री पदबाट राजीनामा दिएपछि मन्त्रालयमा आइतबार बेलुकी आयोजित बिदाइ कार्यक्रमको सुरुमै उनी रोएकी हुन् ।
आठ महिना २० दिन सहरी मन्त्रालयको नेतृत्व सम्हालेको उनले आफूले वाचन गर्ने पत्र हेर्दै टिस्यू पेपरले आँसु पुछेकी थिइन् । उनले पछिसम्मै आँसु पुछिरहिन् । यतिसम्मकि पत्रकाहरूले जिज्ञासा राख्दा उनी झन् भावुक बनिन् ।
यद्यपि आफूलाई सम्हाल्न उनले हाँसो पनि देखाइन् ।
बिदाइ कार्यक्रममा मन्त्रालयका कर्मचारीहरूले मायाको चिनो प्रदान गरेका थिए । मन्त्रीको जिम्मेवारी दिएकोप्रति उनले आफ्नो पार्टी, प्रधानमन्त्री र कर्मचारीहरूलाई धन्यवाद दिएकी थिइन् ।
एकीकृत समाजवादबाट मन्त्री बनेकी उनलाई पार्टीले बोलाएको हो । उनीसहित अन्य चारजनालाई पनि पार्टीले बोलाएको छ । सुरुमा उनीहरूले मन्त्री पद छोड्न सर्त अघि सारेका थिए । तर, पार्टी र नेतृत्वको निरन्तरको दबाबका कारण उनीहरू पद छाड्न विवश भएका हुन् ।
उनीहरूको ठाउँमा अब एकीकृत समाजवादीले नयाँलाई पठाउने छ ।