1654165278.jpg)
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार कांग्रेसलाई कडा धम्की दिए । उनले ‘एमालेलाई जस्तै कांग्रेसलाई पनि ठेगान लगाउने दिन नआओस्’ भन्दै दिएको धम्की माओवादीका तर्फबाट देशभरका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको प्रशिक्षणका क्रममा दिएका थिए ।
माओवादीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई कसरी काम गर्ने, स्थानीय जनप्रतिनिधिका रुपमा माओवादीबाट निर्वाचित भएकाहरु अरुभन्दा फरक कसरी देखिने, अनि माओवादीको गुमेको शाख कसरी फर्काउने भन्ने विषयमा प्रशिक्षण दिने प्रमुख प्रशिक्षक थिए अध्यक्ष प्रचण्ड । प्रचण्डले पार्टीबाट नवनिर्वाचित देशभरका जनप्रतिनिधिहरूलाई सम्बोधन गरे ।
सम्बोधनका क्रममा उनले गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसमा घमण्ड दम्भ र अहंकार बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न कांग्रेस नेताहरुलाई चेतावनी दिए ।
प्रचण्डले भने, “एमालेलाई ठेगान लाएजस्तै कांग्रेसलाई ठेगान लाउने दिन नआओस् । म कांग्रेसका नेताहरूलाई पनि भन्न चाहन्छु धेरै दम्भ तपाईंहरूमा नआओस् ।”
प्रचण्डले सम्बोधनको क्रममा स्थानीय तह निर्वाचनका क्रममा कांग्रेस नेताहरुले दम्भ देखाएको संकेत गरे । किनभने, कांग्रेसभित्र सभापति शेरबहादुर देउवा इतर समूहका नेताहरुले मात्र गठबन्धनका विपक्षमा मत राख्दै आएका छन् । गठबन्धनभित्र यसबारे कुनै विमति देखिएको छैन । तर, प्रचण्डले धेरै ठाउँ जितेपछि कांग्रेसमा दम्भ आउन सक्ने कुरालाई दम्भ देखाइसकेको रुपमा प्रस्तुत गरे ।
“कांग्रेसले धेरै ठाउँ जित्छ भन्ने त हामीलाई थाहै थियो । तर, त्यसबाटै दम्भ देखाए फेरि एमालेकै अवस्था आउन सक्छ,” प्रचण्डले थपे, “नारायणकाजीसहितको गठबन्धनको बैठकमा पनि ‘यस्तै अवस्थामा हो भने’ भन्ने कुरा भएकै छ ।”
प्रचण्डले यति धम्की दिइसकेपछि आफू र आफ्नो पार्टी अझै पनि गठबन्धनकै पक्षमा रहेको दोहोर्याए । त्यसो भन्दै गर्दा उनले पहिले ओलीको दम्भले नेकपा समाप्त भएको र एमाले पनि कमजोर बनेको भन्दै बढी जितेपछि कांग्रेस पनि त्यही बाटोमा जाने कुराको चिन्ता व्यक्त गरे ।
“ओलीका दम्भले एमाले कमजोर हुँदै छ । माओवादीकै सहयोगमा दुइतिहाइको सरकार बनाएपछि माओवादीलाई सिध्याइहालिन्छ भन्ने अहंकारले एमाले यो अवस्थामा पुगेको हो,” प्रचण्डले भने, “अहिले कांग्रेसको पनि त्यस्तै होला कि भन्ने डर पैदा भएको छ । हामीले मेहनत गरेरै प्रधानमन्त्री बनायौँ । हाम्रो अहिले पनि उहाँ भइरहनुहोस् भन्ने छ अरु केही छैन । हामी गठबन्धन अघि लैजान चाहन्छौँ ।” उनले कांग्रेस पनि एमाले जस्तै माओवादी केही होइन भन्ने तहमा जान्छ कि भन्ने चिन्ता जाहेर गरे ।
प्रचण्डको आक्रोशपूर्ण अभिव्यक्ति सार्वजनिक भएसँगै विभिन्न कोणबाट टिप्पणी एको छ । स्थानीय तह निर्वाचनपश्चात् सत्ता गठबन्धनमा तिक्तता भएको बुझाइ एक पक्षको छ । अर्को पक्ष भने आउँदो प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बार्गेनिङको रूपमा प्रचण्डको अभिव्यक्तिलाई अर्थ्याउँदैछन् ।
माओवादी नेता गिरिराजमणि पोखरेल पार्टी गठबन्धनको पक्षमा उभिएको भन्दै अध्यक्ष प्रचण्डको अभिव्यक्तिमा टिप्पणी गर्न आवश्यक नभएको बताउँछन् ।
“अध्यक्षले बोलिसकेपछि थप टिप्पणी गर्न जरुरी छैन । उहाँले गठबन्धनलाई अप्ठ्यारो पर्ने गरि प्रतिक्रिया दिनुभएको छैन,” पोखरेलले बाह्रखरीसँग भने, “अध्यक्षज्यूले पार्टी गठबन्धनकै पक्षमा छ भन्नुभएको छ ।”
प्रचण्डको अभिव्यक्तिलाई सामाजिक सञ्जालहरूमा कांग्रेस दोस्रो तहका नेतृत्व तथा कार्यकर्ताहरूले प्रचण्डलाई जवाफ दिने र आलोचना तथा टिप्पणी गरिरहेका छन् । तर, कांग्रेसका शीर्ष नेताहरु भने प्रचण्डको धम्कीपूर्ण अभिव्यक्तिलाई उनले आफ्ना कार्यकर्तामाझ क्रान्तिकारी देखाउन गरेको प्रयासका रुपमा अर्थ्याउँदैछन् । सत्ता गठबन्धन संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल शब्दको दुरुपयोग गर्नु कम्युनिस्टहरुको चरित्र भएको बताउँछन् ।
“शब्दको दुरुपयोग गर्ने कम्युनिस्टहरुको चरित्र नै हो । बोल्नका लागि बोलिदिएको मात्र हो । बेला बेला प्रचण्डको यस्तो बोली आइरहन्छ,” पौडेलले बाह्रखरीसँग भने, “प्रचण्डले अभिव्यक्ति दिएर आफ्ना मान्छेहरुलाई ढाडस् दिएको हो । कार्यकर्ताको अगाडि अलि ठूलो देखाउन भनेका हुन् । यसको तुक छैन ।”
कांग्रेस नेताहरुले प्रचण्डको भनाईलाई सामान्य रुपमा लिए पनि निकट विगत हेरियो भने उनका बोलीको अर्थ सामान्य नरहेको टिप्पणी गरे ।
२०७४ सालको स्थानीय तह निर्वाचन पनि कांग्रेससँग महानगरमा तालमेल गरेका प्रचण्डले कांग्रेसकै सहयोगमा भरतपुर महानगरपालिकामा आफ्नी छोरी रेनु दाहालसहित देशभर १०६ स्थानीय तहमा माओवादीका जनप्रतिनिधि जिताउन सफल भएका थिए । तर, स्थानीय तहको तेस्रो चरणको चुनावलगत्तै प्रचण्डले वाम गठबन्धनको नाम दिएर एमालेसँगै चुनावी गठबन्धन घोषणा गरे । प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा त्यही गठबन्धनका नाममा कांग्रेसको सहयोगमा जिताएका जनप्रतिनिधिलाई पनि कांग्रेसविरुद्ध प्रयोग गरेको अर्का एक नेताको आरोप छ । माओवादी–एमाले गठबन्धनले झण्डै दुई तिहाई बहुमत ल्याउँदा कांग्रेस संसदमा २५ प्रतिशत भन्दा कम सिटमा खुम्चिएको थियो ।
अहिले पनि समय सन्दर्भ उस्तै उस्तै नै रहेको कांग्रेसका नेताको टिप्पणी छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको छ ।
माओवादीले विगतमा भन्दा १५ स्थानीय तह बढी जितेर आफूलाई थप बलियो महसुस गरिरहेको छ । पाँचवर्ष अघिजस्तै कांग्रेस माओवादी गठबन्धनकै सरकार विद्यमान छ । उनै कांग्रेस सभापति देउवा सरकारको नेतृत्वमा छन् ।
त्यसो त उनै प्रचण्ड यो गठबन्धन प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अघि बढ्ने दाबी गरिरहेका छन् । सोही गठबन्धनमा पनि अलि बढी स्थानमा सिट बाँडफाँडका लागि उनले यो कदम चालेर राजनीतिमा ‘च्याखे’ थाप्ने काम गरेको बुझाइ कांग्रेस उपसभापति धनराज गुरुङको छ ।
“राजनीतिक दाउपेचको कुरा मात्रै गर्ने जुन प्रवृत्ति नेपाली राजनीतिमा मौलाएको छ त्यसैको यो सानो उदाहरण हो प्रचण्डको अभिव्यक्ति । राज्यव्यवस्थालाई दह्रो बनाउने र सुशासनमा जोड दिने बेलामा पख्लास् देखाइदिन्छु भन्नु विडम्वना हो,” उपसभापति गुरुङले बाह्रखरीसँग भने, “यतिबेला आसन्न चुनावमा के हुन्छ भनेर कलम लिएर हिसाबकिताब गर्ने बेलै हैन नि ।”
कांग्रेस प्रवक्ता प्रकाशशरण महत प्रचण्डले गठबन्धन बैठकमा कुनै असन्तुष्टि नराखेको भन्दै पार्टी कार्यकर्तालाई खुसी पार्न उनले त्यस्तो अभिव्यक्ति दिएको हुन सक्ने बताउँछन् ।
“गठबन्धनको बैठकमा यसलाई अगाडिसम्म लानुपर्छ भन्नेमा उहाँकै जोडबल छ, गठबन्धनको बैठकमा यो लेवलमा प्रतिकृया छैन,” महतले बाह्रखरीसँग भने, “आफ्ना पार्टीका कार्यकर्ताहरुलाई उत्साहित गर्न भन्नुभएको होला । बेला बेला यस्तो भइरहन्छ । हामीले त गठबन्धनको बैठकमा उहाँ कसरी प्रस्तुत हुनुभएको छ,के भनिरहनुभएको छ त्यसलाई आधार मान्ने हो ।”
प्रवक्ता डा. महतले पार्टीका आन्तरिक मिटिङमा बोलेको कुरालाई लिएर धारणा बनाउनु हतारो हुने बताए ।
वैशाख ३० मा भएको स्थानीय तहको निर्वाचन परिणामले कांग्रेसलाई पहिलो र माओवादीलाई तेस्रो दल बनाएको छ ।
गठबन्धन गरेर पनि दोस्रो दल बन्न नसकेको माओवादीले १२१ पालिका मात्र जित्न सक्यो । पाँच वर्षको समय अवधि र गठबन्धनको आडमा सिट संख्यामा उल्लेख्य बढाउन नसक्दा पनि माओवादी सन्तुष्ट बन्ने अवस्था छैन ।
कांग्रेसका केही नेताहरू भने स्थानीय तह निर्वाचनमा मापदण्ड र आचारसंहिता नबनाई गठबन्धन गर्दाको परिणाम अहिले प्रचण्डको अभिव्यक्तिले छर्लङ्ग पारेको बताउँछन् । हचुवाको भरमा गठबन्धन गर्दाको प्रचण्डले आफूलाई ‘ओभर रेटिङ’ गरेको कांग्रेस नेता अर्जुननरसिंह केसीको टिप्पणी छ ।
“ठेगानै लाउने कुरा गर्ने हो भने राणाले ठेगान लाउन खोजेकै हो, राजाले कम्युनिष्टलाई उचालेर ठेगान लगाउन खोजेकै हो, माओवादी र एमाले मिलेर कांग्रेस ठेगान लाउन खोजेकै हो । हेर्नुहोस् उनीहरुको हालत कस्तो छ ?,” केसीले बाह्रखरीसँग भने, “इतिहास हेरौं जसले कांग्रेसलाई ठेगान लाउन खोज्यो उनीहरुनै ठेगान लागेका छन् । अझै हेरौं ठेगान लाउँछु भन्नेहरुको पर–पर रुप कस्तो देखिन्छ ?”
उनले कसैले ठेगान लाउँछु भन्दैमा कांग्रेस आफ्नो आर्दशबाट झुकेर काम नगर्ने दावी गरे ।