काठमाडौं । बजेटपछि सेयर बजार घट्ने क्रमले लगातार छैटौं दिन पनि निरन्तरता पाएको छ । समग्रमा लगातार सातौं दिन पनि बजार परिसूचक नेप्सेमा गिरावट आएको छ ।
जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को लागि बजेट प्रस्तुत गरेका थिए । लगातार घट्दो क्रममा रहेको सेयर बजारमा बजेटले केही सकारात्मक सम्बोधन गर्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताको अपेक्षा बजेटमा संबोधन नहुँदा झनै निराश बनेका छन् ।
बजेट अगाडिको अन्तिम कारोबार दिन जेठ १३ गत यता लगातार नेप्से घट्ने क्रममा नै रहेको छ । साताको पहिलो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से १२.९२ अंकले गिरावट भएर २०६५.७८ अंकमा बन्द भएको छ । बजेट पछिको ६ कारोबार दिनमा नेप्से १५७.९६ अंकले घटिसकेको छ ।
नेप्से लगातार घटिरहँदा बजारमा कारोबार रकम पनि पछिल्लो केही समय १ अर्बको वरिपरी हुँदै आएको छ । आज बजारमा १ अर्ब २७ करोड ३४ लाखको कारोबार भएको छ । एसियन लाइफको सर्वाधिक ८ करोड २५ लाखको कारोबार हुँदा एनआईसी एसिया बैंकको ६ करोड ७७ लाखको कारोबार भएको छ ।
आज दिनभर बजारमा १९६ कम्पनीको सेयर कारोबार भएकोमा ९७ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै ८७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा १२ कम्पनीको सेयरमूल्य भने स्थिर छ । आज कारोबार भएकामध्ये उपकार लघुवित्त र बलेफी हाइड्रोपावरको सेयरमूल्य बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ । यता, मर्जर सम्झौतासँगै पछिल्लो १ वर्षदेखि बन्द रहेको हिमालयन बैंकको सेयर कारोबार मर्जर असफल भएसँगै आजबाट खुलेको थियो । कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
यस्तै महुली सामुदायिक लघुवित्तको सेयरमूल्य ७.६६ प्रतिशतले गिरावट हुँदा नेपाल लाइफको सेयरमूल्य ३.९२ प्रतिशतले गिरावट भएको छ ।
०७७ भदौ पहिलो साता इन्ट्रा डे मा ३२०० अंकको बिन्दु पार गरेको नेप्से त्यसयता ३५ प्रतिशतभन्दा माथिले गिरावट भइसकेको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएको लगानीयोग्य पुँजीको चरम अभाव मात्रै नभएर बैंकहरु तरलता संकटकै अवस्थातर्फ जाँदा बैंकहरूले कर्जा दिन सकिरहेका छैनन् । अर्कोतर्फ निक्षेपमा ब्याजदरमा भएको वृद्धिसँगै बढेको वेस रेटले स्वभाविक रुपमा कर्जाको ब्याजदर बढेको छ भने अर्कोतर्फ राष्ट्र बैंकले कर्जाको जोखिम भार बढाउँदा तरलता अभावले ब्याजदर बढेको अवस्थामा बैंकहरूले कर्जा नवीकरणमा प्रिमियम पनि बढाएको अवस्था छ । मुद्रा बजारमा देखिएको समस्याको प्रभाव पुँजी बजारमा पनि देखिँदा सेयर बजार घट्ने क्रमले निरन्तता पाएको हो ।