काबुल । अफगानिस्तानको राजधानी काबुलमा ७० जोडीको सामूहिक विवाह भएको छ । आफैँ विवाह गर्ने खर्च नभएकाहरूका लागि स्थानीय एक सामाजिक संस्थाले सामूहिक विवाह समारोह आयोजना गरिदिएको हो ।
‘सिलाब फाउन्डेसन भन्ने संस्थाले ७० जोडीको सामूहिक विवाह समारोह आयोजना गरेको हो,’ एक स्थानीय अधिकारीले भने । आर्थिक समस्याका कारणले आफैँ विवाह समारोह आयोजना गर्न नसक्ने जोडीहरूका लागि आफूहरूले विवाह समारोह आयोजना गरिदिएको फाउन्डेसनका पदाधिकारीहरूले जनाएका छन् ।
विवाह समारोहमा विवाह गर्ने बेहुला बेहुलीसँगै उनीहरूका सीमित आफन्तहरू मात्रै सहभागी भएका थिए । अफगानिस्तानमा विवाह समारोहको आयोजना गर्नु धेरै महँगो मानिन्छ । तालिबान सरकारले पनि महँगो विवाह समारोहहरू आयोजना गर्न निरुत्साहित गरेको छ । रासस