इस्लामावाद । पाकिस्तानका लोकप्रिय टेलिभिजन प्रस्तोता आमिर लियाकत हुसेनको ५० वर्षको उमेरमा निधन भएको छ ।
हुसनेलाई कराँचीस्थित उनकै निवासमा अचेत अवस्थामा भेटाइएपछि तत्काल अस्पताल पुर्याइएको थियो । तर, अस्पतालमा उनलाई मृत घोषित गरियो ।
टेलिभिजन करियरबाट राजनीतिमा प्रवेश गरेका हुसेन इमरान खानको पीटीआई पार्टीबाट विधायकमा चुनिन सफल भएका थिए । उनको टेलिभिजन करियर विवादित थियो । उनले टेलिभिजन कार्यक्रममार्फत नै निःसन्तानहरूलाई शिशुहरू प्रदान गरेका थिए भने घृणापूर्ण भाषण गरेको भन्दै उनको कार्यक्रम प्रतिबन्धमा पनि परेको थियो ।
स्पष्ट वक्ताको रूपमा रहेका उनको तीनपटक विवाह भएको थियो । सार्वजनिक रूपमा र तिक्ततापूर्ण तरिकाले सम्बन्ध विच्छेद भएकाले पछिल्लो समयमा उनी विवादित बनेका थिए ।
उनलाई १८ वर्षीया तेस्रो पत्नी ड्यानिया शाहले गत महिना डिभोर्स दिएकी थिइन् । उनले आफू पति हुसेनबाट घरेलु हिंसामा परेको तथा उनी लागुऔषधको लतमा फसलेकाले डिभोर्स दिएको बताएकी थिइन् ।
त्यसपछि उनी तनावमा रहेको बताइएको छ ।
बीबीसीबाट ।