काठमाडौं । सर्लाही कबिलासी नगरपालिका–८ अगर्वा बस्ने २४ वर्षीय अमरेन्द्र ठाकुरको हत्या गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनकै भाइ अमरकान्त ठाकुर र सोही ठाउँ बस्ने रूपेश कुमार छन् ।
अर्गवा चोकबाट सलेमपुर नहरतर्फ जाने सडक नजिक कुलोमा अमरेन्द्र ठाकुरको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा मंगलबार शव फेला परेको थियो ।
सोही घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा सोमबार बेलुकी अमरेन्द्र ठाकुर र अमरकान्त ठाकुरबीच विवाद भएको विषयलाई लिएर अमर कान्त र उनका साथी रूपेशले अमरेन्द्रलाई मार्ने योजना बनाई खानपिनको व्यवस्था छ भनी बोलाई धारिलो हतियार र ढुंङगाले शरीरको विभिन्न भागमा प्रहार गरी हत्या पछि शव उक्त कुलोमा फालेको खुल्न आएको प्रहरीले जनाएको छ ।