काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले इम्बोस्ड नम्बरप्लेटमा भएको ‘अनियमितता’का विषयमा छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ ।
बुधबार युवा संघले विश्व बैंकले कालोसूचीमा राखेको कम्पनीलाई इम्बोस्ड नम्बर राख्ने ठेक्का दिइएको भन्दै अख्तियारमा उजुरी दर्ता गराएको हो । संघले इम्बोस्ड नम्बरप्लेटको अनियमिततामा संलग्न व्यक्तिमाथि छानबिन र कारबाहीको माग गरेको छ ।
यस्तै, इम्बोस्ड नम्बरप्लेटमा देवनागरी लिपिमा नराख्नुको कारण र नागरिकमाथि इम्बोस्ड नम्बर राख्न दिइएको दबाबका विषयमा पनि अख्तियारलाई जानकारी गराएको छ ।
युवा संघका अध्यक्ष किरण पौडेलले इम्बोस्ड नम्बरप्लेटमा नीतिगत भ्रष्टाचार भएको भन्दै यसमा छानबिन हुनुपर्ने बताए । उनले सुरक्षाका लागि इम्बोस्ड नम्बरप्लेट राख्नुपर्ने भए त्यसको भार नागरिकमा थोपर्न नहुने उल्लेख गरे । इम्बोस्ड नम्बरप्लेटका सम्बन्धमा आयोगले सत्यतथ्य छानबिन गर्नुपर्ने उनको भनाइ छ ।
युवा संघले अख्तियारले निष्पक्ष ढंगले छानबिन गर्नुपर्नेमा जोड दिएको छ ।