नयाँ दिल्ली । सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का एकजना वरिष्ठ अधिकारीले पैगम्बर मोहम्मदबारे विवादास्पद टिप्पणी गरेपछि भारत डरलाग्दो कूटनीतिक झमेलामा फसेको छ ।
दस दिनअघि नुपूर शर्माले एउटा टेलिभिजन बहस कार्यक्रममा पैगम्बरबारे दिएको अभिव्यक्तिका कारण भारतीय मुस्लिम समुदाय आक्रोशित बनेको छ । अर्कोतिर विश्वका एक दर्जन भन्दा मुस्लिम मुलुकले पनि शर्माको कडा आलोचना गरेका छन् ।
आइतबार भाजपाले नुपूरलाई पार्टीको सदस्यताबाट निलम्बन गरिसकेको छ । पार्टीको दिल्ली मिडिया युनिटका अध्यक्ष नवीन कुमार जिन्दाललाई पनि नुपूरको आपत्तिजनक टिप्पणीको स्क्रिनसट ट्विटरमा सेयर गरेकाले पार्टीबाट निष्कासित गरिएको छ ।
भाजपाद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “हाम्रो पार्टी कुनै सम्प्रदाय वा धर्मको अपमान वा होच्याउने कुनै पनि सिद्धान्त र दर्शनको विरोधमा रहेको छ र पार्टीले यस्ता मानिस वा दर्शनलाई प्रवर्द्धन गर्दैन ।"
आक्रोशित मुस्लिम मुलुकहरूलाई शान्त पार्ने उद्देश्यले भारतीय कूटनीतिज्ञहरूले शर्माको टिप्पणीले सरकारको अडानलाई प्रतिविम्बित नगर्ने बताएका छन् । त्यस्ता अभिव्यक्तिहरू अतिवादी तत्वहरूको दृष्टिकोण मात्रै भएको उनीहरूको भनाइ छ ।
तर, अधिकांशले ३७ वर्षिया वकिल शर्मा कुनै अतिवादी व्यक्ति नभएको औँल्याएका छन् ।
निलम्वित नहुन्जेल भाजपाका प्रवक्ता शर्मा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको प्रतिनिधित्व र वकालत गर्न पटकपटक टेलिभिजन बहस कार्यक्रममा देखिने गरेकी थिइन् । दिल्ली विश्वविद्यालयमा कानुन विषयकी विद्यार्थी शर्माले सन् २००८ मा राजनीतिक करियर सुरु गरेकी थिइन् ।
पार्टीबाट निष्कासित गरिएपछि उनले एक विज्ञप्तिमार्फत विना सर्त आफ्नो टिप्पणी फिर्ता लिने बताएकी छन् । तर, उनले हिन्दूहरूको भगवान शिवप्रतिको निरन्तर अपमान र दुर्व्यवहार भइरहेको कारण आफूले त्यस्तो टिप्पणी गर्नुपरेको भन्दै आफ्नो कार्यको प्रतिरक्षा गर्ने प्रयास पनि गरेकी छन् ।
बीबीसीबाट ।