विराटनगर । सामाजिक तथा राजनैतिक व्यक्तित्व कृष्णप्रसाद कोइरालाको सालिक अनावरण नहुँदै तोडफोड प्रयास गरिएको छ ।
विराटनगरको बरगाछी चौकमा स्थापित गरिएको अर्धकदको सालिक पूर्वराष्ट्रपति रामवरण यादवले यही जेठ २८ गते अनावरण गर्ने कार्यक्रम तय भएको थियाे । तर, आज साँझ एकजनाले सालिक राखिएको स्थलमा तोडफोड गरेका हुन् ।
नेपाली कांग्रेसका विराटनगर महानगर समितिका सभापति दिपक चापागाईंले आक्रमण र तोडफोडमा संलग्न व्यक्तिको पहिचान भइसकेको जानकारी दिए । "केही बत्ती तोडफोड भएको छ, तर सालिक सुरक्षित छ ।"
कोइराला नेपालमा प्रजातन्त्र स्थापना गराउन सक्रिय अभियन्ता पनि हुन् । उनकै पहलमा विराटनगरमा विराटनगर जुट मिल्स खुलेको थियो ।
उनका छोरा बीपी कोइराला, गिरिजाप्रसाद कोइराला र मातृकाप्रसाद कोइराला नेपालका पूर्व प्रधानमन्त्रीहरू हुन् । अहिले नाती पुस्ताका डा. शेखर कोइराला कांग्रेस राजनीतिमा सक्रिय छन् ।
प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ ।